पार्टीमा लाग्ने केही पाउन होइन, अब पार्टी बलियो बनाउन लागौं : प्रकाशमान सिंह (भिडिओ) – Nepal Press

पार्टीमा लाग्ने केही पाउन होइन, अब पार्टी बलियो बनाउन लागौं : प्रकाशमान सिंह (भिडिओ)

रुपन्देही । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक परिवर्तनबाट आएका अधिकार सुरक्षित र संस्थागत गर्नुपर्ने बताएका छन् । उनले संघर्ष गरेर ल्याइएको यो व्यवस्था टिकाउन गम्भीर भएर लाग्नुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति रुपन्देहीले मंगलबार भैरहवामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रियामा बोल्दै उपप्रधानमन्त्री सिंहले काँग्रेसको नेतृत्वमा मुलुकमा राजनीतिक परिवर्तन भएको दावी गरे । उनले मुलुकलाई आर्थिक क्रान्तिको मार्गमा अगाडि बढाउन काँग्रेसको काधमा जिम्मेवारी आएको बताए ।

‘मुलुकमा व्यवस्था परिवर्तन गर्न सक्ने पार्टी काँग्रेस हो’, उनले भने, ‘यो व्यवस्थालाई लयमा ल्याउन कांग्रेसले नै सक्छ । काँग्रेसकै नेतृत्वमा २०७२ सालमा संविधान सभाबाट संविधान जारी भयो ।’

कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका नेता सिंहले अबको दिनमा पार्टीलाई व्यवस्थित गर्नका लागि विधानमा केही अव्यहारिक कुराहरु भए विधि र प्रक्रिया पूरा गरेर विधान संशोधन गरिए राम्रो हुने धारणा राखे ।

उनले भने, ‘पार्टीको इतिहास, नेताहरुले गर्नुभएको संघर्षको बारेमा र यो पार्टी अरु पार्टी भन्दा बेग्लै छ भनेर चिनाउनुपर्यो, सम्झाउन सक्नुपर्यो ।’

कांग्रेसले के दियो भन्नुभन्दा पनि पार्टीले प्रश्न गर्ने अधिकार दिलाएको उनको भनाइ छ । आफूले बुझेका कुरा दुनियाले बुझेको छ भन्ने नठान्न उनले नेता–कार्यकर्ताहरुलाई आग्रह गरे । ‘पार्टीलाई व्यवस्थित गर्ने काँग्रेसीले हो, अरुले गर्ने होइन । बोलेर मात्र हुँदैन । संगठन निर्माणमा ध्यान दिनुस् ।’

उनले अहिलेको चुनौतीलाई सामना गर्न पार्टीलाई अलिकति व्यवस्थित गर्नसके जनताले देखेको सपना पूरा गर्न सक्ने क्षमता कांग्रेसमा भएको दाबी गरे । ‘म ग्रासरुटबाट आएको नेता हुँ’, उनले भने ।

काँग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले २०४६ सालपछि नेपालमा सुधार आएको र त्यो सुधारलाई आत्मसात गर्नुपर्नेमा जोड दिए । उनले मुलुकको आवश्यकताले काँग्रेस–एमाले मिलेर सरकार बनाएको दाबी गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर