उद्योग मन्त्री भण्डारी र बिम्स्टेकका महासचिव पाण्डेबीच शिष्टाचार भेट
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग बिम्स्टेकका महासचिव इन्द्रमणि पाण्डेले शिष्टाचार भेट गरेका छन् । भेटका क्रममा मन्त्री भण्डारीले बिम्स्टेक क्षेत्रलाई दिगो विकास, आर्थिक एकीकरण र साझा समृद्धिको फलदायी क्षेत्रमा रुपान्तरण गर्न बिम्स्टेक बडापत्रमा समाविष्ट उच्च आदर्श र उेश्यप्रतिको नेपालको दृढ प्रतिबद्धता व्यक्त गरे ।
सन् २००४मा बिम्स्टेकको सदस्य भएदेखि नै नेपालले बिम्स्टेक क्षेत्रमा शान्ति, स्थायित्व र समृद्धिको सर्वाङ्गीण लक्ष्यहरु प्राप्त गर्नका लागि सदस्य राष्ट्रहरुबीच क्षेत्रीय सहयोग र साझेदारी अभिवृद्धि गर्न सक्रिय भूमिका खेल्दै आएको बताए ।
सन् २००४मा हस्ताक्षर भएको बिम्स्टेक स्वतन्त्र व्यापार क्षेत्र सम्बन्धी फ्रेमवर्क सम्झौतालाई पूर्णरुप दिनु सदस्य मुलुकहरुको प्राथमिक कार्यसूचीको रुपमा रहेकोले यस अन्तर्गतका विभिन्न पूरक सम्झौताको मस्यौदालाई अन्तिम रुप दिने कार्यमा हालसम्म भएका विभिन्न संयन्त्रको बैठकमा नेपाल निरन्तर रहँदै आएको बताए ।
उनले बिम्स्टेक स्वतन्त्र व्यापार क्षेत्र स्थापना गर्ने सन्दर्भमा विभिन्न पूरक सम्झौताको मस्यौदालाई अन्तिम रुप दिन बस्ने संयन्त्रको बैठकको समन्वय एवम् सदस्य मुलुकका राय/प्रतिक्रियाको सञ्चारका निमित्त बिम्स्टेक सचिवालयले निभाउँदै आएको भूमिका प्रशंसनीय रहेको बताए ।
सम्झौतालाई बिम्स्टेक सदस्य मुलुकबिचमा रहेको फरक अवस्था र क्षमताको सम्बोधन हुने गरी एंव सबै मुलुकले समतामूलक लाभ लिने गरी सम्पन्न गर्नुपर्नेमा नेपालको जोड रहेको बताए ।
मन्त्री भण्डारीले नेपालको सन् २०२६मा अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा हुने स्तरोन्नतिलाई सहज तथा दिगो बनाउन र नेपालले दिगो विकासका लक्ष्य प्राप्तिका लागि थप स्रोत, प्रविधि र साझेदारी आवश्यक रहेको बताए । यस्ता मुलुकको दिगो स्तरोन्नतिलाई सहयोग गर्ने विषयमा महासचिव पाण्डेको ध्यानाकर्षण गराए ।
नेपालले २०१८मा चौथो बिम्स्टेक सम्मेलनमा आयोजना गरेको विषय स्मरण गराउँदै उक्त सम्मेलनले महत्वपूर्ण र दीर्घकालीन निर्णयहरु गरेको बताए ।
जसमध्ये बिम्स्टेक चार्टरको रुपरेखा तयार गर्नु, सहमति भएका सहकार्यका क्षेत्रमा प्रगतिको दायरा र सघनतालाई तीव्र बनाउनु र यो क्षेत्रीय मञ्चलाई थप संस्थागत बनाउने उदेश्यले बिम्स्टेक स्थायी कार्यकारी समितिको स्थापना गर्नु महत्वपूर्ण उपलब्धी रहेको स्मरण गराए ।
मन्त्री भण्डारीले पर्यटन, सस्कृति, गरिबी निवारण र जनतासंग जनताको सम्पर्क लगायतका सहकार्यका क्षेत्रहरुमा अधिक समन्वयकारी र परिणाममुखी तवरले अन्य सदस्य राष्ट्रहरुसंग आपसी लाभकारी सहयोग निरन्तर अगाडि बढाउन नेपाल दृढ प्रतिवद्ध रहेको बताए ।
भेटका क्रममा बिम्स्टेकका महासचिव पाण्डेले बिम्स्टेकसंग नेपालले राखेका अपेक्षा पुरागर्न प्रयत्न गर्ने बताए । बिम्स्टेक राष्ट्रहरुबीचको व्यवसायिक सम्बन्धसँगै आपसी भाइचारा समेत बढाउन आवश्यक रहेको बताए ।
उनले क्रेडिट रेटिङमा दक्षिण एसियामा नेपालको दोस्रो स्थान हासिल गरेकोमा यहाँ लगानीमैत्री वातावरण बन्दै गएको विश्वास व्यक्त गरे । यसका साथै उनले नेपालको आर्थिक विकास र आपसी हितका लागी बिम्स्टेकले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।