माधवका दूत फेरि वामदेव निवासमा- नेकपा एसमा भित्रिन गौतमका यी शर्त – Nepal Press

माधवका दूत फेरि वामदेव निवासमा- नेकपा एसमा भित्रिन गौतमका यी शर्त

काठमाडौं । नेकपा एमालेका पूर्वउपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलाई माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा भित्र्याउन उक्त पार्टीले औपचारिक निर्णय गरेको दुई साता बितिसक्यो, तर गौतमले अझै उक्त पार्टीमा जानेबारे केही निर्णय दिएका छैनन् ।

गौतमसँग कुरा गर्न एकीकृत समाजवादीका तर्फबाट आइतबार स्थायी कमिटी सदस्य बलराम बाँस्कोटा, पोलिट्व्युरो सदस्य ताज मोहम्मद मियाँसहितको टोली उनको भैंसेपाटीस्थित घरमै पुग्यो । गौतमले अध्यक्ष नेपाल आफूप्रति हुनुपर्ने जति सकारात्मक नपाएको भन्दै शंका व्यक्त गरे ।

त्यही सन्देश बोकेर बाँस्कोटा र मियाँले अध्यक्ष नेपाललाई भेटे । मियाँका अनुसार नेपालले आफ्नो तर्फबाट वामदेवलाई पार्टीमा भित्र्याउनेबारे केही समस्या नरहेको बताए, तर वामदेवले अझै पनि उक्त पार्टीमा जाने तदारुकता देखाएका छैनन् ।

गौतमले गत बिहीबार नेपाल प्रेसलाई प्रतिक्रिया दिँदै एकीकृत समाजवादीसँग एकता गर्ने विषयमा ‘कुनै छाँटकाँट नआएको’ भनेका थिए । उनले भनेका थिए, ‘उहाँहरुले शंका गर्नुभयो माधवको विरुद्ध जान्छन् भनेर । मैले त भन्या थिएँ ‘कमरेड, तपाईंसँग आउने भनेको तपाईंलाई बलियो बनाउने हो, तपाईंलाई सहयोग गर्न आउने हो । यसमा शंका नगर्नुस् ।’

गौतमले उक्त प्रतिक्रिया दिँदा नेपाल गृह जिल्ला रौतहटमा थिए । त्यहीबाट पार्टी सहकर्मीलाई फोन गरेर वामदेवको प्रतिक्रिया जस्तो सोचाई आफ्नो नभएको भनेका थिए । स्थायी कमिटी सदस्य मियाँ भन्छन्, ‘त्यो समाचारको लिंक मैले नै उहाँलाई पठाएको थिएँ, समाचार पढेपछि मलाई फोन गरेर त्यस्तो कुरा होइन भन्नुभएको थियो ।’

आइतबारको छलफलमा पनि गौतमले अनौपचारिक छलफलका आधारमा एकता गर्ने, कुनै पनि छलफलको टिपोट नगर्ने र लिखित सहमति नगर्ने कुराले विश्वासको वातावरण नबनाएको भनेका थिए ।

आइतबारको छलफलपछि नेपाल प्रेससँग कुरा गर्दै वामदेवले भने, ‘माधव कमरेडले छिटो गरौं भन्नुभएछ, त्यही भएर उहाँहरु आज कुरा गर्न आउनुभएको हो । मैले आफ्नो कुरा राखेको छु, त्यो कुरा अब उहाँहरुले माधव कमरेडसँग गर्नुहुन्छ ।’

गौतमले आफूद्वारा नेतृत्व गरिएको पार्टी एकता राष्ट्रिय अभियानका पदाधिकारी र सदस्यहरुको पदीय व्यवस्थापनसहितका विषय उठाएका थिए । कुराकानीमा सहभागी स्थायी कमिटी सदस्य बाँस्कोटा र मियाँले गौतमका कुरा नेपाललाई सुनाए ।

नेपालले सबै कुराको व्यवस्थापन गर्ने जिम्मा बाँस्कोटालाई दिएको मियाँले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर