एक दुई दिनभित्रै आईपीओ निष्काशनको अनुमति दिन्छौं : सेबोन अध्यक्ष श्रेष्ठ
‘पूँजी बजारमा आएर मूल्य बढाउने र बाहिरिनेलाई पनि बोर्डले नजिकबाट हेरिरहेको छ’
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पाइपलाइनमा रहेका आईपीओ निष्कासनका लागि एक दुई दिनभित्रै अनुमति दिने बताएका छन् ।
बुधवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नवनिर्वाचित कार्यसमितिसँग अध्यक्ष श्रेष्ठले पाइपलाइनमा रहेर रोकिएका कम्पनीहरुको आइपीओ एक दुई दिनमा निष्कासनको स्वीकृत दिने बताएका हुन् ।
अध्यक्ष श्रेष्ठले पाइपलाइनमा रहेका कम्पनीको आईपीओ जारी गर्ने प्रक्रिया अघि बढी सकेको बताए । उनले बोर्डले कम्पनीहरुका विभिन्न कागज पत्रहरु अपडेट गर्नु पर्ने भएकाले केही ढिला भएको बताए । अध्यक्ष श्रेष्ठले बोर्डले अब आईपीओ निष्काशनको लागि एक दुई दिन भित्रै स्वीकृत दिने गरी काम अघि बढाएको जानकारी दिए ।
अध्यक्ष श्रेष्ठले भने, ‘पाइपलाइनमा रहेको आईपीओ अघि बढेको अवस्था छ । स्वीकृति मात्रै नभएको अवस्था मात्रै हो । डकुमेन्टेशनको काम पनि गर्नु पर्ने छ । अडिट रिपोर्ट पनि आउन नसकेको अवस्था छ । एक÷दुई दिनमा आईपीओ जारीको काम सुरु हुन्छ । एकै पटक धेरै आउने हो कि भन्ने पनि छ । त्यसमा पनि हामी सचेत रहेका छौँ ।’
अध्यक्ष श्रेष्ठले आईपीओ निष्कासनको लागि धेरै कम्पनीहरु पाइपलाइनमा रहेकाले एकै पटक सबैको आउने हो की भन्ने सबैको चिन्ताको विषय बने पनि त्यो विषयमा बोर्ड सेचत रहेको बताए । उनले एकै पटक धेरै आईपीओ जारी हुँदा बजारलाई असर पर्ने कुरामा बोर्ड सचेत रहेको उल्लेख गरे ।
उनले भने, ‘एकै पटक धेरै आइपीओ आउँदैन । सूचीकृत भएका क्षेत्रमा पनि रियल स्टक पनि धेरै आउनु पर्छ भन्ने हो । नयाँ उद्योग व्यवसायीहरु पनि सर्वसाधारणमा जानु पर्छ भन्ने छ ।’
अध्यक्ष श्रेष्ठले पुँजीबजारमा देखिएका अनियमितताको नियमन तथा नियन्त्रणको विषयमा पनि कामहरु गरिरहेको बताए । नेतृत्वमा आइसकेपछि लगानीकर्ताको सरक्षा नै पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको धारणा राखे ।
बोर्डले ७० लाख लगानीकर्तालाई सहजता दिने गरी काम गर्न पूर्वाधार निर्माणलाई पनि प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए । अध्यक्ष श्रेष्ठले बोर्डको कार्य क्षमतालाई अभिवृद्धि गरी प्रभावकारी रुपमा काम गर्ने तयारी रहेको पनि जानकरी दिए ।
अहिलेको बोर्ड नेतृत्वलाई अवान्छित गतिविधिबाट भाग्ने छुट नभएको बताउँदै लगानीकर्ताहरु पूँजी बजारमा आएर मूल्य बढाउने र बाहिरीने क्रम पनि बोर्डले नजिकबाट हेरीरहेको बताए ।
हाल ८४ वटा कम्पनी आईपीओ निष्कासको आवेदन दिएर अनुमतीको पर्खाइमा रहेका छन् । आईपीओ निष्कासनको पाइपलाइनमा रहेका कम्पनीहरुले ५१ अर्ब ७४ करोड २४ लाख १ हजार ६ सय ३२ रुपैयाँ बराबरको ३६ करोड १३ लाख ३७ हजार २ सया ८५ कित्ता सेयर निष्कासन गर्ने छन् ।