बुटवलमा चर्को आवाज निकाल्ने बाइकलाई ट्राफिक प्रहरीको कारबाही : एकै दिन ११ वटा नियन्त्रण – Nepal Press

बुटवलमा चर्को आवाज निकाल्ने बाइकलाई ट्राफिक प्रहरीको कारबाही : एकै दिन ११ वटा नियन्त्रण

रूपन्देही । चर्को आवाजमा मोटरसाइकलको आवाज निकालेर ध्वनि प्रदूषण गर्नेविरुद्ध नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलले कारबाही अभियान सुरु गरेको छ ।

मोटरसाइकलको साइलेन्सर परिमार्जन गरी चर्को आवाजमा चलाउनेलाई नियन्त्रणमा लिएर कारबाही गर्न थालिएको छ । कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार यस्तो कार्यले सडक सुरक्षामा समस्या पुर्याउँछ ।

प्रहरीले जनगुनासो, सामाजिक सञ्जालमा आएका भिडियो तथा पोस्टका आधारमा ध्वनी प्रदूषण र स्टण्टबाजी गर्नेविरुद्ध अभियान चलाएको छ । इलाका प्रहरी कार्यालय बुटवलको सहकार्यमा बिहीबार एकै दिन ११ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ । यसअघि नियन्त्रणमा परेका १७ वटा मोटरसाइकलमाथि जरिवानासहित कारबाही प्रक्रिया अघि बढाइएको छ ।

ट्राफिक कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मधु सुधन न्यौपानेका अनुसार चालू आर्थिक वर्षमा ६१ वटा मोटरसाइकल तथा स्कुटरलाई नियन्त्रणमा लिई ६ लाख १० हजार रुपैयाँ राजस्व संकलन गरिएको छ । यसअघि, गत आर्थिक वर्षमा बुटवल बजार क्षेत्रबाट मात्रै ६५ वटा मोटरसाइकल नियन्त्रणमा लिई ६ लाख ५० हजार राजस्व संकलन भएको थियो ।

अभियानलाई थप प्रभावकारी बनाउन स्वरुप परिवर्तन गर्ने वर्कसप र ग्यारेजलाई पनि कारबाहीको दायरामा ल्याउने तयारी भइरहेको छ । ध्वनी प्रदूषण, स्टण्टबाजी र सवारी साधनको स्वरुप परिवर्तनले शान्ति सुरक्षामा खलल पुग्ने भएकाले यस अभियानलाई निरन्तरता दिइने इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख, प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर