बागमतीका मन्त्री र सचिवलाई मुख्यमन्त्रीको निर्देशन- हप्ताको चार र पाँच दिन अनिवार्य हेटौंडा बस्नू – Nepal Press

बागमतीका मन्त्री र सचिवलाई मुख्यमन्त्रीको निर्देशन- हप्ताको चार र पाँच दिन अनिवार्य हेटौंडा बस्नू

हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्री बहादुरसिंह लामाले प्रदेश सरकारका मन्त्री र सचिवहरुलाई हेटौंडामा केन्द्रित भएर काम गर्न निर्देशन दिएका छन् । बागमतीका मन्त्री र सचिवहरु काठमाडौं केन्द्रीत भएको जनाउँदै मुख्यमन्त्री लामाले हेटौंडामा केन्द्रित रहेर काम गर्न निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री बहादुरसिंह लामाले मंगलबार मन्त्रीहरूलाई हप्ताको चार दिन र सचिवहरूलाई पाँच दिन अनिवार्य हेटौंडामै बसेर काम गर्न निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित चालु आर्थिक वर्ष २०८१÷०८२ को प्रगति समीक्षा बैठकमा मुख्यमन्त्री लामाले अत्यावश्यक काम बाहेक हेटौंडा नछाड्न र मन्त्रालयमै बसेर काम गर्न कडा निर्देशन दिएका हुन् ।

१४ वटा मन्त्रालय रहेको बागमती प्रदेशको समीक्षा बैठकमा चार जना मन्त्री अनुपस्थित रहेपछि लामा आक्रोशित भएका थिए । संघीयताको मर्म बमोजिम मुकाममा रहेर नियमित काम गर्दा मात्र सरकार सफल हुने भन्दै लामाले मन्त्री र सचिवहरुले संघियताको मर्मलाई पालना गर्नुपर्ने बताए ।

बागमतीका मन्त्रीहरु नियमित कामको साटो विभिन्न जिल्लामा हुने उद्घाटन र पार्टिको आन्तरिक कार्यक्रममा व्यस्त हुन थालेपछि मुख्यमन्त्री लामाले कडा निर्देशन दिएका हुन् ।

१४ वटा मन्त्रालयमा हाल आधा सङ्ख्यामा सचिव रिक्त रहनु टाउको दुखाईको विषय बनिरहेको सन्दर्भमा मन्त्रीहरुपनि नियमित काममा देखा नपर्दा सरकारको कामकारबाहीमा समेत प्रभाव पर्न थालेपछि लामाले समीक्षा बैठमानै निर्देशन दिएका थिए ।


प्रतिक्रिया

One thought on “बागमतीका मन्त्री र सचिवलाई मुख्यमन्त्रीको निर्देशन- हप्ताको चार र पाँच दिन अनिवार्य हेटौंडा बस्नू

  1. देख्याै त नि हेटाैडा प्रदेश राजधानी बनाउन तम्स्या थ्यो नि, लाग्यो पाईन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर