परराष्ट्रमन्त्रीद्वारा विपीनको रिहाइका लागि पहल गरिदिन आग्रह – Nepal Press

परराष्ट्रमन्त्रीद्वारा विपीनको रिहाइका लागि पहल गरिदिन आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपालका लागि इजरायलका राजदूत समुलिक एरी बासमार्फत इजरायल सरकारसँग हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइका लागि आग्रह गरेकी छन् ।

परराष्ट्रमन्त्री राणासँग आज मन्त्रालयमा शिष्टाचार भेटका क्रममा राजदूत बाससँग उनले विपीनको अवस्थाबारे जानकारी लिँदै हमासको नियन्त्रणबाट मुक्त गराउन पहल गर्न इजरायल सरकारसँग आग्रह गरेकी हुन् ।

हमास समूहले आफ्नो नियन्त्रणमा रहेकामध्ये ३४ जनालाई अपहरण मुक्त गर्न लागेको भन्ने समाचार आएकाले जोशीको रिहाइलाई विशेष प्राथमिकतामा राख्न मन्त्री राणाले राजदूत बासमार्फत इजरायल सरकारलाई आग्रह गरिन् ।

सो भेटका क्रममा राजदूत बासले हमासको नियन्त्रणमा रहेका वृद्धवृद्धा, महिला तथा बालबालिकासमेतका नाजुक स्वास्थ्य अवस्थामा रहेका नागरिकहरुको रिहाइका लागि इजरायल सरकारले केही महिनाअघि हमासलाई सूची पठाएको र पहिलो चरणमा उनीहरुलाई नियन्त्रणमुक्त गर्ने तयारी रहेको भन्ने सूचना आएको जानकारी गराए ।

सन् २०२३ को अक्टोबरमा इजरायली भूमिमा आक्रमण गरी प्यालेस्टाइनी हमास समूहले १० जना नेपालीसहित एक हजार बढी व्यक्तिको हत्या गरेको थियो ।

त्यसलगत्तै उनीहरुले केही व्यक्तिलाई अपहरण गरेकोमा विपीन जोशी पनि छन् । विपीनको रिहाइका लागि नेपाल सरकारले आफ्ना कूटनीतिक प्रयास जारी राखेको छ ।

संयुक्त राष्ट्रसङ्घ, विभिन्न अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मञ्चका साथै विभिन्न द्विपक्षीय एवं बहुपक्षीय बैठकहरुमा परराष्ट्रमन्त्री राणाले अन्तर्राष्ट्रिय समुदायलाई विपीनको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर