सुस्मिता हत्यामा आशंका गरिएका देवबहादुर मृत फेलाः प्रहरीलाई दुई पटक झुक्याए, तेस्रो पटकमा आत्महत्या गरे – Nepal Press

सुस्मिता हत्यामा आशंका गरिएका देवबहादुर मृत फेलाः प्रहरीलाई दुई पटक झुक्याए, तेस्रो पटकमा आत्महत्या गरे

काठमाडौं । बिहीबार गौशाला पिंगलास्थानमा मृत फेला परेकी २१ वर्षीया सुस्मिता खड्काको हत्यामा आशंका गरिएका २३ वर्षीय देवबहादुर थापा शनिबार ओखलढुंगामा मृत फेला परेका छन् ।

सोमबार गौशाला पिंगलास्थानस्थित होटल बागमतीको कोठा नम्बर ३०८ मा थापासँगै गएकी सुस्मिता दुई दिनपछि मृत फेला परेकी थिइन् । थापाले होटलको कोठामा बाहिरबाट चुकुल लगाई उनको मोबाइलसमेत आफ्नै साथमा लगेका कारण हत्यामा उनको संलग्नताको अनुमान गरिँदै आएको थियो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनको मोबाइल लोकेशन ट्रेस गर्दा उनी ओखलढुंगामा देखिएका थिए । काठमाडौंबाट बिहीबार नै अनुसन्धान टोली ओखलढुंगाको सुनकोशी गाउँपालिकाको हर्कपुरस्थित उनको पुर्ख्यौली पुग्यो, तर उनी सम्पर्कमा आएनन् ।

अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार काठमाडौंबाट गएको टोलीले शुक्रबार दिउँसोसम्म उनलाई फेला पारेन । टोली काठमाडौं फर्कियो ।

लगत्तै जिल्ला प्रहरी कार्यालयको टोलीले उनी हर्कपुरस्थित घरमै रहेको सूचना पाएपछि शुक्रबार अपराह्न प्रहरी त्यहाँ पुग्यो । थापा प्रहरी पुग्नुअघि नै घरबाट भागे ।

शनिबार स्थानीय सामुदायिक विद्यालयमा सञ्चालित एक परीक्षाको ड्युटीमा खटिएको प्रहरी टोलीलाई थापा फेरि हर्कपुरमा देखिएको सूचना पुग्यो । परीक्षा ड्युटीमा दुई प्रहरी खटाएर अरु प्रहरी थापालाई पक्राउ गर्न उनको घरतर्फ लाग्यो, तर थापा चाहिँ सुनकोशी गाउँपालिका–३ देवीस्थान, सिस्नेरीस्थित जंगलतिर भागे । प्रहरी उनको घर पुग्दा थापा देवीस्थानको जंगल पुगिसकेका थिए । प्रहरी सिस्नेरीको जंगलमा पुग्दा थापाले घाँटीमा पासो लगाई आत्महत्या गरिसकेका थिए ।

अहिले उनको शव जिल्ला अस्पतालमा पोष्टमार्टमका निम्ति लगिएको जिल्ला प्रहरी प्रमुख डीएसपी कृष्ण खड्काले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *