माथिल्लो तामाकोशी र तामाकोशी पाँचौंबारे एमालेले उठायो प्रश्न – Nepal Press

माथिल्लो तामाकोशी र तामाकोशी पाँचौंबारे एमालेले उठायो प्रश्न

चरिकोट । माथिल्लो तामाकोशी, तामाकोशी पाँचौँ लगायतका जलविद्युत आयोजनाबारे एमालेले गम्भीर प्रश्न उठाएको छ । राष्ट्रिय गौरवको आयोजनालाई भ्रष्टाचार, अनियमितताको दलदलमा डुबाएर धराशायी बनाउने षड्यन्त्र भइरहेको भन्दै एमालेले छानबिन गर्न माग गरेको छ ।

हाइड्रोपावरहरूले सार्वजनिक सुनुवाइ समेत नगरी जनतालाई गुमराहमा राखेर प्राकृतिक स्रोतको व्यापक दुरुपयोग गरिरहेको एमालेको आरोप छ ।

एमाले दोलखाको दुई दिनसम्म चलेको बैठकपछि आइतबार आयोजित पत्रकार सम्मेलनमा पूर्वसंचारमन्त्री समेत रहेका पोलिटव्यूरो सदस्य पार्वत गुरुङले माथिल्लो तामाकोशीमा भइरहेको दोहन र भ्रष्टाचारको गहिरो अध्ययन र छानबिन गरिनुपर्ने बताए ।

‘राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत आयोजनालाई धराशायी बनाउन विभिन्न षड्यन्त्रहरू भइरहेको छ, दोहन र भ्रष्टाचारले जनताको सेयर लगानी व्यर्थ भइरहेको छ, त्यसको गम्भीर अध्ययन हुनुपर्दछ, उनले भने ।’

हाइड्रोपावरहरूले सार्वजनिक सुनुवाइ समेत नगरी जनतालाई गुमराहमा राखेर प्राकृतिक स्रोतको व्यापक दुरुपयोग गरिरहेको एमालेको आरोप छ ।

‘दुगड हाइड्रोपावरले तिब्बत नाका खोल्ने सरकारी योजनालाई चुनौती दिँदै बाटो खोल्ने नाममा माथिल्लो तामाकोसीको ड्यामसाइडलाई ठूलो हानी नोक्सानी पुर्‍याइरहेको प्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । राष्ट्रिय गौरवको आयोजना डुबाउने योजना विरुद्ध कारबाही गर्न जोडदार माग गर्दछ, बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।

जिल्लाका सबै हाइड्रोपावर आयोजनाहरूलाई दोलखाली जनताको हितमा सञ्चालन गराउनका लागि अभियान शुरू गर्ने घोषणा पनि एमालेले गरेको छ ।

तामाकोशी पाँचौँको आर्थिक पारदर्शितामाथि पनि एमालेले प्रश्न उठाएको छ । ‘उक्त कम्पनीले पारदर्शी ढंगबाट काम सञ्चालन नगरी कुनै पनि सार्वजनिक सुनुवाइ गरी जनताको जान्न पाउने अधिकार सम्म कुन्ठित गरी एकलौटी ढंगबाट सञ्चालन हुनुलाई हाम्रो पार्टीले गम्भीर रुपमा लिएको छ’, जारी विज्ञप्तिमा उल्लेख छ ।

जनताको स्वामित्व र सेयर सुनिश्चित गरेर स्थानीयबासीलाई रोजगार लगायत अन्य सेवासुविधाहरु प्रदान गर्दै पारदर्शी ढंगले काम अगाडी बढाउन आयोजनालाई एमालेले सचेत गराएको छ ।

एमालेले सम्भाव्यता अध्ययन समेत भई सकेको तामाकोसी तेस्रो जलविद्युत आयोजना हालसम्म सञ्चालन नगरी लाइसेन्स होल्ड गरेर राखिएको भन्दै आयोजना पूर्ण क्षमतामा नै सञ्चालन गर्न र नसके सो कम्पनीको लाइसेन्स रद्द गरी विकल्प खोज्न पनि सरकारसँग माग गरेको छ ।

दोलखाको जिरी नगरपालिका र रामेछापको गोकुलगङ्गा गाउँपालिकास्थित खिम्तीखोलामा ठोसे–शिवालय हाइड्रोपावर निर्माण एवं सञ्चालन गर्न पनि एमालेले ध्यानाकर्षण गराएको छ ।

यस्तै एमालेले भीमेश्वर नगरपालिका–९ स्थित खरिढुङ्गा एशियाकै ठुलो मानिएको म्याग्नेसाइट उद्योग पुनः सञ्चालन गर्न, विगु गाउँपालिकास्थित आलम्पुमा रहेको स्लेट ढुङ्गा खानीलाई उद्योगको अवधारणामा सञ्चालन गर्न, सदरमुकाम चरिकोट र जिरीमा विमानस्थल सञ्चालन गर्न, जिल्लामा प्रस्तावित फिल्मसिटी निर्माण यथाशक्य चाँडो अघि बढाउन पनि माग गरेको छ ।

दोलखा भीमेश्वर, कालिञ्चोक मन्दिर, शैलुङ्ग, विगु तथा लप्ची गुम्वा, पवित्र गौरीशंकर र च्छोरोल्पा हिमताल समेतलाई एकै कोरीडोरमा समेटी धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा विकासका गर्न, जिल्लाको मेलुङ गाउँपालिका–४ स्थित साविक भेडपु गाविसको सम्पूर्ण जग्गा जमिनहरू तत्काल नापी गराउनुका साथै गुठीबाट जनताको नाममा भूमि हस्तान्तरण गरी पुर्जा वितरण अविलम्ब गराउन आग्रह गरेको छ ।

गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले जनताको दैनिक जीविकोपार्जनमा असर पर्ने गरी कार्य गरिरहेको र जनताको समस्याहरूको सुनुवाइ नगरी नागरिकहरु विस्थापित हुने अवस्थामा पुर्‍याइरहेको तर्फ पनि एमालेले ध्यानाकर्षण भएको जनाएको छ ।

एमाले जिल्ला उपाध्यक्ष राजेन्द्र मानन्धरले जिल्लाका जनसरोकार र जनजीविकाका मुद्धा ठोस ढंगले सम्बोधन हुने गरी उठान गरिएको बताए ।


प्रतिक्रिया

2 thoughts on “माथिल्लो तामाकोशी र तामाकोशी पाँचौंबारे एमालेले उठायो प्रश्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *