पर्यटन प्रवर्द्धनमा बन्दीपुरको पाइला- २ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्षको तयारी
काठमाडौं । बन्दीपुर गाउँपालिकाले बन्दीपुर भ्रमण वर्ष मनाउने घोषणा गरेको छ । पहाडकी रानी उपनामले परिचित पर्यटकीय गन्तव्य बन्दीपुर पर्यटन प्रवर्द्धन गर्न कस्सिएको हो ।
पर्यटन प्रवर्द्धनमार्फत बन्दीपुरमा नयाँ पर्यटकीय गन्तव्यको पहिचान गर्न ‘बन्दीपुर भ्रमण वर्ष २०२५’ आयोजना गर्न लागिएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिए । यससँगै समृद्ध एवं सु-संस्कृतयुक्त बन्दीपुरको परिकल्पना र पर्यटक आगमनको सङ्ख्या बढाउन पनि बन्दीपुर भ्रमण वर्ष आयोजना गरिएको उनले जानकारी दिए ।
अध्यक्ष थापाका अनुसार पर्यटकीय गन्तव्यको पहिचान, रोजगारी सृजना तथा आर्थिक गतिविधि थप चलायमान गराउन बन्दीपुर गाउँपालिकाले सन् २०२५ लाई भ्रमण वर्षका रूपमा मनाउन लागेको छ । बन्दीपुरका युवाहरूलाई स्वरोजगारबाट रोजगार सिर्जना गरि त्यही व्यवसाय गर्ने वातावरण निर्माण गर्ने, बन्दीपुरका उत्पादनहरूलाई सोही ठाउँमा उपभोग तथा बिक्री वितरण गर्ने र विदेश पलायन हुनबाट युवालाई रोक्ने पनि भ्रमण वर्षले मद्दत पुर्याउने उनको भनाई छ ।
भ्रमण वर्षलाई सफल पार्न गाउँपालिकाले पर्यटन व्यवसायी बैश गुरुङको संयोजकत्वमा २१ जनाको भ्रमण वर्ष सचिवालय समेत गठन गरिसकेको छ । सचिवालयमा होटल संघ, रेष्टुरेन्ट तथा बार एसोसिएसन (रेवान) पर्यटन विकास समिति, उद्योग वाणिज्य संघ, होमस्टे महासंघलगायतको प्रतिनिधित्व रहेको छ ।
दुई लाख पर्यटक भित्र्याउने लक्ष्य
बन्दीपुर भ्रमण वर्षमा दुई लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । पर्यटकको सङ्ख्यालाई दोब्बर बनाउने योजना सुनाउँदै संयोजक वैश गुरुङले भने, ‘भ्रमण वर्षमार्फत स्वदेश तथा विदेशमा बन्दीपुरको पर्यटन प्रवर्द्धन गरी पर्यटकको सङ्ख्या दोब्बर बनाउने गरी योजना बनाएका छौँ । भ्रमण वर्षमा वार्षिक एक लाख आन्तरिक र एक लाख विदेशी पर्यटक बास बस्ने योजना बनाएका छौँ ।’
भ्रमण वर्षलाई आधार वर्ष मानेर आगामी तीन वर्षमा वार्षिक आठ लाख पर्यटकलाई बन्दीपुर घुमाउने लक्ष्य रहेको समेत उनले सुनाए ।
भ्रमण वर्ष सफल पार्न कूल चार करोड ४३ लाख ५० हजार रुपैयाँ खर्च हुने गाउँपालिकाको अनुमान छ । यो खर्च पर्यटक प्रवर्द्धन, पूर्वाधार निर्माण, पर्यटकीय गतिविधि, तालिमहरू, रैथाने बालीका परिकार बनाउन सिकाउने, आफ्नै उत्पादन गराउन खर्च गरिने उनले जानकारी दिए ।
बन्दीपुर गाउँपालिकाको मुख्य आम्दानी पनि पर्यटन नै हो । विदेशी पर्यटकको दैनिक औसत खर्च ७५ अमेरिकी डलर र नेपाली पर्यटकको औसत खर्च दैनिक तीन हजार रुपैयाँ पुर्याउने समेत लक्ष्य लिएको अध्यक्ष थापाले जानकारी दिए ।
बसाइ लम्ब्याउन पदमार्गको विकास
बसाइ पनि लम्ब्याउनु पर्ने आवश्यक रहेको बताउँदै अध्यक्ष थापाले भने, ‘अहिले बन्दीपुरमा आन्तरिक पर्यटकको बसाई वान नाइट स्टे मात्रै रहेको छ । त्यसलाई तीन दिन पुर्याउने लक्ष्य छ । भ्रमण वर्षमा पर्यटकको औसत बसाइ तीन दिन बनाइनेछ ।’
अहिले विदेशी पर्यटकहरूको बसाइ सरदर एक हप्ता रहेको छ । विदेशी पर्यटकको दैनिक औसत खर्च ७५ अमेरिकी डलर र नेपाली पर्यटकको औसत खर्च दैनिक तीन हजार रुपैयाँ पुर्याइने भ्रमण वर्षको लक्ष्य छ ।
पर्यटकको बसाइ लम्ब्याउनका लागि पर्यटकीय स्थल र पदमार्गको विकास गरिएको छ । बिमलनगर–सिद्धगुफा–गुम्बा–बन्दीपुर, मुग्लिङ–लाब्दि–छिम्केश्वरी–हिलेखर्क–धारगाउँ–बन्दीपुर, बन्दीपुर–रामकोट–रुम्सी–सेरेटार–बन्दीपुर पदमार्ग विकास गरिएको छ । यी सबै पदमार्ग एक दिनको हो । छिम्केश्वरी–मनकामना, गोरखा दरबार–लिपकोट–भानुजन्मस्थान–बन्दीपुर पदमार्गको पनि विकास गरिएको छ । यो पदमार्ग दुई दिनको हो ।
‘आसपासमा पालिकाहरुको पर्यटकीय गन्तव्य र पदमार्गको विकास गरेर पर्यटकको बसाइ लम्ब्याउने हाम्रो रणनीति छ’, उनले भने ।
दैनिक १७ सय पर्यटक राख्ने क्षमता
गुरुङका अनुसार हाल बन्दीपुरमा ७५ होटल छन् । यसबाहेक चार वटा होमस्टे (घरबास)का साथै समग्र गाउँपालिकामा एक सय २० होटल र १२ वटा होमस्टे सञ्चालनमा छन् । जसमा दैनिक एक हजार सात सय जना अट्ने क्षमता छ ।
‘भ्रमण वर्षमार्फत पर्यटकीय सुविधायुक्त होमस्टे सर्किटको प्रवर्द्धन गरिनेछ । विद्यमान पर्यटकीय केन्द्र र उपजहरूका अतिरिक्त कम्तीमा थप पाँच गन्तव्यको पहिचान, विकास र प्रवर्द्धन गरिनेछ’, उनले भने ।
भ्रमण वर्षमार्फत बन्दीपुरको पर्यटन क्षेत्रमा थप रोजगारी र स्वरोजगार सृजना, होटल तथा रेष्टुरेन्टमा थप लगानी बढाउनु साथै बन्दीपुरलाई नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने उनको भनाइ छ ।
उनका अनुसार भ्रमण वर्षमार्फत सांस्कृतिक सम्पदा संरक्षणसहित यामअनुसारको प्याकेज तयार गरिने तयारी छ । सांस्कृतिक, धार्मिक एवं ग्रामीण पर्यटकीय सर्किटको प्रवर्द्धन गरिनेछ । पर्यटकको उमेर र रुचिअनुसारको प्याकेज निर्माण गर्नुका साथै ‘गाउँमै कमाऔँ गाउँमै रमाऔँ’ तथा वातावरणीय संरक्षणका लागि जनसहभागिता पनि बढाइने लक्ष्य रहेको छ ।
बन्दीपुर नै भ्रमण किन ?
बन्दीपुर नै भ्रमण किन गर्ने भन्ने प्रश्नमा सम्पदा नेपालका अध्यक्ष हरिसिं गुरुङ भन्छन्, ‘यो जीवन्त प्राचिन सहर हो । होमस्टेको सर्किटको अनुभव हुन्छ । मनोरम दृश्य, उमेर अनुसारको प्याकेज, प्रकृति र संस्कृतिको खोज अनुसन्धान गर्न, पदमार्गको अनुभव गर्न, भानुभक्तको जन्मस्थल, धार्मिक तथा सांस्कृतिक क्रियाकलापमा सहभागी हुन र रैथाने खानको स्वाद चाख्नलाई पनि एक पटक बन्दीपुर पुग्नै पर्छ ।’
अध्यक्ष गुरुङका अनुसार बन्दीपुर तनहुँ जिल्लाको पुरानो सदरमुकाम पनि हो । विसं २०२५ सालमा सदरमुकाम दमौली सारिए पनि सांस्कृतिक सम्पदा र प्राकृतिक मनोरमताले बन्दीपुर प्रसिद्ध छ । बन्दीपुर दमौलीबाट १८ किलोमिटर माथि पर्छ । दमौलीबाट डुम्रे हुँदै आठ किलोमिटर उकालो यात्रा गरेपछि बन्दीपुर पुगिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरिलगायत हिमशृङ्खला देखिन्छ ।
बन्दीपुरमा आन्तरिक पर्यटकसँगै विदेशी पर्यटकको पनि रोजाइमा पर्छ । बन्दीपुरमा अमेरिका, अष्ट्रेलिया, जापान, इटाली, भारत लगायत देशबाट पर्यटक आउने गरेका छन् । हालसम्म आएका पर्यटक हरू पर्याप्त नभएकाले विश्वभर प्रचार गरे पर्यटकको सङ्ख्या बढाउने तयारी रहेको उनले जानकारी दिए ।
‘बन्दीपुरलाई नेपालमा मात्रै नभएर विश्वमै यसलाई चिनाउन सकिन्छ भन्ने सोचसहित हामी अगाडी बढेका छौँ । बन्दीपुरलाई पर्यटन हिसाबले विश्वभर स्थापित गराउन लागेका छौँ । यससँगै हामीले पर्यटकको रुची अनुसार प्याकेज बढाइरहेका छौँ’, उनले भने ।
विधार्थीहरुलाई छुटसहित घुम्न आकर्षित गर्ने तयारी रहेको समेत उनले जानकारी दिए । ‘हामीले पर्यटकको उमेर अनुसारको प्याकेज तयार पारेका छौँ’, उनले भने, ‘विद्यार्थीहरू भविष्यका पर्यटक हुन्छन् । पर्यटक प्रवर्द्धन गर्ने पनि उनीहरूले नै हो । तर, उनीहरू सधैँ पैसाको हाराकारबाट गुज्रिरहेका हुन्छन् । तसर्थ त्यस्ता विद्यार्थीहरूलाई छुटको पनि व्यवस्था गर्नेछौँ ।’
वि.सं २०६८ सालबाट बन्दीपुरमा सामुदायिक होमस्टेहरूको प्रचलन आएको पाइन्छ । हाल सञ्चालनमा रहेका होमस्टेमा रैथाने उत्पादनको ब्राण्डिङ गराउन लगाइने जानकारी दिँदै उनले अगाडी भने, ‘एक होमस्टेमा एक उत्पादनको नामबाट ब्राण्डिङ गरिनेछ । मानौँ १२ वटा होमस्टे छ भने उनीहरूलाई एक÷एक वटा ब्राण्डिङ गर्न दिइनेछ ।’
पर्यटकको सांग्रिलाकारुपमा बन्दीपुरलाई स्थापित गर्ने कार्य अगाडी बढाइएको समेत उनले जानकारी दिए । बन्दीपुरमा मूर्त एवम् अमूर्त सांस्कृतिक सम्पदाहरू छन् । तिनीहरूको लेखाजोखा राम्रोसँग हुन सकेको छैन । अद्यावधि, अभिलेखीकरण हुन सकेको छैन । तसर्थ सांस्कृतिक सम्पदाहरूको अभिलेखीकरण गर्ने, खोज अध्ययन, अनुसन्धान गर्ने र यसलाई अझ व्यवसाय बनाउन जुटेका छौँ’, अध्यक्ष गुरुङले भने ।
भ्रमण वर्ष अन्तर्गत बन्दीपुर क्षेत्रको पर्यटकीय आकर्षणमा सुधार, मौलिक सडक बत्तीहरू राखिने, पर्यटन व्यवसायमा सुधार, पर्यटन उद्योगहरूको विस्तृत अध्ययन र तथ्याङ्क सङ्कलन गरिने, स्थानीय उत्पादनहरूलाई प्रवर्द्धन गर्ने र उनीहरूको बजार व्यवस्थापन गर्ने तयारी रहेको समेत उनले जानकारी दिए ।
‘भ्रमण वर्षको सन्देशसहित कौरा नृत्यको भव्य प्रदर्शन गरिनेछ । नेपालमै आजसम्म ननाचेको ठूलो सङ्ख्यामा बन्दीपुरको टुँडिखेलमा नचाउने योजना रहेको छ’, अध्यक्ष गुरुङले भने ।
भ्रमण वर्षको अवसरमा जुनसुकै जातजाति, भाषभाषीको संरक्षण र विकास गर्नका लागि अक्षय कोष स्थापना गरिने तयारी रहेको समेत उनले जानकारी दिए ।
प्राचिन नेवारी सम्पदा संरक्षित क्षेत्रकोरुपमा पनि बन्दीपुर परिचित छ । बन्दिपुर साहसिक खेलहरू प्याराग्लाइडिङ, रक क्लाइम्विङ, र्याफ्टिङ र ट्रेकिङ ट्रेल तथा रुटहरू रहेका छन् ।