साइबेरियाबाट उडेर नेपाल आइपुग्ने कर्‍याङकुरुङको किराँती ‘कनेक्सन’ – Nepal Press

साइबेरियाबाट उडेर नेपाल आइपुग्ने कर्‍याङकुरुङको किराँती ‘कनेक्सन’

काठमाडौं । नेपालको चितवन, कोशी टप्पु, जगदीशपुर ताल, टौदह र भारतको राजस्तान, गुजरात, उत्तरप्रदेशका केही स्थानहरु पहुना चराहरुले गुलजार बनेका छन् । चराहरु साइबेरिया, मंगोलियातिरबाट आइपुगेका छन् ।

तिनीहरु हजारौं किलोमिटर टाढाबाट आउनुको एकै उद्देश्य हो, जाडो छल्न । साइबेरियातिरको भूभाग हिउँले ढाकेपछि खानेकुराको अभाव हुन्छ । त्यही अभावको परिपूर्तिका लागि चराहरु नेपालको अग्लाअग्ला हिमाल नाघेर आउने गरेका छन् ।

खोया हाँस त सगरमाथाभन्दा पनि माथि नौ हजार ३०० मिटर माथिबाट उडेर आउने गरेको छ । जब कि सगरमाथाको उचाइ नै आठ हजार ८४८ मिटर हो । त्यस्तै क¥याङकुरुङ पनि सात हजार मिटरभन्दा माथिको उचाइमा उडेर आएको रेकर्ड रहेको चराविद् हेमसागर बराल बताउँछन् ।

क¥याङकुरुङको नेपालसँग साइनो जाडो छल्ने ठाउँको रुपमा मात्रै छैन । नेपालका आदिवासी किराँत समुदायसँग पनि कर्‍याङकुरुङ जोडिन्छ । विशेष गरेर कर्‍याङकुरुङलाई किराँती समुदायमा कृषिसँग सम्बन्धित प्रतीकको रुपमा लिइन्छ । कर्‍याङकुरुङ उँभो लागेपछि अब बीउबिजन छर्ने बेलाको संकेतको रुपमा लिइन्छ । त्यस्तै उँधो लाग्यो भने हिउँदयाम सुरु भयो भन्ने संकेतको रुपमा लिइन्छ ।

तर कर्‍याङकुरुङको किराँती समुदायसँगको सम्बन्ध यतिमै मात्रै सीमित छैन । इतिहासकार भोगिराज चाम्लिङका अनुसार किराँतीहरुले साकेला नाच्दा कुङ्केरा वा कुङ्कारा सिली पनि नाच्नुपर्छ । यो भनेको ठूलो समूहमा गोलो घेरा लगाएर नाच्दा डल्लिँदै डल्लिँदै झुरुप्प एक ठाउँमा आइपुग्ने हो । अनि फेरि फैलँदै फैलँदै पहिलेकै अवस्थामा पुगिन्छ । र, यो कुङ्केरा वा कुङ्कारा भनेको चाहिँ कर्‍याङकुरुङ हो ।

चाम्लिङ भन्छन्, ‘किराँतीहरुको जनजीवनमा एकदमै धेरै प्रभाव राख्ने पशुपंक्षी कि मिथक कि त कथा बन्छ । कथा भएन भने त्यो सिली बन्छ । त्यसको अतिरिक्त सांस्कृतिक प्रयोजनको लागि पनि प्रयोग गरिन्छ । तिनीहरुको खुट्टा, नङ, पखेटा सांस्कृतिक प्रयोजनको लागि प्रयोग हुन्छ ।’

तर कर्‍याङकुरुङ त नेपालको किराँतीसँगको जनजीवनसँग घुलमिल भएको चरा होइन । आकाशमा उडेको देखिने चरामात्रै हो, तर कर्‍याङकुरुङ जुन ठाउँबाट उडेर नेपालको बाटो भएर भारत पुग्छ, त्यो ठाउँ भनेको चाहिँ धामीहरुको उत्पत्ति भएको ठाउँ रहेको चाम्लिङ बताउँछन् ।

‘धामीहरुको उत्पत्ति नै साइबेरियामा भएको हो । हाम्रो किराँती समुदायमा पनि बिजुवाहरु हुन्छन्’, चाम्लिङ भन्छन्, ‘हाम्रा पुर्खाहरु साइबेरिया-मंगोलिया-चीनको ह्वाङ हो नदी हुँदै यहाँ आएको देखिन्छ । त्यसको पुष्टि डीएनएले पनि गर्छ ।’

चाम्लिङका अनुसार साइबेरियामा हुँदा कर्‍याङकुरुङसँग आजका किराँतीहरुको पुर्खाको उठबस भएको हुनसक्छ । अनि हजारौं वर्षपछि नेपालको किराँती गाउँको आकाशमा देखिँदा सिलीमा त्यसको प्रयोग हुनसक्ने आँकलन चाम्लिङको छ ।

उनी भन्छन्, ‘हाम्रो पुर्खा साइबेरियामा हुँदा क¥याङकुरुङको सांस्कृतिक स्थान पो थियो कि ! अनि त्यो मेमोरीलाई क्यारी गरेर हाम्रो पुर्खाहरुले लिएर आएको पनि हुनसक्छ ।’

डीएनए जस्तै मानिस र जीवजन्तुमा आरएनए पनि ट्रान्सफर हुन्छ भनेर प्रमाणित भइसकेको छ । आरएनए ट्रान्सफर हुनु भनेको मेमोरी ट्रान्सफर हुनु हो । जस्तो बाघको बच्चालाई अलग्गै राखेर हुर्काए पनि उसले शिकार गर्छ । शिकारको त्यो कला आरएनएबाट ट्रान्सफर हुन्छ ।

‘हाम्रो समुदायमा विजुवा बौरिन पनि कतै न कतै उसको अघिल्लो पुर्खा बिजुवा भएको हुनुपर्छ । ६-७ पुस्ता अगाडिको नै किन नहोस्, पुर्खा बिजुवा हुनैपर्छ । नत्र जोकोही बिजुवा बौरिन असम्भव छ’, चाम्लिङ सुनाउँछन्, ‘कर्‍याङकुरुङ चरा हाम्रो सिलीमा जोडिनुमा त्यही आरएनएले काम गरेको हुनुपर्छ ।’

खोटाङको हलेसी क्षेत्रका केही वृद्धहरुले कर्‍याङकुरुङले तुवाचुङ डाँडालाई फन्को लगाउने गरेको प्रसंग सुनाउने गरेको चाम्लिङ बताउँछन् । उता लिब्जुमा पनि कर्‍याङकुरुङले सिली नाचे जसरी घुमाउने गरेको प्रसंग प्रचलनमा रहेको चाम्लिङको भनाइ छ ।

किराँती भेगको आकाशमा आइपुग्ने कर्‍याङकुरुङ चाहिँ अरुण उपत्यका हुँदै आउने चराविद् बरालको भनाइ छ । उनका अनुसार कर्‍याङकुरुङ दुई नाकाबाट नेपाल हुँदै भारत जान्छन् । एउटा अरुण उपत्यकाको रुट भइहाल्यो, अर्को चाहिँ मुस्ताङको घाँटी हुँदै आउँछन् ।

‘कर्‍याङकुरुङ मौसम बिग्रेको वेला मात्रै नेपालमा बस्छन् । नदी छेउछाउको उपत्यकामा बस्छन् । कहिलेकाहीँ एयरपोर्टमै पनि बसिदिन्छन्’, बराल भन्छन्, ‘जोमसोम एयरपोर्ट, बाग्लुङको बलेवा एयरपोर्टमा कर्‍याङकुरुङ बसेको समाचार बेलाबेला आउँछ । तिनीहरु यसरी बस्नुको पछाडि मौसम बिग्रेर वा लामो उडानले थाकेकाले हो । नत्र चीनबाट एकै पटक उनीहरु भारत पनि जानसक्छन् ।’

बरालका अनुसार तिनीहरुले उड्ने रुट बदलिरहन्छन् । नदीको धार समात्नुको पछाडिको कारण भनेको सहजताको लागि हो । हावाले पछाडिबाट धक्का देओस्, ऊर्जा बचत होस् भनेर उनीहरुले यस्तो रुट पहिल्याउने बरालको भनाइ छ ।

बराल भन्छन्, ‘तिनीहरु साँझ परेपछि बास पनि बस्ने गर्छन् वा दुई तीन दिनसम्म निरन्तर उडिरहन पनि सक्छन् ।’

नेपालमै बस्ने चाहिँ कर्‍याङकुरुङसँगै आउने लक्ष्मण सारस हो, जो चितवनमा पाइन्छ । पहिला दुईतीन सयको संख्यामा पाइने भए पनि अहिले जलवायु परिवर्तनलगायत विविध कारणले संख्या घटेको बरालको भनाइ छ ।

हिउँदे बिदामा नेपाल आउने चराहरु अक्टोबरको पहिलो हप्ताबाट आउन सुरु गर्छन् । अनि मार्च महिनातिर नेपालबाट साइबेरिया, मंगोलिया फर्किन्छन् । यसरी हिउँद याममा नेपाल आउने चराहरुको प्रजाति डेढ सय हाराहारी रहेको बरालको भनाइ छ ।


प्रतिक्रिया

One thought on “साइबेरियाबाट उडेर नेपाल आइपुग्ने कर्‍याङकुरुङको किराँती ‘कनेक्सन’

  1. कर्यांगकुरूंग र किराती धामीहरू र किराती हरू को पुर्खा साइबेरीया मंगोलिया चिन हुदै ह्वांगो नदी बाटै यता आएका हुन् रे!! बिचरा कर्यांगकुरूंग ले फर्कन चाही एक्लै फर्कने रैछन्, किरातीहरूलाइ यतै छाडेर!! कठै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर