पाको उमेरका सबैलाई माया र स्नेह दिनुपर्छ : प्रदेश प्रमुख मियाँ – Nepal Press

पाको उमेरका सबैलाई माया र स्नेह दिनुपर्छ : प्रदेश प्रमुख मियाँ

कैलाली । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले पाको उमेर समूहका व्यक्तिहरूलाई सबैभन्दा धेरै माया र स्नेह दिनु पर्ने बताएका छन् ।

कञ्चनपुरको बेदकोट नगरपालिकामा रहेको बैजनाथ धाम तथा वृद्धाश्रम सेवा समितिको १६ औँ साधारण सभामा प्रदेश प्रमुखले उमेरभर सन्तानको लागि खर्चेका बुवा आमालाई सन्तानले बुढेसकालमा माया र सम्मान गर्नुपर्ने बताएका थिए ।

‘उमेर हुँदासम्म बुवा आमाहरूले आफ्नो सन्तानको लागि निकै दुख कष्ट गरेर सङ्घर्ष गरेर सब थोक गरिरहेका हुन्छन् ती बुवा आमालाई बुढेसकालमा छोराछोरी खुसी दिनु दाइत्व र जिम्मेवारी हो’ प्रदेश प्रमुख मियाँले भने ।

उनले आफ्ना सन्तानलाई अभिभावकहरूले विदेश तर्फ जोड दिनुभन्दा स्वदेशमै केही गर्नु पर्छ भन्ने तर्फ लगाउनु पर्ने समेत बताएका थिए ।
‘अहिले मेरो छोरो विदेशमा छ भन्दै उत्साहित हुने अवस्था छैन । आफ्ना छोराछोरी आफैसँग हुनु नै सबैभन्दा ठुलो कुरा हो’ प्रदेश प्रमुख मियाँले भने ‘अब विदेश पठाउने योजना भन्दा पनि स्वदेशमै केही गर्ने योजना सबै अभिभावकहरूले बनाउनु पर्छ ।’

सुदूरपश्चिमका पूर्व सामाजिक विकास मन्त्री लालबहादुर खड्का अध्यक्ष रहेको उक्त वृद्धाश्रम विसं २०६५ मा एक जना वृद्ध राखेर सञ्चालनमा आएको थियो तर, अहिले दुई दर्जनको हाराहारीमा आश्रित छन् । आफूले निस्वार्थ भावनाले सुरु गरेको अभियानमा अहिले थुप्रै सहयोगीहरू जोडिएको भन्दै पूर्व मन्त्री खड्काले सबैलाई धन्यवाद दिएका थिए ।

कार्यक्रमका वक्ताहरूले वृद्धाश्रम सेवा समितिले निकै ठुलो परोपकारी काम गरेको बताएका थिए । वडाध्यक्ष, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति प्रमुख लगायतले पनि पाको उमेर समूहका व्यक्तिहरूलाई सबैले माया र स्नेह दिनुपर्नेमा जोड दिएका थिए । उनीहरूले वृद्धाश्रम तिरस्कारबाट नभई पाका उमेरका व्यक्तिहरूको भेटघाट हुने थालेका रूपमा बुझ्नु पर्ने बताएका थिए ।

साधारण सभामा सुरुबाटै वृद्धाश्रम निर्माणमा सहयोग गर्ने व्यक्तिलाई सम्मान गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *