वाइफाइ बन्द गर्न भनेकै निहुँमा नाति-नातिनीले हजुरबुवाको हत्या गरेपछि… – Nepal Press

वाइफाइ बन्द गर्न भनेकै निहुँमा नाति-नातिनीले हजुरबुवाको हत्या गरेपछि…

जनकपुरधाम । पर्साको पोखरिया नगरपालिका- ८ जगतपुरमा वाइफाइ बन्द गर्न भनेकै निहुँमा नाति-नातिनीले मिलेर हजुरबुवाको हत्या गरेको घटना सार्वजनिक भएको छ ।

स्थानीय ८० वर्षीय वृद्ध रामजान देवानले सुत्ने बेलामा सोमबार राति वाइफाइ बन्द गरिदिन नाति-नातिनीलाई भनेका थिए, तर नाति १८ वर्षीय काबुल देवान र नातिनी २० वर्षीया खुश्वु देवान मिलेर वाइफाइ बन्द नगरी हजुरबुवा रामजानकै हत्या गरे ।

वाइफाइ बन्द गर्न नमानेपछि रामजान नाति-नातिनीमाथि कराएका थिए । त्यसपछि नाति-नातिनी दुबैले मिलेर हजुरबुवा रामजानलाई बेहोस हुनेगरी कुटपिट गरेका थिए । अवस्था गम्भीर भएपछि उपचारका लागि अस्पताल लगिए पनि उनको मृत्यु भएको पर्सा प्रहरीले बताएको छ ।

पर्सा प्रहरीका प्रवक्ता डीएसपी किशोर लम्सालले कुटपिटबाट घाइते रामजानको न्यूरो अस्पताल वीरगञ्जमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको जानकारी दिए ।

कुटपिट गरेको आरोपमा मृतक रामजानका नाति र नातिनीलाई वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले नियन्त्रणमा लिएको छ । उनीहरुमाथि थप अनुसन्धान तथा कारबाही अगाडि बढाइएको डीएसपी लम्सालले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर