बच्चालाई जटिल वंशानुगत अपाङ्गता, आफ्नै आमालाई बोक्सी आरोप लगाएर झारफुक गर्दै बाबु – Nepal Press

बच्चालाई जटिल वंशानुगत अपाङ्गता, आफ्नै आमालाई बोक्सी आरोप लगाएर झारफुक गर्दै बाबु

अन्धविश्वासको दलदलमा परेका बच्चाका बाबु भन्छन्– यो घर सरेर आमाको किरिया गर्छु, त्यसपछि बोक्सी लगाउन सक्दिनन् र छोरो ठिक हुन्छ

चितवन । भरतपुर महानगरपालिकाको वडा नम्बर ६, मामूल सडकभन्दा करिब ५ सय मीटर पर तीनजना सदस्य भएका एक सानो परिवार छ । एक तले पक्की घरमा श्रीमान श्रीमती र एक छोरा बस्छन् । परिवारको सानो सदस्य छोरा ७ पुगेर ८ वर्ष लागेका छन् ।

छोराको महत्व राख्ने त्यस परिवारमा दोस्रो सन्तानको रुपमा जन्मिएका बालक हिँड्न सक्दैनन् । बोल्न सक्दैनन् । न त आफै खान हिँडडुल गर्न नै सक्छन् । उनी वंशानुगत रुपमाआउने एक दुर्लभ रोगबाट ग्रसित छन् । जसलाई मेडिकल भाषामा लेश्चन्याहान सिन्ड्रोम (एलएनएस) भनिन्छ ।

भरतपुर अस्पतालका विशेषज्ञ प्राध्यापक डाक्टर सुनिलमणी पोखरेलकाअनुसार लेश्चन्याहान सिन्ड्रोम वंशानुगत दुर्लभ रोग हो । शरीरमा हर्मोनको सन्तुलन हुँदैन । त्यस्ता बालबालिकाको दिमागले स्थिर भएर काम गर्न सक्दैन । जसको कारण बालबालिकाले आफूलाई हानी गर्ने किसिमका क्रियाकलाप देखाउँछन् ।

ती बालकले पनि आफैले टोकेर ओठको दाँतले भेट्ने जति भाग सिध्याएका छन् । दुबै हात पनि टोकेर औँलासहित सिध्याउने भएपछि बाबुआमाले उनले खोल्न नसक्ने गरि हातमा कपडा बाँधेर हात राखिदिएका छन् । कम्मर मुनिको भाग लुलो छ । खुट्टा टेकिँदैन । एकै ठाउँमा लडिरहन्छन्, रात परेपछि रुने नियमित जस्तै समस्या छ ।

उनको ३८ वर्षीया आमाका अनुसार जन्मिएको दुई वर्षपछि उनलाई यो समस्या देखिएको हो । जसलाई विश्वव्यापी रुपमा पनि दुर्लभ समस्याको रुपमा लिइन्छ । तीन लाख ८० हजार जीवित जन्ममा एक जनालाई एक्स क्रोमोजमबाट यो रोग आउने विभिन्न अध्ययनबाट देखिएको छ ।

प्राध्यापक डाक्टर पोखरेलका अनुसार पनि यो रोग पुरुषमा बढी देखिन्छ । त्यस्तो समस्या भएका मानिसमा युरिक एसिडको मात्रा बढी हुने अन्तर्राष्ट्रिय अध्ययनहरुले देखाएको छ । त्यसै कारणले उसमा स्वयंलाई हानी पुर्याउने समस्या हुन्छ ।

बाबुआमाबाट नै शरीरमा आएको वंशानुगत समस्याका कारण शारीरिक तथा मानसिक कठिनाइमा रहेका ८ वर्षका बालकका आमाबाबु भने आफ्नो बच्चालाई भएको शारीरिक समस्या भएको मान्न तयार छैनन् ।

उनीहरु भरतपुर महानगरपालिकाभित्र बस्छन् । उनको घरको करिब ७ सय मिटरको दुरीमा इलाका प्रहरी कार्यालय पनि छ । तर, कतिसम्म अन्धविश्वास उक्त परिवारमा छ भने वंशानुगत रुपमा भएको समस्यालाई छोराको यस्तो अवस्था बोक्सी तथा टुनामुनाको कारण भएको विश्वास गर्छन् ।

अझ कतिसम्म भने आफ्नै ७० वर्षकी आमाका कारण छोरामा त्यस्तो समस्या भएको दाबी गर्छन् बालकका बाबु । नेपाल प्रेससँग कुरा गर्दै आफ्नी आमा बोक्सी भएकोले नाती अर्थात् उनका छोरामाथि प्रेतात्माको प्रवेश गराएर त्यस्तो अवस्थामा पुर्याएको उनले दाबी गरे ।

उनीहरुको परिवार २०७२ सालको भुकम्पलगत्तै गोरखाको भच्चेकबाट चितवन आएको थियो । चितवन आउँदा जेठो छोरा साढे दुई वर्षको थियो । उसमा पनि साढे दुई वर्षकै समय जतिबेला पुरा दाँत आएको थियो त्यसपछि ओठ टोक्ने समस्या भएको थियो । पहिलो छोरामा जस्तो समस्या थियो उस्तै समस्या अहिलेको छोरामा भएको आमाले बताइन् ।

बाबुकै अनुसार जेठो सन्तान जन्मिएयता उनीहरु दुबैजनाले रातमा राम्रोसँग निदाउन पाएका छैनन् । रात छिप्पिँदै गएपछि चर्को स्वरले बच्चा रुँदै जान्छ । बाआमाले राम्रोसँग निद्रा पाउनै पाउँदैनन् ।

तर, दिनदिनै छोराको जटिल समस्याको कारण भने आफ्नै परिवार अझ आफूलाई जन्मदिने आमा नै भएको बुझाइ बालकका बाबुमा अझ गहिरो छ । उनी तीन/ तीन दिनमा छोरालाई आफ्नै मन्त्र लगाएर झारफुक गर्छन् । घरको चारैतर्फ आफ्नै आमालाई बोक्सी आरोप लगाएर झारफुक गर्दै हरेक दिन  सर्स्यु छर्ने गर्छन् ।

आमाको फोन आउँछ र छोरालाई असर गर्छ भनेर बालकका बाबुले मोबाइल नम्बर समेत स्वीचअफ गर्ने, वा घरभन्दा टाढा गएर बोल्ने गरेका छन् ।

बच्चाको समस्या भएपछि अस्पताल भने लगेका थिए । तर, वंशानुगत रोग भएकोले डाक्टरले उपचार गरेर निको नहुने जानकारी दिए । त्यसयता उनीहरु अस्पताल गएका छैनन् ।

जेठो छोराको पनि साढे दुई वर्षमा मृत्यु भएको आमाले जानकारी दिइन् । ती बेला अहिलेका छोरा जन्मिएको १२ दिन भएको थियो ।

दुई वर्षसम्म बालक सामान्य नै थियो । सात महिनाको हुँदा कोल्टे फेर्न थालेको उनकी आमाले नेपाल प्रेसलाई बताइन् । जब साढे दुई वर्षको भएपछि बालकको पुरा दाँत आयो । त्यसपछि भने बालकमा आफ्नै टोक्ने समस्याबाट लेश्चन्याहान सिन्ड्रोम देखिन सुरु भयो । त्यसपछि त चिच्याएर रुने, हात टोक्ने लगायतका समस्या थपिएको छ ।

तर, यो समस्या अहिलेसम्म पनि भड्किएको प्रेतात्मा आफ्नी आमा अर्थात् बालककी हजुरआमाको कारण आएको बुझाइ उनीहरुको छ । बालकका बाबु परिवारको कान्छो छोरा हुन् ।आमा जेठो छोरासहित गोरखामा नै छिन् । उनले यस्तो समस्यामा भएकोले बेलाबेला फोन गरेर सँगै बस्नुपर्छ भन्ने पनि गरेकी छन् । तर, बालकका बुबा भने आफ्नै आमाले श्रीमतीको कोखसहित परिवार नै बिगारिदिएको भन्दै घर नै बिक्रीमा गरेर अन्त बसाइ जाने तयारीमा छन् ।

उनले घर बिक्री गर्ने तयारीमा भएकोले गोठमा भएको सात आठवटा गाई घटाएर एउटामा झारेका छन् । बाबु कतिसम्म अन्धविश्वासमा छन् भने घर सरेर गएर ज्यूँदै आमाको किरिया गर्ने योजना बनाएका छन् । उनलाई ज्यूँदै आमाको किरियाकर्म गरेपछि आफ्नो छोरालाई निको हुने विश्वास छ ।

उनले नेपाल प्रेससँग कुरा गर्दै भने,  ‘घर सरेपछि पहिला आमाको किरिया गर्नुछ । त्यसपछि उनीसँग नाता सम्बन्ध सकिन्छ । किरिया गरेर नाता नै टुङ्गिएपछि मेरो छोरालाई केही गर्न सक्दिन । विस्तारै छोरो उठेर हिँड्न सक्ने बन्छ ।

(बालक तथा परिवारको गोपनीयताको लागि नाम खुलाइएको छैन)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *