लिपुलेकबारे चीन-भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डता अतिक्रमण गरेको छ: विप्लव – Nepal Press

लिपुलेकबारे चीन-भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डता अतिक्रमण गरेको छ: विप्लव

काठमाडौं । नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाले चीन र भारतबिच भएको लिपुलेक भञ्ज्याङ भएर तीर्थयात्री र व्यापारिक मार्ग पुनः सञ्चालन गर्ने सहमतिप्रति आपत्ति जनाएको छ ।

महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै सन् २०१५ मा पनि सो सहमति हुँदा नै आफूहरु खारेजीको मागसहित सङ्घर्षमा उत्रिएको स्मरण गराएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘चीन सरकारले नेपालको दाबीअनुसार प्रामाणिक कागजात भए सो सहमति पुनर्मूल्याङ्कन गर्न सकिने बताएको थियो । २०७७ जेठमा नेपालको प्रतिनिधिसभा (संसद)ले कालापानी, लिम्पियाधुरा र लिपुलेक भञ्ज्याङसहित भूभाग समेटेर नक्सा सार्वजनिक गरिसकेको छ । यसर्थ नेपालको भूभाग प्रयोग गर्ने सहमतिमा नेपालसँग सहकार्य नगरी भएको चीन-भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डता अतिक्रमण गरेको छ ।’

चीन र भारत आफ्नो सार्वभौमिकताप्रति जति गम्भीर छन्, नेपालको अखण्डता र स्वतन्त्रताप्रति पनि गम्भीर हुन आवश्यक रहेको उनले बताएका छन् ।

महासचिव विप्लवले लिपुलेक भञ्ज्याङको सन्दर्भमा डिसेम्बर १८ (पुस ३)मा भएको भारत-चीन सहमति खारेज गराउन र राष्ट्रिय अखण्डताको रक्षार्थ आवश्यक कदम चाल्न सरकारसँग माग पनि गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर