सहसचिव भेटुवाल सचिवमा बढुवा – Nepal Press

सहसचिव भेटुवाल सचिवमा बढुवा

काठमाडौं । प्राविधिकतर्फ रिक्त रहेको सचिवमा सहसचिव मधु भेटुवाल बढुवा भएका छन् । ऊर्जा मन्त्रालय अन्तरगत रहेको बुढीगण्डकी जलविद्युत कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका सहसचिव भेटुवाललाई मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा गरेको हो ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षमा केहि दिन अघि बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिकतर्फ रिक्त रहेको सचिव पदका लागि तीन जना सहसचिवको नाम सिफारिस गरेको थियो ।

जसमा पहिलो नम्बरमा सहसचिव दिनानाथ शर्मा, दोस्रो नम्बरमा भेटुवाल र तेस्रो नम्बरमा चिरञ्जीवी चटौत सिफारिस भएका थिए । पहिलो नम्बरमा रहेका शर्मालाई बढुवा नगरेर मन्त्रिपरिषद् बैठकले दोस्रो नम्बरमा सिफारिस भएका भेटुवाललाई बढुवा गरेको हो ।

सिफारिस भएका ३ जनामा भेटुवालको नाम दोस्रो नम्बरमा भए पनि उमेर अवधि कम भएका कारण उनलाई मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा गरेको हो । उनले करिव एक वर्ष सचिवको जिम्मेवारी सम्हाल्नेछन् ।

तेस्रो नम्बरमा सिफारिस भएका चतौट उर्जा मन्त्रालयमा ऊर्जा महाशाखा प्रमुखको जिम्मेवारीमा छन् भने पहिलो नम्बरमा सिफारिस भएका शर्मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पारमाणविक पदार्थ व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारीमा छन् ।

जल तथा ऊर्जा आयोगका सचिव रामप्रसाद घिमिरे १५ दिन अघि मात्रै सहसचिवबाट सचिवमा बढुवा भएर उमेर हदका कारण अनिवार्य अवकाशमा गएपछि प्राविधिक सचिव पद रिक्त भएको थियो । भेटुवाल १२०० मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजनाको प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर