चीनबाट भारत लैजाँदै गरेको लाखौंको भेप बुटवलमा बरामद, मालिक अझै फरार – Nepal Press

चीनबाट भारत लैजाँदै गरेको लाखौंको भेप बुटवलमा बरामद, मालिक अझै फरार

३५ दिनदेखि प्रतिनिधि थुनामा, एमाले र नेकपा एसका नेताहरुको विशेष चासो

रुपन्देही । चीनबाट नेपाल हुँदै भारत लैजाँदै गरेको लाखौं रुपैयाँको इलेक्ट्रिक चुरोट (भेप) बुटवलमा बरामद भएको ३५ दिन भइसक्दा पनि यसको मालिक पक्राउ परेका छैनन् । चीनबाट काठमाडौँ हुँदै नेपालगन्ज टान्सर्पोटको गाडीमा लैजाँदै गरेको भेप राजस्व अनुसन्धान कार्यालय बुटवलले बरामद गरेको हो ।

तर अहिलेसम्म यो कसरी यहाँसम्म आइपुगेको हो भन्ने स्रोत खोज्न सकेको छैन । राजस्व छली गरी ल्याइएको ३० लाख रुपैयाँको यो चुरोटको विषय कार्यालयले ३५ दिनपछि मात्रै सार्वजनिक गरेको छ ।

राजश्वका अधिकारीका अनुसार ३० लाख रुपैयाँ इलेक्ट्रिक बराबरको भेपको जम्मा १ सय रुपैयाँ मात्र बिल काटिएको थियो। चीनबाट उक्त चुरोट नेपालगन्जस्थित जमुनाहा नाकाबाट भारत महँगोमा बिक्री गर्ने उद्देश्यले ल्याएको अनुमान गरिएपनि यसको बिक्रेता र क्रेतालाई राजश्वले भेटाउन नसकेको जनाएको छ । राजस्व कार्यालयले यस विषयमा थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

चीनबाट ल्याएको इलेक्ट्रिक चुरोट नेपालगन्ज हुँदै भारतको लैजाने तयारी गरेको सूचनाको आधारमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवलमा चेकजाँच गर्दा भेरी टान्सपोर्ट नेपालगन्जको ट्रकमा २६ सय पिस भेप फेला पारेको राजस्व अनुसन्धान कार्यालय बुटवलले जनाएको छ । भेरी ढुवानीको सेवाको रहेको उक्त ट्रकमा २ सय पिसका दरले १३ कार्टुन भेप भेटिएको थियो ।

यो प्रकरणमा डायमन्ड नेपाल इन्टरनेसनलका प्रतिनिधि स्याङ्जाको कालिगण्डकी गाउँपालिका वडा नं ५ बस्ने रोजन न्यौपाने र बाँकेको नेपालगन्जका सनाउल्ह अन्सारीलाई पक्राउ परेका छन् । न्यौपाने बुटवलमै बस्ने सामान्य तहका व्यक्ति हुन् भने अन्सारीको श्रीमतिको नाममा फर्म रहेको छ । तसनीम जनरल स्टोर्सको नाममा बिल काटिएको र त्यो उनको श्रीमतिको नाममा रहेको जनाइएको छ ।

राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विवेक घिमिरेका अनुसार उनीहरूसँग बिगो बमोजिम ६२ लाख रुपैयाँ धरौटी माग गरिएको छ । पक्राउ परेका न्यौपाने र अन्सारीलाई इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । उनीहरु दुवैले धरौटी रकम बुझाउन नसकेका कारण अहिलेसम्म यो विषय अल्झिएको छ ।

‘मुख्य मान्छे सम्पर्कमा नआएका कारण यो विषय रोकिएको हो, हामीले धेरै पटक खोज्ने प्रयास गरेका छौं, सुरुमा सम्पर्क भएको मोबाइल नम्बर अहिले सम्पर्क हँुदैन, अब अदालती प्रकृयाबाहेक अन्य विकल्प रहेन’ राजश्व अनुसन्धानका प्रमुख घिमिरेले भने । उनले मुख्य मान्छे सम्पर्कमा नआएका कारण यो विषय सार्वजनिक नगरेको तर लामो समय भएकाले अब अदालती प्रकृयामा जानका लागि बुधबार सार्वजनिक गरेको बताए ।

पक्राउ परेका व्यक्तिहरु सामान्य अवस्थाका देखिएपनि यो विषय मिलाउन एमाले र नेकपा एसका नेताहरुले बढी चासो दिएका छन् । यो विषयमा प्रहरी र राजश्व अनुसन्धानका अधिकृतहरुले केही नबोलेपनि दुवै पार्टीमा विशेष जिम्मेवारी लिएका व्यक्तिहरुले यो मुद्दाको किनाराका विषयमा विशेष चासो दिएर प्रतिनिधि खटाएको स्रोतले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *