रूपन्देहीको शुद्धोधनमा बढ्यो बसाइसराइ, गाउँ छाड्ने पनि कम छैन
रुपन्देही । जिल्लाको शुद्धोधन गाउँपालिका अहिले बसाइसराइको केन्द्र बन्न थालेको छ । जिल्लाका १६ वटा स्थानीय तहमध्ये शुद्धोधन जनसङ्ख्याका दृष्टिले १४औं स्थानमा र क्षेत्रफलका दृष्टिले १२औं स्थानमा छ । शहरीकरणका आधारमा हेर्दा यस गाउँपालिकाका सम्पूर्ण वडा शहरोन्मुख वर्गमा पर्छन् ।
पूर्व-पश्चिम राजमार्ग जोडिएको र पालिकाभर बाटोघाटोको सबै सुविधा पुगेकाले पहाडी क्षेत्रबाट बसाइ सरेर आउनेहरुको रोजाइमा पर्ने गरेको छ शुद्धोधन गाउँपालिका । यहाँ जातीय विविधता पनि पाइन्छ । यहाँ थारु, ब्राह्मण-पहाड, लोध, क्षेत्री, मल्लाह, यादव, मगर, विश्वकर्मा⁄कामी, केवट, नुनियालगायत ५२ थरी जातजातिको बसोबास छ । गाउँपालिकामा सबैभन्दा धेरै २४.९ प्रतिशत थारु जातिको जनसंख्या रहेको छ । दोस्रो ठूलो जनसङ्ख्या १५ प्रतिशत ब्राह्मण-पहाडको रहेको छ ।
सिद्धार्थ गौतमका पिता शुद्धोधनको नामबाट गाउँपालिकाको नामकरण गरिएको हो । शाक्य वंशीय शुद्धोधन ऐतिहासिक राज्य कपिलवस्तुका राजा थिए ।
वि.सं २०७३ साल फागुन २७ गते साविकका सौ फर्साटिकर, मानपकडी, मानमटेरिया र खड्वा बनगाईंको समायोजन भई यो गाउँपालिकाको गठन भएको थियो । यस गाउँपालिकामा ७ वटा वडा छन् । पूर्वमा तिलोत्तमा नगरपालिका, पश्चिममा गैडहवा गाउँपालिका, उत्तरमा सैनामैना नगरपालिका र बुटवल उपमहानगरपालिका अनि दक्षिणमा सियारी गाउँपालिका र मायादेवी गाउँपालिका रहेको यो पालिकाको जम्मा क्षेत्रफल ५७.६६ वर्ग किलोमिटर रहेको छ ।
गाउँपालिकाको केन्द्र वडा नं ७ स्थित मानपकडीमा रहेको छ । पालिकाको मुख्य पानीको स्रोत तिनाउ, दानव, घमहा खोला हुन् । यी खोलाहरु पालिकाको उत्तरबाट दक्षिण बग्ने गर्छन् । वि.सं २०७८ को राष्ट्रिय जनगणनानुसार शुद्धोधन गाउँपालिकामा ८ हजार ६७६ परिवार र कुल जनसङ्ख्या ४१ हजार ९०७ रहेको छ ।
यहाँ पुरुषभन्दा महिला बढी छन् । कुल जनसङ्ख्यामध्ये पुरुष २० हजार ५७० (४९.१ प्रतिशत) र महिला २१ हजार ३३७ (५०.९ प्रतिशत) रहेका छन् । यहाँको लैङ्गिक अनुपात ९६.४१ रहेको छ । जसअनुसार प्रतिएक हजार महिला बराबर करिब ९६४ जना पुरुष रहेका छन् ।
वि.सं २०६८ मा शुद्धोधन गाउँपालिकामा ६ हजार १४५ परिवार र कुल ३४ हजार ६३८ जनसङ्ख्या रहेको थियो । जनघनत्व सम्बन्धमा यस गाउँपालिकामा प्रतिवर्ग किलोमिटर क्षेत्रफलभित्र ७२७ जना मानिस बसोबास गर्छन् । पछिल्लो जनगणना २०७८ अनुसार यस गाउँपालिकाको वार्षिक जनसङ्ख्या वृद्धिदर १.८३ प्रतिशत रहेको छ । वि.सं २०६८ र २०७८ को तुलना गर्दा यो गाउँपालिकाका सम्पूर्ण वडामा जनसङ्ख्या बढेको देखिन्छ ।
विगत १० वर्षमा जनसङ्ख्या अत्यधिक बढेका वडाहरूमा क्रमशः ३, ४, ५, २ र १ हुन् । बाँकी वडामा जनसङ्ख्या मध्यमस्तरले बढेको देखिन्छ । राष्ट्रिय जनगणनाअनुसार वडा नं ४ मा सर्वाधिक १५.५ प्रतिशतले जनसङ्ख्या बढेको छ । सबैभन्दा कम वडा नं ६ मा ११.८ प्रतिशतमात्रै जनसङ्ख्या बढेको देखिन्छ । वि.सं २०६८ मा वडा नं १ मा सर्वाधिक १५.९ प्रतिशत र सबैभन्दा न्यून वडा नं ६ मा १२.५ प्रतिशत जनसंख्या रहेको थियो ।
दश वर्षपछि वि.सं २०७८ मा सबैभन्दा बढी वडा नं ४ मा १५.५ प्रतिशत र सबैभन्दा कम वडा नं ६ मा ११.८ प्रतिशत रहेको देखिन्छ ।
शुद्धोधन गाउँपालिकामा स्थायी बसोबास भई नेपालभित्रै अन्यत्र बसोबास गर्न ४५८ परिवारवाट कम्तीमा एक जना गएको देखिएको छ । ती ४५८ वटा परिवारबाट ८९७ जना व्यक्ति नेपालभित्रै अन्यत्र बसोबास गरेको तथ्यांकमा देखिएको छ ।
त्यसैगरी यस पालिकाका १ हजार ८७२ परिवारबाट कम्तीमा एक जना व्यक्ति विदेश गएको देखिएको छ । यी परिवारबाट कुल २ हजार ३३७ जना विदेश गएका छन् । नेपालभित्रै अनुपस्थित रहने पुरुष र महिलाको अनुपातमा उल्लेखनीय भिन्नता देखिन्छ । विदेशमा अनुपस्थित रहनेमा महिलाभन्दा पुरुष सात गुणाभन्दा बढी रहेको छ । वडास्तरमा अनुपस्थित विदेश हुनेको सबैभन्दा उच्च सङ्ख्या वडा नं. ३ मा ६६८ जना रहेको देखिन्छ । स्वदेशमै अनुपस्थित हुनेहरूमध्ये सर्वाधिक सङ्ख्या वडा नं ३ मा ३१६ जना रहेको देखिन्छ ।
विदेशमा अनुपस्थित सबैभन्दा न्यून सङ्ख्या वडा नं. १ मा १२४ जना छन् । स्वदेशमा अनुपस्थित सबैभन्दा न्यून २१ जना वडा नं. १ र ६ मा रहेको देखिन्छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले वि.सं २०८० मा प्रकाशन गरेको शहरी तथा ग्रामीण क्षेत्रको श्रेणीगत वर्गीकरण नामक प्रतिवेदनअनुसार पनि शुद्धोधन गाउँपालिकाको सम्पूर्ण वडाको समग्र जनसङ्ख्या शहरोन्मुखमा पर्दछ । जनसङ्ख्या पिरामिडको अध्ययन गर्दा पुरुष र महिला दुवैको जनसङ्ख्या १५ देखि १९ वर्षसम्म क्रमशः बढेको देखिन्छ । महिलाहरूको भने २०-२४ वर्ष उमेर समूहसम्म नै जनसङ्ख्या बढेको देखिन्छ, तर यस २०-२४ देखि ४५-४९ वर्षसम्मको उमेर समूहमा पुरुषको जनसङ्ख्या निरन्तर घटिरहेको देखिन्छ ।
अज्ञात कारणले ५०-५४ वर्ष उमेर समूहमा पुरुषको सङ्ख्या अघिल्लो उमेर समूह ४५-४९ भन्दा बढेको देखिन्छ । महिलाको जनसङ्ख्या २०-२४ उमेर समूहबाट उकालो लागेपछि ४५-४९ वर्षसम्म निरन्तर घटेको छ र पुरुषको झैं ५०-५४ उमेर समूहमा फेरि बढेको देखिन्छ । त्यसपछिका सम्पूर्ण उमेर समूहमा पुरुष र महिला दुवैको जनसङ्ख्या क्रमशः घटिरहेकै देखिन्छ । जन्मँदा नै बालक धेरै जन्मिएको तथ्यांकमा देखिएको छ । ००-०४ वर्ष उमेर समूहमा पुरुष ४.३ प्रतिशत हुँदा महिला ३.८ प्रतिशतमात्र रहेको छ ।
यस पिरामिडलाई समग्रमा हेर्दा आश्रित जनसङ्ख्याभन्दा आर्थिक रूपले सक्रिय जनसङ्ख्या (१५-६४ वर्ष) अधिक रहेको देखिन्छ । शुद्धोधन गाउँपालिकाको वि.सं २०७८ को जनगणनाअनुसार कायम रहेको कुल जनसङ्ख्या ४१ हजार ९०७ मध्ये ९६.९ प्रतिशत नेपालमा जन्मेका र ३.१ प्रतिशत जनसङ्ख्या विदेशमा जन्मेको देखिन्छ । नेपालमा जन्म भएकामध्ये ६६.३ प्रतिशत शुद्धोधन गाउँपालिकामा नै जन्मेका हुन् भने १२.४ प्रतिशत जनसङ्ख्या रूपन्देही जिल्लाकै कुनै अर्को स्थानीय तहमा जन्म भई जनगणनाको समयमा शुद्धोधनभित्र बसोबास भएका व्यक्ति हुन् ।
कुल पुरुषमध्ये शुद्धोधन गाउँपालिकामै जन्मस्थान हुनेको अनुपात ८०.२ प्रतिशत छ । जबकि महिलातर्फ यो आँकडा ५२.८ प्रतिशतमात्र रहेको छ । अर्को पालिकामा जन्म हुने पुरुष केवल ३.३ प्रतिशत रहेका छन् भने महिलाहरू ६ गुणा बढी अर्थात् २१.१ प्रतिशत रहेका छन् ।
राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय जनगणना २०७८ का आधारमा शुद्धोधनको जनसांख्यिक प्रतिवेदन पालिकालाई हस्तान्तरण गरेको थियो । राष्ट्रिय तथ्यांक कार्यालयका प्रवक्ता एवं उपप्रमुख तथ्यांक अधिकारी डा.हेमराज रेग्मीले प्रतिवेदनबाट शुद्धोधन गाउँपालिकाको जनसांख्यिकमात्र होइन, समग्र आर्थिक र सामाजिक अवस्था पनि झल्काएको बताए ।
‘तथ्यांककै आधारमा लक्ष्यको निर्धारण गर्न पनि सहज हुन्छ । ती लक्ष्य प्राप्त गर्ने काम गर्न पनि सहज हुन्छ । यो तथ्यांकमा सम्पन्नताका सूचकहरुसमेत उल्लेख भएकाले गाउँपालिकाले भावी दिनमा आवास, खानेपानी, शौचालय, बसाइसराइ व्यवस्थापनका कार्यक्रमहरु अघि बढाउन महत्वपूर्ण आधार हुन्छ’, उनले भने, ‘गाउँपालिकाले आफूले बनाउने योजना र नीतिहरुमा यी डाटालाई प्रयोग गरेर योजना बनाए कार्यान्वयनका लागि सजिलो हुनेछ । कुन वडामा कुन सूचक कमजोर छ, सोको तथ्यांक हेरेर त्यहाँ के कस्ता कार्यक्रम लैजाने भन्ने निर्णय गर्न पनि सहज हुने आधार तय भएको छ ।’
दि एसिया फाउन्डेसनको डाटा फर डेभलपमेन्टका कार्यक्रम निर्देशक प्रणय स्थापितले तथ्यांकका आधारमा गाउँपालिकाको विकासको नीति, योजना र बजेट बन्नुपर्ने औंल्याए ।
जनसंख्याविद् चेतन अधिकारीले धेरै स्थानीय तहमा जनसंख्या तथ्यांकको अभावमा वास्तविकतामा आधारित नीति तथा कार्यक्रम नबनेकाले कार्यान्वयनमा लैजान चुनौती बनेको बताए । ‘राष्ट्रिय जनगणनाबाट प्राप्त तथ्यांकका आधारमा गाउँपालिकाले कार्यक्रम र बजेट बनाउने हो भने राजनीतिक पहुँचका आधारमा कार्यक्रम र बजेट बाँड्ने परिपाटीको अन्त्य हुन्छ’, उनले भने ।
गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद बस्यालले पहिले तथ्यांकभन्दा पनि मागका आधारमा बढी योजना बन्ने गरेको बताउँदै अहिले वास्तविक तथ्यांक हेरेर योजना छनोट गरेर अगाडि जान ठूलो सहयोग पुगेको बताए । गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत विष्णु घर्तीले पछिल्लो तथ्यांकका आधारमा एकीकृत सूचना प्रणाली कार्यान्वयन गर्न सबै प्रक्रिया पूरा गरेको र प्रविधिसँगै तथ्यांकले जनप्रतिनिधि, कर्मचारी र सेवाग्राही सबैलाई सहयोग पुर्याउने बताए ।