भीम रावलको ‘गैरकम्युनिष्ट’ यात्रा: रहर कि बाध्यता !
के वर्तमान राजनीतिक परिस्थितिले रावललाई गैरकम्युनिष्ट कित्तामा धकेल्दै गरेको हो ?
अहिले नेपाली राजनीतिक बजार अलि तातेको छ । पार्टीको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा पराजित भएपछि ‘राष्ट्रवादी’ नेताको छवि बनाएका भीम रावललाई गत पुस १० गते नेकपा एमालेले संगठित सदस्यसमेत नरहने गरी निष्कासन गर्यो । एमालेबाट कारबाही भएपछि उनको ‘भविष्यको यात्रा’ कस्तो हुन्छ भन्ने प्रश्नले बजार लिएको छ । त्यसैमाथि उनले बुधबार पत्रकार सम्मेलनमार्फत आफ्ना धारणा सार्वजनिक गर्ने भनेका छन् । जसले गर्दा राजनीतिक वृत्तमा रावलको पत्रकार सम्मेलन कौतुहलको विषय बनेको छ ।
रावलले उक्त पत्रकार सम्मेलनमा एमालेको, अझ विशेषगरी केपी शर्मा ओलीको बद्ख्वाइँ त गर्ने नै छन् । साथै भरसक नयाँ पार्टी नै घोषणा गर्ने अड्कल गरिएको छ । त्यो सम्भव भएनछ भने उनले नयाँ पार्टीको आउटलाइनसम्म सार्वजनिक गर्ने सम्भावना रहेको चर्चा छ । पछिल्लो समय सञ्चारमाध्यममा आएका खबरअनुसार अब रावलले ‘कम्युनिष्ट’ पार्टी बनाउने छैनन् । उनले ‘गैरकम्युनिष्ट’ पार्टी बनाउने संकेत गरेका छन् । झण्डै पाँच दशकदेखि कम्युनिष्ट राजनीतिमा सक्रिय रहेको दाबी गर्दै आएका रावलका लागि जीवनको उत्तरार्द्धमा गैरकम्युनिष्ट राजनीतिक यात्रा कति सहज होला ? त्यो त भविष्यले नै बताउला, तर अहिलेको प्रश्न ‘गैरकम्युनिष्ट’ यात्रामा जानु उनको लागि रहर हो कि बाध्यता भन्नेबारे चर्चा केन्द्रित छ ।
कम्युनिष्टबाट गैरकम्युनिष्ट राजनीतिमा जम्प मार्ने भीम रावल पहिलो व्यक्ति भने होइनन् । नेपाली कम्युनिष्ट इतिहासमा यो यात्रा २०१७ सालदेखि नै प्रारम्भ भएको पढ्न पाइन्छ । नेपाल कम्युनिष्ट पार्टीका तत्कालीन महासचिव केशरजंग रायमाझीबाटै यो बाटो तय भएको थियो । तत्कालीन राजा महेन्द्रले गरेको पुस १ गतेको ‘कु’ लाई हेर्ने दृष्टिकोणमा मतभिन्नता भएपछि केशरजंग रायमाझीले दरबारलाई सहयोग गरे । पछि उनलाई ‘दरवारको कम्युनिष्ट’ भन्ने आरोपसमेत लाग्यो । उनी २०४६ सालको आन्दोलनपछि बनेको अन्तरिम सरकारमा मन्त्री भए र पछि राजसभा स्थायी समितिका सदस्यसमेत रहे ।
कम्युनिष्टबाट गैरकम्युनिष्ट राजनीतिमा जम्प मार्ने भीम रावल पहिलो व्यक्ति भने होइनन् । नेपाली कम्युनिष्ट इतिहासमा यो यात्रा २०१७ सालदेखि नै प्रारम्भ भएको पढ्न पाइन्छ । नेपाल कम्युनिष्ट पार्टीका तत्कालीन महासचिव केशरजंग रायमाझीबाटै यो बाटो तय भएको थियो ।
२०२८ सालको झापा विद्रोहदेखि नै नेपाली वामपन्थी राजनीतिको केन्द्र भागमै रहेका राधाकृष्ण मैनाली (आरके) र देवीप्रसाद ओझाले २०५९ साल असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्रको शाही ‘कु’ लाई समर्थन गर्न पुगे र मन्त्री भए । कुनै बेला ‘उग्र कम्युनिष्ट’ को रुपमा आफ्नो पहिचान बनाएका अर्का कम्युनिष्ट नेता गोरेबहादुर खपाङ्गीको राजनीतिक यात्रा पनि अन्ततः ‘महाराज’ को कृपाबाट मन्त्री पदसम्म पुग्यो । चर्चामा रहेका यी र यस्ता कम्युनिष्ट नेताहरु जसले गैरकम्युनिष्ट बाटो अँगाले, उनीहरु कृपाबाट राजकीय पदमा त पुगे, तर जनतासँगको सम्बन्धका हिसाबले गैरकम्युनिष्ट राजनीति खासै फलिफाप भएन । राजनीतिक रुपमा उनीहरु गुमनाम नै भए ।
पछिल्लो समय गैरकम्युनिष्ट अभ्यासमा लागेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई हाल गुमनामै त भएका छैनन्, तर उनको गैरकम्युनिष्ट यात्रा पनि फलिफाप हुने देखिएको छैन । १० वर्षे सशस्त्र संघर्षका क्रममा विभिन्न उपनामका साथ आफ्नो छुट्टै पहिचान बनाएका भट्टराई कम्युनिष्ट आन्दोलनबाटै देशको कार्यकारी प्रमुख हुन सफल भए, तर पछि उनले कम्युनिष्ट राजनीति छाडेर गैरकम्युनिष्ट बाटो रोजे । उनको त्यो गैरकम्युनिष्ट यात्रा फलामे च्यूरा सावित भएको छ । उनकै धर्मपत्नी हिसिला यमीको हविगत पनि उस्तै छ ।
माथि उल्लेख भएका वा नभएका अरु केही पात्र र नेपालको कम्युनिष्ट आन्दोलनको विषयमा राम्रो ज्ञान भएका भीम रावल पनि गैरकम्युनिष्टकै बाटोमा जाने तयारी गर्दैछन् । आफ्नो जीवनको करिब दुई तिहाइ हिस्सा मुट्ठी उठाउँदै लाल सलाम दिन र लिनमा व्यतित गरेका रावलले अब अभिवादनको नयाँ शब्द र संकेतमा अभ्यास गर्नेछन् । के उनको गैरकम्युनिष्ट राजनीतिक यात्रा सफल होला !
उनी कम्युनिष्ट दर्शनबाट वाक्कदिक्क भएर पक्कै पनि यो बाटो समात्दै छैनन् होला ! उनी कम्युनिष्ट दर्शनले समाज परिवर्तन हुन सक्दैन भन्ने टुङ्गोमा पुगिसकेका पनि हैनन् होला ! किनकि उनले कम्युनिष्ट दर्शनको अध्ययनमात्रै होइन, विश्लेषण पनि गरेका छन् । दुर्गम बस्तीका जनतालाई समाजवादको स्वर्णिम सपना देखाउँदै आधा शताब्दीसम्म त्यही दर्शन पढ्दै र पढाउँदै आएका छन् । वर्षौंदेखि अरुलाई पढाउँदै आएको दर्शन रावलले एकाएक छोड्लान् र ! प्रश्न स्वाभाविक रुपले उठ्छ । के वर्तमान राजनीतिक परिस्थितिले रावललाई गैरकम्युनिष्ट कित्तामा धकेल्दै गरेको हो ? नभए उनका बाध्यता पनि छन् होला । त्यसका केही कारणहरु पनि छन्ः
अमेरिका-नेपालबीच भएको एमसीसी सम्झौताको विरुद्धमा न्वारनदेखिको तागत लगाएर उनले गरेको भाषणका कारण उनलाई ‘राष्ट्रवादी’ नेता मान्नेहरुको जमात तयार भएको छ । त्यो जमातमा कम्युनिष्ट विचार राख्नेहरुभन्दा गैरकम्युनिष्ट विचार राख्नेको संख्या धेरै छ ।
१. कम्युनिष्ट नेताहरुप्रतिको जनअसन्तुष्टि
पछिल्लो समयमा सामाजिक सञ्जाल वा सार्वजनिक समारोहमा आफूलाई ‘कम्युनिष्ट’ दाबी गर्ने शीर्ष नेताहरुप्रति जनअसन्तुष्टि बढेको छ । एकातिर कम्युनिष्ट नामका नाङ्ले पसलहरु बढ्दै जानु, अर्कोतिर ती पसलेहरुको बानी व्यवहारप्रति जनता असन्तुष्ट बन्दै जानुले भीम रावल तर्सेका हुन सक्छन् । राजनीतिमा ‘बाठा पात्र’ मानिने रावललाई पनि कम्युनिष्ट नामको पुच्छर जोड्दै अगाडि बढेमा आफूलाई ‘राष्ट्रवादी’ ठान्नेहरुले सहयोग गर्दैनन् कि भन्ने भय भएको पनि हुनसक्छ ।
२. साइत चुकेको बेला
भीम रावलका लागि कम्युनिष्ट नामधारी पार्टी गठन गर्ने यो उत्तम साइत होइन । उनले त्यो साइत चुकाएका छन् । यो वा त्यो कोणबाट लामो समयदेखि नेपाली राजनीतिको केन्द्र भागमै रहेका रावल २०७७ साल फागुन २३ गतेको सर्वोच्च अदालतले नेकपा टुक्र्याइदिएयता कमजोर हुँदै गएका छन् । अदालतले एमाले र माओवादी केन्द्रलाई आआफ्नै बाटोमा फर्कन आदेश गर्दासम्म पनि भीम रावल ‘हिरो’ जस्तै देखिएका थिए ।
एमालेभित्र मच्चिएको कोलाहलको क्रममा पनि उनी अग्र स्थानमै थिए । त्यो समय उनका लागि नयाँ पार्टी स्थापना गर्ने वा एमालेसँग सम्बन्ध बिच्छेद गर्ने उत्तम साइत थियो, तर उनले आफैसँग सम्झौता गरेर एमालेमै बसे । त्यसैबेलाबाट उनी कमजोर बन्दै गए । न उनले एमाले त्याग्न सके न त आफूलाई एमाले बनाउन सके । एमाले हुँ भन्दै एमालेलाई नै सराप्दै गए । उनको अनिर्णयले उनका कार्यकर्ताहरु कोही एमालेमै सोझिए, कोही एकीकृत समाजवादी वा माओवादीको यात्रामा निस्किए । अब रावललाई साथ दिने कम्युनिष्ट कार्यकर्ताको संख्या ज्यादै थोरै छ । त्यसैले उनका लागि यो गैरकम्युनिष्ट यात्रा बाध्यकारी बनेको हुनसक्छ ।
‘कम्युनिष्ट’ मात्रै भन्ने हो भने फेरि नाङ्लो भर्न सक्दैन कि भन्ने आफैंमाथि शंका छ उनलाई । त्यसैले उनी गैरकम्युनिष्ट नाम अगाडि सार्दैछन् होला । एउटै स्थलमा राम-रहिम दुवै भेटिने भएपछि त भक्तजनहरु आउँछन् कि भन्ने आश उनलाई होला ।
३. गैरकम्युनिष्टहरुले साथ दिने आश
अमेरिका-नेपालबीच भएको एमसीसी सम्झौताको विरुद्धमा न्वारनदेखिको तागत लगाएर उनले गरेको भाषणका कारण उनलाई ‘राष्ट्रवादी’ नेता मान्नेहरुको जमात तयार भएको छ । त्यो जमातमा कम्युनिष्ट विचार राख्नेहरुभन्दा गैरकम्युनिष्ट विचार राख्नेको संख्या धेरै छ । यद्यपि उनीहरु कम्युनिष्ट होऊन् वा गैरकम्युनिष्ट, कुनै न कुनै दलसँग आवद्ध छन् । रावलले पार्टी खोल्दैमा उनीहरु रावलकै पछाडि लामबद्ध भइहाल्छन् भन्ने कुराको कुनै ग्यारेन्टी छैन, तर रावललाई कम्युनिष्ट/गैरकम्युनिष्ट सबै अट्नसक्ने साझा चौतारी बनाउन सके आफू स्थापित भइहाल्छु कि भन्ने आश भएको हुनसक्छ ।
४. आफैंप्रतिको शंका
अरुले आफ्नो आलोचना गरेको सहनै नसक्ने र आत्मालोचना गर्नै नचाहने शीर्ष कम्युनिष्ट नेताहरुमध्ये रावल पनि अग्र स्थानमै आउँछन् । विरोधीलाई कसरी ‘साइड’ लगाउने भन्ने सवालमा केपी ओली र रावलमा धेरै भए १९-२० को फरक होला । फरक यति हो कि अहिले ओलीको हात माथि पर्यो, रावललाई निष्कासनसम्म गरियो । ‘रावलले मेरो राजनीति समाप्त गरे’ भन्दै आँशु झार्ने धेरै कम्युनिष्ट कार्यकर्ताहरु सुदूरपश्चिममा अहिले पनि छन् ।
कम्युनिष्ट घटकमा यताउता भइरहने नेता कार्यकर्ताहरुलाई उनको यो ‘निरंकुश’ शैलीको राम्रो ज्ञान छ । आफ्नो शैलीप्रति परिचित कम्युनिष्टहरुले जम्काभेटमा ‘नाईं’ भन्न नसके पनि साथ दिने छैनन् भन्ने थाहा छ उनलाई । फेरि नेपालीको बानी हो कि बलेको आगोमात्रै ताप्छन् । रावल भर्खर आगो बाल्न खोज्दैछन् । ‘कम्युनिष्ट’ मात्रै भन्ने हो भने फेरि नाङ्लो भर्न सक्दैन कि भन्ने आफैंमाथि शंका छ उनलाई । त्यसैले उनी गैरकम्युनिष्ट नाम अगाडि सार्दैछन् होला । एउटै स्थलमा राम-रहिम दुवै भेटिने भएपछि त भक्तजनहरु आउँछन् कि भन्ने आश उनलाई होला ।
खैर ! जेसुकै होस्, एमालेले पार्टीलाई भीम रावल चाहिँदैन भनेर औपचारिक घोषणा गरिसकेपछि एक सचेत राजनीतिक व्यक्तिले आफ्नो यात्राको निरन्तरताका लागि पनि नयाँ प्लेटफर्म बनाउन आवश्यक नै हुन्छ र कम्युनिष्ट नाममात्रै जोडेका अहिलेका दलहरुभन्दा गैरकम्युनिष्ट नाम धारण गर्दा कुनै समस्या छैन भन्ने कुरा कमरेड रावलले राम्रैसँग बुझेका होलान् !
एकदमै राम्रो लेख छ
भिमबहादूर रावललाई अरुले बोकेका छन्। सत्तोसरापमा एक नम्बर नै छन्अ। आफूलाई अतिनै जान्ने सुन्ने ठान्छन्। यिनको अभियान वामदेव गौतमको जस्तै हुने पक्का छ। यस्ताहरु अरुलाई छोडेर मौका पर्दा अन्तै लाग्छन्। भिम बहादूर र घनश्याम भुसालले हिजोआज एमाले र उक्त पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई गाली गर्ने बाहेक अरु जानेका छैनन्।
झिंगोको श्रापले डिंगो मर्दैन्
खराब भाष्यको जगमा खराब पात्र अघि लगाएर देश बन्दैन्।
भीमबहादुर रावलले कम्न्युनिष्ट आन्दोलन कमजोर बनाउने नियतका साथ पहिले दशौं महाधिवेशनमा नेकपा एमालेभित्र केपी ओलीसँग अध्यक्षका लागि प्रतिस्पर्धा गरेका रहेछन् भन्ने कुरो अहिले आएर पुष्टी हुँदैछ। एमालेलाई बदनाम गराएर कमजोर नबनाउँदासम्म एकातिर नेपालको कम्न्युनिष्ट आन्दोलन कमजोर बन्दैन भने अर्कातिर आफ्नो प्रभाव बढाउन सकिन्न भन्न बुझेको बाह्य शक्तिले गएको डेढ दशकमा अशोक राई, वामदेव-माधव-झलनाथदेखि लिएर रावल-भुसाहरूलाई प्रयोग गरेको थियो। प्रचण्डको प्रयोग त खुला रूपमा तीन दशकदेखि भइरहेको कतै लुकेको छैन्। यतिले पनि नपुगेर हिजोआज बहर (बालेन+हर्कं+रवि)हरूलाई ‘आए आँप गए झटारो’को रूपमा प्रयोग गरिरहेका छन्। एमालेविरूद्धको खराब भाष्यको व्यापकताको रहस्य पनि यही हो।
रावलको मिसन भनेको कम्युनिष्ट गैरकम्युनिष्ट नै होईन । यिनको एकमात्र मिसन विदेशीको निर्देशनमा एमाले र ओलि कमजोर बनाउने हो । यिनका राष्ट्रियताका चर्का कुरा नक्कलि हुन् । असली रूप चाहिँ विदेशीको दलाल बनेर एमाले विरूद्व लाग्ने हो । माधवहरूलाई एस खोल्न उकास्ने, विधान बनाईदिने नै भिम रावल हो । यिनी त्योबेलादेखि ओलि विरूद्व लागे जब ओलिले चुच्चे नक्सा निकाले । प्रचण्ड, माधव, वामदेव र भिम रावलका मालिक एउटै हुन् ।