अनिवार्य अवकाशमा गएका ४ एआईजी र २ डीआईजीको बिदाई – Nepal Press

अनिवार्य अवकाशमा गएका ४ एआईजी र २ डीआईजीको बिदाई

काठमाडौं । प्रहरी सेवाबाट अनिवार्य अवकाश पाएका ४ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र २ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)सहित ६ जनाको औपचारिक बिदाई भएको छ ।

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले एआईजी किरण बज्राचार्य, भिमप्रसाद ढकाल, केदार ढकाल र भरतबहादुर बोहरा तथा डीआईजी विकासराज खनाल र डा.देउती गुरूङलाई मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच बिदाइ गरेका हुन् ।

बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले संगठनले सुम्पिएका हरेक जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी अवकाश पाएका वरिष्ठ प्रहरी अधिकृतको व्यावसायिकता, संगठन प्रतिको निष्ठा, बहुआयामिक प्रतिभा, लगनशीलता, नैतिकता र इमानदारीताको उच्च प्रशंसा गरे ।

त्यसै अवसरमा प्रहरी महानिरीक्षक कुँवरले अवकाशमा गएका एआईजी र डीआईजीलाई मायाको चिनो प्रदान गरेका थिए ।

कार्यक्रममा अनिवार्य अवकाशमा गएका एआईजी तथा डीआईजीले आ–आफ्नो सेवा अवधिमा गरेका विभिन्न कामको स्मरण गर्दै अनुभव सहितको आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

सेवा अवधिभर संगठनले सुम्पिएको जिम्मेवारीमा केन्द्रीत भई काम गरेको उल्लेख गर्दै आगामी दिनमा समेत संगठनलाई रचनात्मक सहयोग गर्न आफूहरू तयार रहेको उनीहरुको भनाई थियो ।

विसं २०५१ चैत ५ मा प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेकी एआईजी किरण बज्राचार्य पुस १६ मा, विसं २०५२ भदौ १९ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका भिमप्रसाद ढकाल मंसिर २८ मा, विसं २०५१ चैत ५ मा प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका केदार ढकाल मंसिर २२ मा र २०५१ बैच ५ मै प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवा प्रवेश गरेका भरतबहादुर बोहरा पुस १४ मा ५६ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा गएका हुन् ।

साथै विसं २०५१ चैत ५ मा प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका डीआईजी विकासराज खनाल ५६ वर्षे उमेर हदका कारण वैशाख ७ मा र विसं २०५१ पुस १५ मा प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका डीआईजी डादेउती गुरूङ ३० वर्षे सेवा अवधिका कारण पुस १५ मा अनिवार्य अवकाशमा गएका हुन् । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक एवम् वरिष्ठ प्रहरी अधिकृतको उपस्थिति रहेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *