महागुरु फाल्गुनन्द लिङदेन हिन्दू थिए – Nepal Press

महागुरु फाल्गुनन्द लिङदेन हिन्दू थिए

महागुरु फाल्गुनन्द लिङदेन मात्र होइन, युमा धर्म मान्ने लिम्बूहरुबाहेक अधिकांश लिम्बू हिन्दू नै हुन् ।

(पूर्वी नेपालको पाँचथरमा १४० वर्षअघि जन्मिएका नेपालका १६ औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेन पछिल्लो समय अध्ययनको विषयसमेत बनेका छन् । किरात जातिले समाज सुधार र धर्म प्रणेता तथा किराँत धर्म दर्शनदाताका रुपमा फाल्गुनन्दलाई सम्झिन्छन् । अहिले देशकै महागुरुको उपाधि पाएका छन् । महागुरु फाल्गुनन्दका अनुयायीहरुको अहिले धर्म नै फरक छ, तर सोही समुदायका अध्येतासमेत रहेका अभियन्ता वीर नेम्वाङले भने फाल्गुनन्द हिन्दू थिए भन्ने केही तथ्य र तर्कसहित बहस छेडेका छन् । उनको विचारलाई लेखको रुपमा नेपाल चिन्तनमा प्रस्तुत गरिएको छ ।)

सम्भवतः सबैभन्दा पहिले सत्यहाङमा पन्थसम्बन्धी सूक्ष्म ढङ्गबाट अध्ययन-अनुसन्धान गर्ने आयामेली कवि वैरागी काइँला र म नै थियौं होला । यसै क्रममा मैले काइँलासमक्ष ‘२८ औं गुरु फाल्गुनन्द लिङदेन स्वर्गारोण जयन्ती’ मनाउने प्रस्ताव राखें ।

सन् १९७७ मार्च ४-६ मा शिलौटी (नाम्भुन यक)मा सन्पन्न भएको २८ औं गुरु फाल्गुनन्द लिङदेन स्वर्गारोहण जयन्तीमा नातामा महागुरु फाल्गुनन्द लिङदेनका नाति बालागुरु आत्मानन्द लिङदेन, सत्यहाङमा मन्दिरका पुजारीहरु र महागुरु फाल्गुनन्द लिङदेनका सयौं चेला-भूलाले सहभागिता जनाएका थिए ।

कहिलेकाहीँ मलाई हाँसो उठ्छ, कहीँ स्वर्गारोहण जयन्ती पनि मनाइन्छ र ? एवंरितले वैरागी काइँला र मैले सत्यहाङमा पन्थसम्बन्धी सूक्ष्म ढङ्गबाट अध्ययन-अनुसन्धान गरेका थियौं । यसबाट हामीलाई पत्ता लाग्यो- महागुरु फाल्गुनन्द लिङदेनको आज्ञामा सुरत दिलदास ( कुलमान नेम्बाङ) सानो गुरु बद्रीनन्द तुम्बापो, काइँला गुरु सेवाहाङ नेम्बाङ र रणध्वज नेम्बाङले हिन्दू धर्मका कर्मकाण्ड, पूजाविधि, तन्त्रमन्त्र र ज्योतिषशास्त्रसम्बन्धी धार्मिक पुस्तकहरु लिम्बू लिपि तथा भाषामा अनुवाद गरेका रहेछन् । ती अनुदित धार्मिक पुस्तकहरुलाई नै सत्यहाङमा पन्थको कर्मकाण्ड, पूजाविधि, तन्त्रमन्त्र र ज्योतिषशास्त्रको रूपमा प्रयोग गरिएका रहेछन् ।

यस सन्दर्भमा महागुरु फाल्गुनन्द लिङदेनसम्बन्धी दुइटा घटनालाई उल्लेख गर्दा असान्दर्भिक नहोला । पहिलो घटना, महागुरु फाल्गुनन्द लिङदेन भारतको चारधाम तीर्थयात्रामा गएको मौकामा ज्ञानबहादुर पेल्लुङवाले पाँचथर, याम्बोङमा आएर भनेछन्- गुरु फाल्गुनन्द लिङदेन त मरिसक्यो । म उनको अवतार भएर आएको छु ।’

वस्तुतः महागुरु फाल्गुनन्द लिङदेन हिन्दू थिए । यस सन्दर्भमा महागुरु फाल्गुनन्द लिङदेनमात्र होइन, युमा धर्म मान्ने लिम्बूहरुबाहेक अधिकांश लिम्बू हिन्दू नै हुन् । परन्तु महागुरु फाल्गुनन्द लिङदेनले लिम्बू लिपि तथा भाषाको उन्नयनमा अतुलनीय योगदान पुर्‍याएका छन् ।

याम्बोङवासीले उनलाई शिलौटी मन्दिरमा लगेर महागुरु फाल्गुनन्द लिङदेनकै आसनमा विराजमान गराएछन् । तीर्थयात्राबाट फर्किएर आएपछि महागुरु फाल्गुनन्द लिङदेनले ज्ञानबहादुर पेल्लुङ्वालाई शिलौटीबाट धपाएछन् ।

दोस्रो घटना- शिलौटीमा महागुरु फाल्गुनन्द लिङदेनको दाहसंस्कार सकिनासाथ पाँचथर, लोब्रे मन्दिरका पुजारी बैजनाथ तुम्बापोले मलामीहरुलाई सम्बोधन गर्दै ‘ तिमीहरुले मलाई चिन्यौ ? म को हुँ ?’ भन्दै फलाक्न थालेछन् ।

मलामीहरुमध्ये याम्बोङका तत्कालीन लिम्बूवानका सुब्बा नारद नेम्बाङ उनको छेवैमा गएर भनेछन्- ‘हामी तिमीलाई राम्ररी चिन्छौं, तिमी लोब्रे मन्दिरका पुजारी बैजनाथ तुम्बापो हौ ।’

बैजनाथ तुम्बापोको प्रश्नवाचक आग्रह हो- सत्यहाङमा पन्थीले आफूलाई महागुरु फाल्गुनन्द लिङदेनको औतार मानून् । जबकि महागुरु फाल्गुनन्द लिङदेनका प्रमुख सहयोगी बालागुरु दलबहादुर नेम्बाङले यसपछि तपाईं कहाँ औतार लिनुहुन्छ भनी प्रश्न गर्दा महागुरु फाल्गुनन्द लिङदेनले ‘म नेपालमा औतार लिँदिनँ । चीनमा मेरी फुपू छिन्, त्यहाँ औतार लिन्छु’ भनी उत्तर दिएका थिए ।

वस्तुतः महागुरु फाल्गुनन्द लिङदेन हिन्दू थिए । यस सन्दर्भमा महागुरु फाल्गुनन्द लिङदेनमात्र होइन, युमा धर्म मान्ने लिम्बूहरुबाहेक अधिकांश लिम्बू हिन्दू नै हुन् । परन्तु महागुरु फाल्गुनन्द लिङदेनले लिम्बू लिपि तथा भाषाको उन्नयनमा अतुलनीय योगदान पुर्‍याएका छन् । लिम्बूहरुले उनले लिम्बू लिपि तथा भाषामा पुर्‍याएको अतुलनीय योगदानलाई उच्च मूल्याङ्कन नगर्नु घोर कृतघ्नता हुनेछ । यदि लिम्बू कुलवंशमा महागुरु फाल्गुनन्द लिङदेन नजन्मिएका भए, सायदैमात्र लिम्बू लिपि तथा भाषा उन्नत हुने थियो होला ।

(ग्रेटर लिम्बूवानका सर्वमान्य नेता वीर नेम्वाङ कवि तथा लिम्बूवान अभियन्ता हुन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *