आमाले छाडिन्, बुवा पनि बितेपछि दुई भाइकाे जिम्मेवारी १४ वर्षीय जमुनाको थाप्लाेमा
१० वर्षको भाइसँगै बुवाको किरिया बसेकी जमुना भन्छिन्ः म काम गरेर भाइहरुलाई पढाउँछु
रुपन्देही । गुल्मीको मालिका गाउँपालिका वडा नं ५ की जमुना घर्ती १४ वर्षकी पुगिन् । बुवाआमाको न्यानो मायाका साथ विद्यालय जाने उमेरकी उनी अहिले त्यो अवस्थामा छैनन् ।
उनी १० वर्षकै हुँदा मामाघरमा जान्छु भनेर गएकी उनकी आमा अहिलेसम्म फर्केकी छैनन् । गाउँमा सबैले आमाले अर्को बिहे गरेर गएको सुनाउँछन्, तर जमुनालाई वास्तविकता थाहा छैन ।
आमाले छाडेर गएपछि बाहिर कमाउने र घरको खर्च व्यवस्थापन गर्नका लागि जमुनाका बुवा थिए प्रेमबहादुर घर्ती । तर ९ दिनअघि ४३ वर्षको उमेरमा प्रेमको मृत्यु भएपछि अहिले जमुना १० वर्षको जेठो भाइलाई लिएर किरिया बसेकी छन् ।
अहिले पनि उनीहरुको परिवारमा साँझ बिहान के खाने भन्ने समस्या छ । सामान्य अवस्थामा भत्कन लागेको सानो घर छ । खेतीबारी पनि धेरै छैन । अब किरिया र त्यसपछिको खर्च व्यवस्थापन कसरी गर्ने, भाईहरुलाई कसरी पढाउने भन्ने पिरलो जमुनालाई छ ।
५ कक्षामा पढ्ने जेठो भाइ युवराज दिदीसँगै किरियामा छन् । ४ कक्षामा पढ्ने ८ वर्षका सानो भाइ सुजन भने हजुरआमासँग बसेका छन् ।
अब आफूले पढाइ छाेडेर काम गर्ने र जसरी पनि दुई भाइलाई पढाउने जमुना बताउँछिन् ।
‘पढ्न त मलाई पनि रहर छ, पढेर केही न केही गरौंला भन्ने थियो । तर घरमा खाने खर्च पनि छैन । भाइहरुलाई पढाउन र खर्च चलाउन पनि मैले स्कुल छाडेर काम खोज्नुपर्ने अवस्था आइलाग्यो,’ उनले घरमा पुग्ने आफन्त र शुभचिन्तकहरुलाई भन्ने गर्छिन्।
जमुना अहिले गाउँकै विद्यालयमा १० कक्षामा अध्ययन गरिरहेकी थिइन्। यो वर्ष एसईईको जाँच दिनुपर्ने भएकाले उनले अलिक मेहनत गर्नुपर्ने थियो । तर अब आफूभन्दा ठूलो कमाउने मान्छे कोही नभएपछि उनी परीक्षा दिन सक्ने अवस्थामा छैनन् । दुई साना भाइहरु बेलाबेला बाबाको सम्झना गर्दै रुन थालेपछि जमुनालाई पनि सैह्य हुँदैन । तर उनीहरुको अघि रोएर कमजोर हुन चाहँदिनन् ।
‘पढ्ने रहर भए पनि घरको अवस्थाले अब पाउँछु भन्ने लागेको छैन । यसै पनि आमा नभएपछि घरमा काम बढी हुने थियो । अब दुई भाईलाई पढाउनुपर्ने छ । दुई भाइ नै प्रहरी हुने भन्छन् । तर के खुवाउने ? कसरी खर्च चलाउने हो ? केही सोच्न सकेकी छैन,’ घरमा पुग्ने आफ्ना आफन्तलाई उनी भन्ने गर्छिन्, ‘भाईहरुलाई पढाउने र खर्च दिने कोही भए त जेनतेन मैले नि पढ्न पाउँथे कि । त्यस्तो मनकारी को भेटिएला र खै ?’
‘आमाले सानैमा छाडेर जानुभयो, मामाघर जान्छु भनेर गएको ४ वर्ष भयो अहिलेसम्म केही पत्तो लागेको छैन । अर्को बिहे गरेर गएको भनेर सुनाउँछन् खै के हो ? बुवाको मृत्यु भयो । अब कुनाबाट निस्केर के गर्ने भन्ने अन्यौल छ,’ जमुनाको भनाइ सुनाउँदै उनका भिनाजु टुमाराम गिरी बताउँछन् ।
अहिले उनीहरुको घरमा ७५ वर्षकी हजुरआमा चन्द्रकला मात्रै छन् । हजुरआमाले पनि बृद्ध भएकाले बाहिरी काम गर्न सक्दिनन् । किरिया खर्चका लागि घरमा आउने आफन्त, गाउँलेले दैनिक लाग्ने खर्च उठाएर दिने गरेका छन् । यसले १३ दिनको कर्म चलाउन सके पनि त्यसपछि के गर्ने भन्ने अन्यौलमा रहेको हजुरआमा चन्द्रकला घर्ती बताउँछिन् ।
‘यो उमेरमा छोरो अघि लायो । ३ जना साना नातिनातिना छन् । अब यिनीहरुको हालत के होला ? बुहारी पहिले नै मात्तिएर हिँडेकी हो। अब यिनीहरुलाई खुवाउने, पढाउने पिरलो भयो । आफूले केही गर्न सकिदैन,’ ७५ वर्षीय चन्द्रकलाले घरमा समवेदना दिन जानेलाई सुनाउँछिन् ।
घर्ती परिवारका आफन्त गिरीका अनुसार अहिलेको अवस्था हेरेर गाउँले किरिया खर्च जुटाएपनि त्यसपछि के कसरी उनीहरुलाई पढाउने र दैनिक खर्च चलाउने हो भन्ने चिन्ता सबैलाई छ । सोही क्षेत्रका सांसद दिनेश पन्थी, लुम्बिनी प्रदेशको मन्त्री र केन्द्रको पूर्वमन्त्री तथा संघीय सांसद रहेका गोर्कण विष्टले यो बारे विशेष ध्यान दिनुपर्ने र पालिका अध्यक्ष देवीराम अर्यालले त्यसको व्यवस्थापन गर्नुपर्ने स्थानीयको भनाइ छ ।
मालिका गाउँपालिका ५ का वडाध्यक्ष रेखाकुमार जीसीले गाउँमा यस्तो अकल्पनीय घटनाले घर्ती परिवारमा पीडा थपेको बताउँछन् ।
‘त्यसै पनि प्रेम घर्तीको श्रीमतीले छाडेर ३ जना बालबालिकाको समस्या परेको थियो, अहिले उनको पनि मृत्यु भएपछि ठूलो समस्या आएको छ । पालिकाले मात्रै अबको उनीहरुको सबै व्यवस्थापन गर्न नसक्ला, अन्य दानबीर भेटिनुभयो बाबुनानीहरुलाई पढाउने खालको भने सबै मिलेर खोज्नुपर्नेछ’ उनले भने, ‘पालिकाबाट सामान्य सहयोग त हुन्छ नै, पछिसम्मको व्यवस्थापनका लागि अन्य विकल्प सोच्नुपर्दछ ।’
गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले पालिकाबाट सामान्य सहयोग गर्न सकिने भएपनि दीर्घकालीन सहयोगका लागि अन्य स्रोतहरुको खोजी गर्नुपर्ने बताए ।
‘म काम विशेषले जिल्ला बाहिर छु, उपाध्यक्ष र वडाध्यक्षले खाद्यान्यसहित केही खर्च लिएर जानुभएको हो, तर दीर्घकालीन व्वयस्थापनका लागि के कसरी अगाडि जान सकिन्छ भन्ने अन्यौलमा छौं,’ उनले भने ।