पृथ्वीनारायणको शीतकालीन दरवार कसरी पुग्यो प्रचण्डका तत्कालीन स्वकीय सचिवको नाममा ? – Nepal Press

पृथ्वीनारायणको शीतकालीन दरवार कसरी पुग्यो प्रचण्डका तत्कालीन स्वकीय सचिवको नाममा ?

विदुर । नेपाल एकीकरणपछि बडामहाराजा पृथ्वीनारायण शाहले जाडोका बेला बस्न बनाएको नुवाकोटस्थित शेरा दरबार माओवादी केन्द्रका नेता तथा प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदाका स्वकीय सचिव विकेश श्रेष्ठको नाममा पुगेपछि सरकारी संयन्त्रमा खैलाबैला मच्चिएको छ ।

गणतन्त्र स्थापनापछि तत्कालीन राजपरिवारका सदस्यहरुको हदबन्दीभन्दा बढी र स्वर्गीय राजा वीरेन्द्रसहित मारिएका सदस्यहरुको नाममा अचल सम्पत्ति नेपाल ट्रस्टमा ल्याइएको थियो, तर नुवाकोट थानसिंस्थित शेरा दरबार र त्यसले चर्चेको जग्गा भने माओवादी नेता श्रेष्ठ र उनका छोराको नाममा खडा गरिएको अन्नपूर्ण फार्मिङ प्रालिको नाममा दर्ता श्रेष्ता कायम भइसकेको पाइएको छ ।

जिल्ला मालपोत कार्यालयको ढड्डामा सो दरवारसहितको जमिन गौरीशंकर फार्मिङबाट अन्नपूर्ण फार्मिङको नाममा कायम भएको देखिन्छ । कम्पनी रजिष्टारको कार्यालयको रेकर्डअनुसार अन्नपूर्ण फार्मिङ प्रालि विकेश श्रेष्ठ, उनका छोरा मनोबल श्रेष्ठ र अजय सूर्यवंशीको संयुक्त कम्पनीका रुपमा दर्ता भएको छ ।

यो दरबार तत्कालीन राजा महेन्द्रका भाइ बसुन्धराकी श्रीमती हेलेन शाहको भागमा परेको थियो ।

नुवाकोटस्थित पृथ्वीनारायण शाहले गर्मी छल्न भनेर बनाएको ऐतिहासिक शेरा दरबारको १८४ रोपनी जग्गा हदबन्दीभन्दा बढी भएपछि कम्पनीको नाममा लगेर बेच्न लागिएको थियो । कृषि प्रयोजनका लागि कम्पनी खडा गरेर व्यक्तिको नामबाट कम्पनीमा लगिएको तथ्य फेला परेपछि अहिले मालपोतले जग्गा रोक्का राखेको छ । त्यस्तै नेपाल ट्रस्टमा सो दरवारको जग्गा लैजान सरकारले चासो दिएको छ ।

२०७३ सालमा अन्नपूर्ण फार्मिङबाट शेरा दरवारमा विकेश श्रेष्ठको प्रवेश भएको थियो । उनी २०६५ सालमा प्रचण्ड प्रधानमन्त्री हुँदा स्वकीय सचिव थिए । त्यसअघि उनी माओवादी शान्ति प्रक्रियामा आउनुअघिको बहुचर्चित चुनवाङ बैठकबाट निर्वाचित ९५ सदस्यीय केन्द्रीय कमिटीका सदस्य थिए ।

प्रचण्डका स्वकीय सचिवसमेत रहेका माओवादी केन्द्रका नेता रमेश मल्लले भने विकेश श्रेष्ठ अहिले पार्टीको कुनै कमिटीमा आबद्ध नरहेको बताए । उनले पहिलो प्रधानमन्त्रीत्वकालमा शक्ति बस्नेतअन्तर्गत सचिवालयमा काम गरेको र चुनवाङबाट केन्द्रीय सदस्य भए पनि अहिले पार्टीको नेतृत्वमा नरहेको बताए ।

श्रेष्ठले शेरा दरवार क्षेत्रका जग्गा प्लटिङ गरेर केही जग्गाको बैनासमेत लिएको स्थानीयले बताएका छन् । काठमाडौं बुढानिलकण्ठ नगरपालिका- ३ का स्थायी बासिन्दा

श्रेष्ठले पछिल्लो समय सो जग्गा आफ्नो एकल कम्पनीको नाममा पारेपछि कम्पनीबाट व्यक्तिमा लैजान खोज्दा पोल खुलेको हो ।

पृथ्वीनारायणले बनाएको दरवारको जग्गा प्रचण्डका तत्कालीन पीएले प्लटिङ गरेर बेच्न लागेपछि स्थानीयले सरकारी निकायमा उजुरी दिए । यसअघि नारायणकाजी श्रेष्ठ गृहमन्त्री भएका बेला सीआईबीले पनि यो उजुरीबारे छानबिन थालेको थियो । हालै अवकाशमा गएकी एआईजी किरण बज्राचार्यलाई माथिबाट दबाब आएपछि शेरा दरवार कब्जाको अनुसन्धान रोकिएको थियो ।

शेरा दरवारको १८४ मध्ये १६१ रोपनी जग्गा अन्नपूर्ण फार्मिङको नाममा रहेको छ । दरवारको सम्पत्ति नेपाल ट्रस्टमा गए पनि शेरा दरवार भने आफ्नो कार्य दायरामा नभएर संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेको हुनसक्ने नेपाल ट्रस्टका प्रवक्ता कुमार दाहालले बताए ।

नुवाकोट मालपोत कार्यालयका प्रमुख मीनराज भट्टराईले शेरा दरवारको जग्गा हदबन्दीका कारण रोक्का रहेको पुष्टि गरे । विकेश श्रेष्ठले प्लटिङ गरेर बेच्न लागेको भन्नेबारे भने आफू भर्खरै आएकाले बुझ्ने काम भइरहेकोउनले जानकारी दिए ।

नारायणकाजी गृहमन्त्री भएका बेला सो जग्गा हिनामिनाको छानबिन गर्न खोजिएको तत्कालीन प्रधानमन्त्री प्रचण्डबाटै रोकिएको आरोप छ । यद्यपि प्रचण्डको सचिवालयले भने यसबारेमा केही जानकारी नरहेको प्रस्ट पारेको छ । यद्यपि स्थानीयले भने विकेश श्रेष्ठ प्रचण्डको ससुरालीतिरबाट नाता पर्ने भएकाले छानबिन रोकिएको आरोप लगाएका छन् ।

थानसिंकै स्थानीय बसन्त पाठकले भने, ‘विकेश श्रेष्ठ सीता दाहालको माइतीतिरबाट साढुभाइ भन्ने कुरा पनि आएको छ । पछिल्लो समय उनी राजनीतिभन्दा पनि प्रचण्डसहित नेताहरुको सम्पत्ति व्यवस्थापनमा लागेर व्यापार देखाउन यस्ता फार्मिङ कम्पनीबाट आयस्रोत देखाउन खोजेको पनि होला, तर हामीले उजुरी गर्दा छानबिन गर्न रोकिएको सूचना पाएका हौं ।’

सुरुमा २०३५ फागुन १२ गते शेरा दरबार र शेरा दरबारले चर्चेको कित्ता नम्बर ८२, ८३, ८४, ८७, ८८, ८९, ९०, ९२, ९३, ९४, ९५, ९७ र ९८ जम्मा १३ कित्ताको १६४-१३-०२-०१ क्षेत्रफल जग्गा गौरीशंकर फार्मिङको नाममा नापी भएको नापी कार्यालय नुवाकोटको अभिलेखबाट देखिन्छ ।

जग्गा भूमिसुधार ऐनपछि हदबन्दीको कारण शेरा दरबार र शेरा दरबारले चर्चेका जग्गा राजा महेन्द्रका भाइ अधिराजकुमार वसुन्धराकी श्रीमती हेलन शाह र विजया राज्यलक्ष्मी शाहको अंशमा परेको र सो जग्गा व्यक्तिको नाममा हदबन्दीको कारण नापी हुन नसकेर गौरीशंकर फार्मिङको नाममा नापी गराइएको थियो ।

सो दरबारको जग्गा गौरीशंकर फार्मिङको नाममा नापी भए पनि फार्मिङको सञ्चालक र शेयर धनी हेलन शाह र विजया राज्यलक्ष्मी शाह नै थिए । २०५२ सालसम्ममा विजया राज्यलक्ष्मी शाहको नाममा रहेको कम्पनीको शेयर जयन्ती शाहको नाममा गएको थियो ।

विभिन्न समयमा विभिन्न व्यक्तिका नाममा शेयर हस्तान्तरण हुँदै जाँदा अन्नपूर्ण फार्मिङ विकेश श्रेष्ठ र उनका छोरा मनोबल श्रेष्ठको नाममा आएको देखिन्छ । यसबीचमा सो दरवारको जग्गा गौरीशंकर फार्मिङअन्तर्गत नरेन्द्र प्रधान, केदारनाथ श्रेष्ठ, सजनी श्रेष्ठ, रजनी श्रेष्ठ, सोहिनी श्रेष्ठ, वर्षा बस्नेत, वसन्त बस्नेत हुँदै विभिन्न व्यक्तिको नाममा शेयर किनबेच भएको देखिएको छ । अन्तिममा सो सबै जग्गा विकेशले अन्नपूर्ण फार्मिङ प्रालिका नाममा नामसारी गरेका कारण अब जफत हुँदा पनि उनीसहित दोषीहरुमाथि अनुसन्धान हुनुपर्ने देखिन्छ ।

नुवाकोटको विदुर नगरपालिका- २ मा रहेको सो जग्गा नेपाल ट्रस्टको नाममा आउनुपर्नेमा व्यक्तिका नाममा लैजान खोजिएपछि यो विषय सतहमा आएको हो । सीता दाहाल बिरामी नपर्दासम्म नियमित जाने गरेको र उनको लागि भवनसमेत बनाइरहेका बेला बिरामी परेका कारण भवन भने आधा निर्माणपछि छाडिएको छ ।

शेरा दरबारलाई पृथ्वीनारायण शाहले शीतकालीन दरबारको रूपमा वि.सं १८२२ मा निर्माण गराएका थिए । पृथ्वीनारायण शाहको शासनकालमा नुवाकोटमा दुई दरबार निर्माण भएका थिए । साततले दरबारलाई ग्रीष्मकालीन दरबारका रूपमा उपयोग गरिएको थियो । पृथ्वीनारायण गर्मी महिनामा तादी किनारमा रहेको शेराबेसी दरबारमा बस्ने गर्दथे भन्ने इतिहासमा उल्लेख छ ।


प्रतिक्रिया

3 thoughts on “पृथ्वीनारायणको शीतकालीन दरवार कसरी पुग्यो प्रचण्डका तत्कालीन स्वकीय सचिवको नाममा ?

  1. प्रचण्डको संरक्षणमा उनकै निर्देशनमा यो काम भएको हुनसक्छ । तुरून्त छानबिन गरेर सख्त कारवाही गर र माओवादीको असली रूप देखाईदेउ ओलि । नछोड फटाहाहरूलाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर