निर्वाचन क्षेत्रको विकास निर्माण अनुगमनमा व्यस्त डा. शेखर
विराटनगर । नेपाली काँग्रेसको आगामी महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरिसकेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला आफ्नो निर्वाचन क्षेत्रमा भएका विकास निर्माणको अनुगमनमा हिँड्न थालेका छन् ।
विराटनगरमा आएका बेला उनी आफ्नो निर्वाचन क्षेत्रमा भइरहेका कामको बारेमा अनुगमन गर्न हिँडेका हुन् । उनी आज मात्रै विराटनगर महानगरका विभिन्न स्थानमा भएको पूर्वाधार निर्माण सम्बन्धी योजनाको अनुगमनमा पुगेका थिए ।
उनले आज विराटनगर–१२ बखरीमा स्थानीयबासिसँग भेटघाट गरे । योजनाहरूको अनुगमनका क्रममा स्थानीयले सडक र नाला निर्माणसँगै डुबान समस्या समाधान गर्न माग गरे । स्थानीयले विराटनगरमा भएको फोहोर व्यवस्थापनको समस्या समाधान गर्न कोइरालासँग माग राखे ।
उनीहरूले रोजगारी सिर्जना, लागू औषध नियन्त्रण गर्न पनि कोइरालाको ध्यानाकर्षण गराए । पूर्वाधार विकासको अनुगमन र जनतासँग भेटघाट गर्न पुगेका डा. शेखरलाई शिक्षक ओम आचार्यले चुनाव जितेपछि नाक मुख नदेखाउने प्रवृत्तिले नेताप्रति जनताको वितृष्णा बढेको बेला जनताकाबीचमा गएर कुरा सुनिदिँदा राम्रो सन्देश गएको बताए ।
देशका नेता डा. कोइराला जनताको घरदैलोमा पुग्दा सकारात्मक सन्देश गएको उनको भनाइ छ । स्थानीय सहदेव चौधरीले आफ्नो क्षेत्रको समस्याको सुनवाइ हुने आशा व्यक्त गरे । उनले घर अगाडिको नाला देखाउँदै भने, ‘डा सा’व यो कहिले सम्म बन्छ होला ?’
उनीसँगै विराटनगरका मेयर नागेश कोइराला समेत हिँडेका थिए । जनताको गुनासो सुनेपछि सांसद कोइरालाले धेरै निराश नहुन आग्रह गरे । उनले महानगरपालिकाबाट हुने काम गर्नकै लागि पनि मेयरलाई साथैमा लिएर आएको स्पष्ट गर्दै तत्कालै नभए पनि योजनामा सूचिबद्ध भए ढिलै भए पनि जनताको माग पूरा हुने बताए ।
मेयर कोइरालाले महानगरमा धेरै काम भइरहेको दाबी गर्दै राजवंशी चोक–पुलचोकदेखि सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा कालोपत्रे गर्ने काम सुरु भइसकेको उदाहरण दिए । यसै वर्ष नहरको साढे ५ किलोमिटर सडक कालोपत्रे भइसक्ने बताए ।
नेता कोइराला पार्टी राजनीतिका कारण देश दौडाहामा व्यस्त रहने हुँदा निर्वाचन क्षेत्रमा कम आउने गरेको गुनासो थियो । दसैँ–तिहार यता सांसद कोइराला काठमाडाैंमा भन्दा विराटनगरमै बढी बस्न थालेका छन् ।