उपचारमा समस्या भोगिरहेका बैतडीका रोशन धामीलाई आर्थिक सहयोग जुट्दै – Nepal Press

उपचारमा समस्या भोगिरहेका बैतडीका रोशन धामीलाई आर्थिक सहयोग जुट्दै

काठमाडौं । कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भोगिरहेका बैतडीका रोशन धामीलाई सहयोग जुट्न थालेको छ ।

टाउकोको अप्रेसनप्रश्चात अहिले काठमाडौंको वीर अस्पतालमा रहेका धामीको उपचारका लागि देशविदेशमा रहेका नेपालीहरुले सहयोग गरिरहेका छन् ।

अहिलेसम्म करिब ५५ हजार रुपैयाँ संकलन भइसकेको रोशनकी आमा पार्वती धामीले बताएकी छन् । सहयोग आउने क्रम जारी रहेको उनको भनाइ छ ।

शनिबार दिउँसो साढे १२ बजेसम्म आएको ४० हजार रुपैयाँ फार्मेसीमा जम्मा गरेको उनले बताइन् । पुस ४ गते रोशनको टाउकोको अप्रेसन भएको थियो ।

उपचारमा आर्थिक अभाव भएको र डिस्चार्ज भएर घर जानसमेत आर्थिक समस्या भएकोबारे नेपाल प्रेसमा समाचार छापिएको थियो । त्यसपछि सहयोग संकलन सुरु भएको छ ।

‘२० हजारमा खेत बन्दगी राखेर अस्पतालसम्म आइपुग्यौं । ऋण गरेर अप्रेसन भयो । फार्मेसीबाट औषधि पनि उधारो नै चलाइरहेका थियौं । अहिले सहयोग जुट्न थालेपछि धेरै राहत भएको छ । घर जाने आश पलाएको छ’, पार्वतीले भनिन् ।

चिकित्सकहरुका अनुसार रोशन अझै कम्तीमा ४ दिन अस्पतालमै रहने उनले बताएकी छन् ।

‘मेडिकलमा मंगलबारसम्म १ लाख २ हजार पुगेको भन्नुभएको थियो । त्यसपछि हिसाब मागेको छैन । दाताहरुबाट उठेको ४० हजार रुपैयाँ आज त्यहाँ बुझाएका छौं’, उनले भनिन् ।

समाचार छापिएपछि स्वास्थ्यमन्त्री प्रदीप पौडेलको सचिवालयले पनि बिरामीको अवस्था र अस्पतालमा लाग्ने खर्चको विषयमा चासो राखेको थियो ।

यस्तै अस्पतालका निर्देशक सन्तोष पौडेलले पनि समाचार आएपछि चासो राखेका थिए । उनले भनेका छन्, ‘छुट सुविधामा शल्यक्रिया सेवा दिएका थियौं । पैसाको अभावले वीरमा कसैको उपचार रोकिएको छैन र भविष्यमा पनि रोकिने छैन । निज बिरामीको वीरमा सेवा शुल्क बुझाउन बाँकी छैन ।’

पार्वतीले पनि अस्पतालमा अहिले बुझाउन बाँकी नरहेको, तर बाहिर मेडिकलमा औषधिको पैसा तिर्न समस्या भएको बताइन् । उनले भनिन्, ‘अप्रेसनको बेला ३५ हजार भन्नुभएको थियो । पछि ५० प्रतिशत छुटमा गराउनुभयो । अनि आईसीयूमा १० हजार तिरे । अन्य केही रगत परीक्षणका लागि खर्च भएको थियो, तर अहिले अस्पतालबाट केही पनि भन्नुभएको छैन पैसाका लागि ।’

घर जान एक जनाको टिकट नै ४ हजार ५०० रुपैयाँ पर्ने अवस्था र मेडिकलमा पनि लाख रुपैयाँ पुगेपछि आफू आत्तिएको उनको भनाइ छ । काठमाडौं आउँदा २० हजारमा खेत बन्दगी राख्नुपरेको यथार्थ सम्झिँदै उनले फेरि पनि मेडिकलको बाँकी रहेको पैसा र आफन्तको ऋण कसरी तिर्ने भन्ने चिन्ता भएको बताइन् ।

यस्तै डिलासैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले पनि फोन गरेर बिरामीको अवस्था र अपुग रकमको बारेमा जानकारी लिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *