प्रहरीमा मिलनको बयान : दसैंमा बुवा-आमालाई मार्न खोजेको थिएँ, वातावरण मिलेन
बाबु र भाइको हत्यापछि आफूले पनि आत्महत्याको असफल प्रयास गरेको दाबी
काठमाडौं । भक्तपुरको बालकोटमा बुबा र भाइको हत्या गरेका खोटाङका मिलन आचार्यले यसअघि बुवा र आमाको हत्या प्रयास गरेको बयान दिएका छन् । गत दसैंमा दुवैलाई मार्ने योजना बनाए पनि असफल भएको उनको भनाइ छ ।
महाराजगञ्ज प्रहरी वृत्तमा आज विहान आत्मसमर्पण गरेपछि उनले यस्तो बयान दिएका हुन् । बुवा र भाइको हत्यापछि आफूले पनि आत्महत्या गर्न खोजेको पनि उनको दाबी छ ।
गलवन्दीको पासो लगाएर झुण्डिएको तर गाँठो फुस्किएर बाँचेको उनले बताएका छन् ।
मिलनको बयान यस्तो छः
लोकसेवामा ६, ७ पटक फेल भएपछि म जिन्दगीसँग दिक्दार भएँ । मलाई डिप्रेसन भयो । लगालग लोकसेवा बिग्रेपछि अब जिन्दगीमा केही नहुने भयो भनेर बिरक्तिएँ । म बाच्दिनँ भन्ने लाग्यो ।
बुबा पनि डिप्रेसनको बिरामी । एकचोटि आत्महत्या प्रयास गर्नुभएको थियो । म नबाँचेपछि परिवारका अरु कसरी बाँच्लान् भन्ने लाग्यो । त्यसैले मभन्दा पहिला बुबाआमा मर्नुपर्छ भन्ने ठानेँ । दशैंमा गाउँ गएको बेला मार्ने प्रयास गरेको थिएँ । तर वातावरण मिलेन ।
अहिले बुवा उपचार गर्न आएको बेला ‘उपयुक्त’ मौका छोपेँ । हामी सबैले न्याय र मुक्ति पाउने भयौं भन्ने लागेर बुवा र भाइलाई मारेँ ।
हत्यापछि म भक्तपुरकै बिरुवा गएँ । गलबन्दीको पासो लगाएर रुखमा झुण्डिएँ । तर गलबन्दीको गाँठो फुस्कियो । भगवानले मलाई ‘नमर’ भनेजस्तो लाग्यो । बुवा र भाइ मरेपछि मैले आमाको रेखदेख गर्नुपर्छ भन्ने सोचेँ ।
त्यहाँबाट म भक्तपुर दरबार स्क्वायर गएर दिनभरि बसेँ । साँझ परेपछि चावहिलको सगरमाथा होटलमा कोठा लिएर बसेँ । त्यहाँ दुई रात बसेपछि आज बिहान पत्रिकामा समाचार देखेँ । त्यो पत्रिका बोकेर कोटेश्वरतिर गएँ । तर, त्यहाँ पुग्दा गल्ती ठाउँमा पुग्दैछु जस्तो लागेर गाडीबाट ओर्लिएँ । महाराजगञ्जको गाडी चढेँ । महाराजगञ्जको पुलिस अफिसको सरलाई पत्रिका देखाएर ‘यो मै हो’ भनेँ ।
बाउ र भाइ लाइ मार्नु ठुलो गल्ति हो यसरि मार्नु हुदैन थियो, तर यो सबै देशमा बिग्रदो राजनीति राजनीति भित्रको अस्तिरता राजनीतिले आफ्नो मान्छे लाइ मात्र समालेर गएको र बेरोजगारको मुख्य कारण देखियो। सरकारी जागिरमात्र जागिर होइन अरु कुनै पनि जागिर गरेर साधारण जिबन बिताउन सक्ने अवस्था सिर्जना गर्न सकिन्थियो होला। सपना धेरै ठुलो देख्दा पनि यस्तो अबस्था आउन सक्छ मैले पनि कुनै समय यस्तै ठुलो सोच राखेर आफ्नो जिबन झिनै सकेको थिए तर त्यो उपाए भनेको धेरै गलत रहेछ तेस्तो नहोस र कसैले पनि नगर्नु होला भन्ने अनुरोध गर्छु।