बैंकरलाई उद्योगमन्त्रीको प्रश्न- बैंकहरूले लगानी किन बढाउन सकेनन् ? (भिडिओ) – Nepal Press

बैंकरलाई उद्योगमन्त्रीको प्रश्न- बैंकहरूले लगानी किन बढाउन सकेनन् ? (भिडिओ)

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बैंकहरूले लगानी बढाउन नसक्नुको कारण बैंकरहरूले स्पष्ट पार्नुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजना गरिएको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को पाँचौँ वार्षिक साधारणासभा कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

मन्त्री भण्डारीले भने, ‘आजको दिनमा बैंकहरूमा लगानीयोग्य रकम थुप्रिएको छ । बैंकहरूले लगानी गर्न किन सकिरहेका छैनन् ? कि सरकारले लिइरहेकै छ, किन जोखिम लिनुपर्‍यो भनेर लगानी नगरिएको हो ?’

घरजग्गामा मात्रै ऋण दिने गरिएकोले क्षमता भएकाहरूलाई बैंकले ऋण नदिएकोमा मन्त्री भण्डारीले आपत्ति जनाए । जनता मारमै रहने तर बैंकहरू मोटाउँदै जान नहुने उनको तर्क छ ।

‘सरकारले कहाँबाट बाजा बजाउँछ र आफूहरू नाफा कमाउँ भन्नेमा निजी र वित्तीय क्षेत्र छन्’, उनले भने, ‘हामी सम्भावनालाई छोड्दै गइरहेका छौं । कृषि क्षेत्रमा बैंकहरूको लगानी कति छ ? उद्योगमा लगानी कति छ ? ‘

अर्थतन्त्रमा आएको शिथिलतालाई कसरी सुधार गर्न सकिन्छ भन्ने मुख्य कुरा रहेकाले एक अर्काको टाउको देखाएर पन्छिने काम गर्न नहुने भण्डारीले बताए ।

अहिलेका चुनौतीहरूलाई समाधान गर्नका लागि यो सरकार बनेको समेत उनले दाबी गरे । अहिले सबै पालिकामा वित्तीय संथा पुगेकोले सबै सर्वसाधारणले सेवा लिइरहेको समेत उनको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर