नेपालगन्ज भन्सारमा तस्करी : सशस्त्रले छाड्छ, जनपदले समाउँछ – Nepal Press

नेपालगन्ज भन्सारमा तस्करी : सशस्त्रले छाड्छ, जनपदले समाउँछ

दाङ । बाँकेमा तैनाथ सशस्त्र प्रहरी बल (एपीएफ)को ३० नम्बर गण नेपालगन्ज भन्सारबाट हुने तस्करी रोक्न असफल भएको छ । गणपति एसपी विमल डाँगी सुरक्षासँगै भन्सार राजश्व छली तथा चोरी नियन्त्रण गर्न असफल देखिएका छन् ।

तस्करी र अपराध नियन्त्रण गर्ने भन्दै नेपालगन्जको बालेगाउँमा सशस्त्र प्रहरी बल नेपालको ३० नम्बर गण राखिएको छ । तर सशस्त्र प्रहरी बलका कमाण्डर नै असक्षम र गैर जिम्मेवार भएकाले संगठित तस्करी मौलाउँदै गएको ३० नम्बर गणमा कार्यरत एक प्रहरी अधिकारी बताए ।

‘हाम्रा कमान्डरले नै सेटिङमा ठूला तस्करलाई भन्सार छलेर सीमापारिबाट मालसामान भित्र्याउन दिँदै आएका छन् ।’ उनले नेपाल प्रेससँग भने, ‘सामान्य घरायसी प्रयोजनका लागि ल्याएको समान खोस्न हामीलाई निर्देशन छ ।’

बाँके स्थित सशस्त्र प्रहरी गण तस्करीबाट पैसा कमाउनका लागि निकै मालदार मानिन्छ । राजनीतिक बल प्रयोग गरेर सुर्खेतबाट बाँके आएका एसपी डाँगी तस्करी नियन्त्रणमा असक्षम देखिएपछि सशस्त्र प्रहरी बल प्रधान कार्यालयले एसपी डाँगीलाई सोधपुछका लागि केहिदिन अघि हेडक्वाटर तानिसकेको छ । त्यसअघि बुटवलमा भएको लुम्बिनी प्रदेश स्तरीय सुरक्षा बैठकमा आइजीपी राजु अर्यालले तस्करी नियन्त्रण गर्न किन नसकेको भन्दै एसपी डाँगीलाई प्रश्न गरेका थिए ।

सशस्त्र प्रहरीले छोडेका लाखौँका तस्करीका मालसामान दैनिकजसो बाँके प्रहरीले नेपालगन्ज बजार र सडकबाटै बरामद गर्दै आएको छ । तस्करी रोक्न बाँके जिल्लाको सीमा क्षेत्रभरि ३/३ किलोमिटरको दुरीमा सशस्त्र प्रहरीका १५ वटा विओपी (क्याम्प) राखिएका छन् । तर त्यही बाटो भएर करोडौँ मूल्य पर्ने तस्करीका मालसामान नेपालगन्ज भित्रिन्छ र यसरी भित्रिएको सामान पहाडी, हिमाली जिल्ला लगायत काठमाडौँ सम्म पुग्छ । भारतको लखनउ, बहराइच, रुपइडिहाबाट भन्सार नतिरी तस्करीको मालसामान रोडै रोड पिकअप गाडीका गाडी नेपालगन्ज भित्रन्छ ।

सीमाक्षेत्र रुपइडिया देखि नेपालगन्जसम्म रोडमा मात्र सशस्त्र प्रहरीको ४ ठाउँमा चेकिङ छ । नेपालगन्जका एक हार्डवेयर व्यवसायीले ‘रुपइडिहाबाट सिधै पिकअप भ्यानमा सामान लोड गरेर हाम्रो पसलमा आइपुग्छ । सेटिङ नभएर त कसरी आउँछ सर, सशस्त्र प्रहरीलाई मात्र मिलाएर हुँदैन सबै ठाउँमा मिलाउनु पर्छ ।’

जहाँ तस्करीको मालसामान आएको हुन्छ उसैको घरमा राती पाटी खान एसपी डाँगी पुग्ने गरेको स्रोतले बतायो ।

सशस्त्र प्रहरीको क्याम्पहरू राखिएको क्षेत्रबाटै तस्करी भएर आएको लाखौँ मूल्यका मालसामानहरू जिल्ला प्रहरी कार्यालय बाँकेले धमाधम पक्राउ गरिरहेको छ । जिप्रका बाँकेका अनुसार २०८०र०८१ मा ४ करोड ५५ लाख ४ हजार ६ सय ४३ मूल्य बराबरको तस्करीको मालसामान पक्राउ गरी भन्सार कार्यालयमा बुझाएको छ ।

२०८१ को जेठ महिनामा मात्र १ करोड १७ लाख ३१ हजार ८ सय ९० मूल्यको तस्करीको मालसामान बाँके प्रहरीले बरामद गरेको छ । गत ३ महिनाको तथ्याङ्क हेर्ने हो भने पनि डरलाग्दो तस्करी देखिन्छ ।

बाँके प्रहरीले गत असोज महिनामा ३८ लाख ७८ हजार २ सय को तस्करीको सामान बरामद गरेको छ, कार्तिक महिनामा २० लाख ७५ हजार ६ सय ५० र मंसिर महिनामा ९ लाख ३३ हजार ७ सय ६० मूल्य बराबरको तस्करीको सामान बाँके प्रहरीले पक्राउ गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *