सिद्धबाबामा तीनवटै बाइपास सुरुङको ‘ब्रेक थ्रु’
रुपन्देही । सिद्धबाबा सुरुङमार्गका तीनवटै बाइपास ‘ब्रेक थ्रु’ भएका छन् । पहिलो र तेस्रो बाइपास यसअघि नै छिचोलिएकोमा दोस्रो आइतबार छिचोलिएको हो ।
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पाको संगमस्थल सिद्धबाबा मन्दिर नजिकै निर्माणाधीन सुरुङमार्गको १५१ मिटर लम्बाइ रहेको पहिलो बाइपास गएको असोज ४ गते छिचोलिएको थियो ।
त्यस्तै, १३० मिटरको तेस्रो बाइपास गएको असोज २६ गते ब्रेक थ्रू भएको थियो भने १६१ मिटरको दोस्रो बाइपास आइतबार छिचोलिएको सिद्धबाबा सुरूङमार्ग योजनाले जनाएको छ ।
मूल टनेल पनि अब छिट्टै ब्रेक थ्रू गर्ने आयोजनाले जानकारी दिएको छ । १ हजार १२६ मिटर लामो सुरुङमार्गको ब्रेक थ्रू गर्ने तयारी अन्तिम चरणमा पुगेको आयोजना प्रमुख कृष्णराज अधिकारीले जानकारी दिए ।
सुरुङमार्ग निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनसँग एक वर्षअघि ७ अर्ब ३४ करोड २१ लाख ४ हजार रुपैयाँमा चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता भएको थियो ।
२०७५ मा केपी शर्मा ओली नेतृत्वको सरकारले पाल्पाको दोभान खण्डसहित देशका विभिन्न ६ स्थानमा सुरुङमार्ग निर्माण गर्ने घोषणा गरेको थियो । विष्णु पौडेल अर्थमन्त्री हुँदा मन्त्रिपरिषद बैठकले २०७७ मंसिरमा १० अर्ब १५ करोड रुपैयाँको बजेट स्रोत सुनिश्चित गरेको थियो ।
हाल बुटवल–पाल्पा खण्डको तिनाउ गाउँपालिका–२, सिद्धबाबा मन्दिरदेखि पाल्पातर्फ १ हजार १२६ मिटर दुरीमा सुरुङ मार्ग बनाउन रामापिथेकस पार्क तथा तिनाउ जलविद्युतको ड्याम माथिबाट डाइभर्सन, साइट क्लियरेन्स, गुणस्तर मापनका लागि ल्याब स्थापना, क्रसर प्लान्ट लगायतका पूर्वतयारीका कामहरू फागुन दोस्रो हप्तादेखि सुरु भएको हो ।
सुरुङ मार्ग निर्माण शुरु गर्नु अगाडि बुटवल र पाल्पा दुवैतर्फको जोखिमयुक्त सडकमध्ये ७८० मिटर क्षेत्रमा डबल लेन, बाइपास सडक, सडकको माथिल्लो भागमा रक नेट, रक सेड, स्लोप प्रोटेक्सन लगायतका प्रविधिमार्फत साढे ३ किलोमिटर सडकलाई सुरक्षित बनाउने काम भइसकेको छ ।
स्वीस कम्पनीले गरेको अध्ययन प्रतिवेदन अनुसार नै सिद्धबाबामा सुरुङ मार्ग निर्माण गर्ने गरी गतवर्ष ग्लोबल टेण्डर आह्वान गरिएको थियो । सुरुङमार्ग तिनाउ गाउँपालिकाको विकास र समृद्धिमा कोशेढुंगा सावित हुनेमा आशावादी रहेको गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठ बताउँछन् ।
सुरुङ मार्गको बीच–बीचमा ३ वटा ठाउँमा केही भाग खुला (स्केप) राखिएको छ । सुरुङको बीचमा केही घटना भइहाले त्यहीँबाट बाहिर निस्कन सकिने छ ।
सुरुङ मार्ग डिजाइन एण्ड बिल्ड मोडालिटीमा निर्माण हुन थालेको हो । राष्ट्रिय योजना आयोगबाट स्वीकृत बहुवर्षीय ठेक्का मापदण्ड, २०७६ बमोजिम प्रक्रिया पूरा गरी डिजाइन, निर्माण तथा सञ्चालन र मर्मत गर्ने कार्यमा प्राविधिक सेवाको सुनिश्चितता गर्न समेत भनिएको छ । सुरुङ मार्ग निर्माणपछि चिनियाँ कम्पनीले पाँच वर्षसम्म मर्मत तथा सञ्चालन गर्नुपर्ने छ ।
यसअघि स्वीस कम्पनीले गरेको एक अध्ययनले सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डको तल्लो सिद्धबाबादेखि दोभान चौकीसम्मको करिब ३ किलोमिटर सडक क्षेत्र अत्यन्तै जोखिमयुक्त रहेको निष्कर्ष निकालेको थियो ।
सिद्धबाबा क्षेत्रको तीन किलोमिटर क्षेत्रमा बर्सेनि माथिबाट पहिरो र ढुंगा खसेर हुने दुर्घटनाले जनधनको क्षति हुने गरेको थियो । पछिल्लो १० वर्षमा यही क्षेत्रमा करिब ७० जनाले ज्यान गुमाएका छन् । १० वर्षको अवधिमा यहाँ १८ वटा बस, ७ वटा ट्रक, कार जीप ९ वटा र १९ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् ।