अर्को खिना बोहराले ज्यान गुमाउन नपरोस्, तर बचाउने कसले ? – Nepal Press

अर्को खिना बोहराले ज्यान गुमाउन नपरोस्, तर बचाउने कसले ?

ईश्वरी मेरो क्लासमेट । उनको घर मेरो स्कूल जाने बाटोमा पर्थ्यो । धेरैजसो हामी सँगै विद्यालय जाने गर्थ्याैं । हामी बिहान एक डोको घाँस, दाउरा वा पँधेरोबाट एक गाग्री पानी ल्याउनेमध्ये एउटा काम गरेरमात्रै स्कूल जान पाउँथ्यौं ।

हामी बिहानको काम सकिवरी करिब १० मिनेट लगाएर ईश्वरीको घर पुग्दा धेरैजसो उनलाई कुर्नुपर्थ्यो । कपाल कोर्दै, खाना खाँदै वा यस्तै केही गर्दै हुन्थिन् । हतारो लगाउँदै पर्खिन्थें म उनलाई । त्यो दिन बेलुका नै ईश्वरीकी आमाले छोरा जन्माएको खबर हाम्रो घरसम्म पुगिसकेको थियो ।

धुमिल याद छ, भोलिपल्ट हातमा किताबकापी च्यापेर म त्यही बाटो स्कूल जाँदै थिएँ, तर ईश्वरी तयार थिइनन् । पहिल्यै एक भाइ र तीन बहिनीकी दिदी ईश्वरीको भाइ जन्मिएको खबर त राति नै गाउँभरि फैलिएको थियो, तर साल नझरेको भन्ने थाहा थिएन ।

हामी पढ्ने कक्षा त बिर्सिएँ, तर ६ कक्षा माथि पुगिएको थिएन । हातमा किताब च्यापेर (हामीसँग झोला हुँदैनथ्यो, किताब हातैमा च्याप्थ्यौं) कुँद्दै ईश्वरीको घर पुग्दा तुलसीछेउ आँगनमा बडेमानको शरीरको मानिस सुताइएको थियो । विनाहलचल सुतिरहेकी थिइन् ईश्वरीकी आमा ।

ईश्वरी रुँदै थिइन् । उनीसँगै बाँकी तीन बहिनी र एक भाइ रुँदै थिए । ख्याउटे शरीरका उनको बुबा त्यतै कतै थिए । ईश्वरीको रुवाइ देखेर मलाई हिक्का छुट्यो, तर आमा नहुँदा उनले कस्ता दुःख भोग्नुपर्छ भन्ने हेक्का चाहिँ थिएन त्यतिबेला । किताबले मुख छोपेर सुन्तलाको रुखको छेउ पारेर आँसु बगाएँ ।

गाउँभरका मानिस भेला भएका थिए । त्यो दिन पढाइ हुने कुरै भएन । ठूला मान्छेहरुले कुरा गरेको कानमा गुञ्जियो, ‘बच्चा त राति नै जन्मिएको, तर साल झरेनछ । अस्पताल लैजान पनि भ्याइएन । कठै बच्चाको बिजोग हुने भो !’

०००

त्यो समयमा नेपालको मातृ मृत्युदर २८१ हाराहारी थियो । सन् २००६ मा प्रतिलाख जीवित जन्ममा २८१ रहेको मातृ मृत्यु अनुपातलाई २०२२ सम्म ११६ पु¥याउने विश्वव्यापी लक्ष्य नेपालले लिइसकेको थियो । तिनै सन्तान जीवित जन्माए पनि मृत्यु हुने आमामा परिन् ईश्वरीकी आमा ।

उनको मृत्यु किन भयो ? किन कसैले अस्पताल लगेन होला ? त्यतिबेलाको मनको खुल्दुलीलाई नेपालको वर्षौंसम्म पनि सम्पन्न नहुने विकासका आयोजनाहरुको लम्बेतान कथाले मानव जीवनले न्यूनतम पाउने सुविधासमेत उपभोग गर्न नपाउने यथार्थ हो भन्ने सायद बुझिएको थिएन ।

त्यो समय झरी परिरहेको थियो । मुख्य राजमार्गसम्म आइपुग्ने मोटर बाटो थिएन । राजमार्ग पुग्ने बाटोमा खहरे खोला छ । त्यो खोलामा पुल बनेको थिएन । त्यो घटनाको करिब २० वर्षपछि बल्ल यसवर्ष खोलामा पक्की पुल बनेको छ ।

अर्को दर्दनाक कथा त हाम्रो गाउँका मानिसले अस्पताल पुग्न कि काठमाडौं कि त चितवन पुग्नुपर्थ्यो, यो कथा आजसम्म छ ।

राजधानी काठमाडौंबाट नजिक रहेको धादिङ जिल्लाको मेरो स्यादुल गाउँको जस्तो कथा आजसम्म पनि नेपालका थुप्रै गाउँहरुको छ । गाउँमा किन मानिस बसेनन् ? केले तान्यो शहर र विदेशसम्म नेपालीहरुलाई ?

बझाङकी २२ वर्षीया खिना बोहराले यही साता सन्तान जन्माएर बाटोमै ज्यान गुमाइन् । जन्मिएको नवजात शिशुसँगै खिनाको मृत्यु आजको समयमा आइपुग्दा सामान्य घटना होइन । सरकारकै राष्ट्रिय जनगणनाले गरेको अध्ययनअनुसार अहिले नेपालमा प्रतिलाख जीवित जन्ममा १५१ मातृमृत्यु रहेको छ ।

हुन त दिगो विकास लक्ष्यले कुनै पनि देशमा मातृ मृत्यु अनुपात विश्वव्यापी औसतको दोब्बरभन्दा बढी नहुने गरी प्रतिलाख जीवित जन्ममा ७० भन्दा कममा घटाउने लक्ष्य राखेको छ, तर नेपालमा अझै पनि खिना जस्ता धेरै महिलाहरुले समयमा अस्पताल पुग्न नसक्दा वा नपाउँदा ज्यान गुमाइरहेका छन् । यो दर बागमतीमा सबैभन्दा कम ९८, लुम्बिनीमा सबैभन्दा बढी २०७ र कर्णालीमा १७२ रहेको देखिएको छ ।

एउटा परिवारको आमाले गर्भावस्था, सुत्केरी वा कुनै अवस्थामा मृत्यु भएपछि उनका परिवारले कस्ता समस्या भोग्छन् ? त्यो मैले मेरी साथी ईश्वरीको परिवारमा प्रस्टसँग देखेको छु । आमाको मृत्युपछिको मृत्युसंस्कार त सबैले गर्नुपर्‍यो । त्यसपछि मैले दिनदिनै विद्यालय जाँदा बाटोबाट सँगै हुने साथी पाइनँ ।

बिरामी बुबा परिवारको जेठी सदस्य ईश्वरी । उनले भाइबहिनी र परिवारको पूरा दायित्व उठाउनुपर्ने अवस्था आयो । हामी नै ससाना थियौं । करिब मेरै उमेरकी साथीले अभिभावकत्व निभाउनुपर्दा उनको जिम्मेवारीको भार कति गह्रौं भयो होला ?

बाल्यकालमै टुटेको बाल्यावस्था भोगेकी उनलाई बाहेक अरु कसले अनुभूत गर्न सक्ला ? त्यसपछि ईश्वरीको विद्यालय जाने दर कम हुँदै गयो । परीक्षासम्म दिन जाने गर्थिन् । त्यो पनि विस्तारै टुट्यो । उनले पढाइ अघि बढाउन सकिनन् । बुबा पनि बलिया थिएनन् । केही वर्षपछि उनको पनि मृत्यु भयो । त्यो कहालीलाग्दा दिनहरुमा आफूलाई सम्हालेकी ईश्वरीले महसुस गरिन् कि गरिनन् होला- राज्यले न्यूनतम सुत्केरी गराउन सक्ने स्वास्थ्य संस्था घरको कम्तीमा एक घण्टाको दुरीमा किन बनाइदिन सकेन ?

नेपालमा गर्भावस्थासँग सम्बन्धित मृत्यु निम्त्याउने ‘तीन ढिलाइ’ राष्ट्रिय जनगणनाले पत्ता लगाएको छ । जसमा पहिलो उपयुक्त स्वास्थ्य सेवा खोज्नमा ढिलाइ ५७ प्रतिशत, उपयुक्त स्वास्थ्य संस्था पुग्न ढिलाइ ३३ प्रतिशत र उपयुक्त स्वास्थ्य सेवा प्राप्त गर्न ढिलाइ ४० प्रतिशत रहेको उल्लेख गरिएको छ । तीन ढिलाइमध्ये ७४ प्रतिशत महिलाको मृत्युमा कम्तीमा एक प्रकारको ढिलाइ भएको थियो । १७ प्रतिशत महिलाले तीनवटै ढिलाइ भोगेका थिए ।

राज्यले ईश्वरीको ममी र खिनाको बोहराको मृत्युको तुलना गर्नपुर्ने अवस्थामा कसरी गर्ला ? त्यो थाहा छैन, तर यी दुबै मृत्युमा दुईदुई जनाको एकै पटक ज्यान गयो । यो व्यक्तिको होइन, राज्यको कमजोरीसँग सम्बन्धित छ । त्यो समय हाम्रो गाउँमा मोटरबाटो बनेको थिएन, झरी पर्दा खोला तर्न सक्नेगरी झोलुङ्गे पुलसमेत थिएन । न थियो सिंगो गाउँमा सुत्केरी गराउनसक्ने स्वास्थ्य संस्था । खिनाको मृत्युमा गाउँपालिकाका अध्यक्षले समयमा अस्पताल नगएको भन्दै मृत्युको कारण स्वयं खिनालाई देखाउन खोजेका छन् ।

तर खिनाका श्रीमानलाई आफ्नै थलोमा रोजगारी दिलाउन नसकिने अवस्था कसले निर्माण गर्‍यो ? सुत्केरी ब्यथा लागेकी महिलालाई मध्यरातमा अस्पताल पुर्‍याउन उनका श्रीमान घरमा चाहिने थिए कि थिएनन्, यो अवस्था कसले बुझ्ने ? रित्तिँदै गएका गाउँमा सुत्केरी, गर्भवतीमात्रै होइन, ज्येष्ठ नागरिकको अवस्था हेर्न निस्कियो भने कति विरक्तलाग्दा गाउँ भेटिन्छन्, यसको विश्लेषण कसले गर्ने ?

फेरि मेरी साथीकै परिवार हेरौं, अहिले उनको घरको ढोका अगाडि नै प्रसूति सेवासहितको स्वास्थ्य चौकी बनेको छ । स्वास्थ्य चौकी र ईश्वरीको घरको ढोकाले मुखामुख गरेर भनिरहे झैँ लाग्छ- तिमीहरुलाई उपचार आवश्यक छ ?

तर ईश्वरीको घर खाली छ । त्यस घरको ढोकामा सधैं ताला लागिरहन्छ । ईश्वरीले भाइबहिनीको पढाइ र विवाह सकिएपछि आफूले पनि विवाह गरिन् । उनका कुनै परिवारका सदस्य पनि त्यस गाउँमा छैनन् । उनीहरु न्यूनतम सुविधा पाउने शहरमा जीवन संघर्ष गरिरहेका छन् । उनको परिवार जस्तै त्यो गाउँका आधा बढी घर रित्ता छन् । गाउँ विरक्त लाग्दा छन् ।

अहिले अधिकांश महिला सुत्केरी हुन अस्पताल पुग्छन् । मृत्युको संख्या हेर्दा पनि ५७ प्रतिशत महिलाको मृत्यु स्वास्थ्य संस्थामा र २६ प्रतिशत महिलाको मृत्यु घरमा भएको अभिलेख राज्यसँग छ । मान्छे अस्पतालको पहुँचमा त पुग्न थालेछन् । अस्पतालहरु बन्न पनि थालेछ, तर यो अस्पतालमा पुर्‍याउने दायित्व बोक्ने युवा गाउँमा छन् ?

राज्यले हरेक समयको आवश्यकता विश्लेषण गरेर विकासका योजना बनाउन सक्नुपर्छ । सरकारले सुखी नेपालीको परिकल्पना गरिरहँदा स्वास्थ्य संस्था बनाउनु मात्रै होइन, घरघरमा स्वास्थ्य संस्थासम्म पुर्‍याउने मान्छे बस्नसक्ने विकास योजना अघि सार्नु तड्कारो छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *