स्काउटका प्रमुख आयुक्तले कार्यालय प्रमुखमा अपरिचित व्यक्ति ल्याएर कब्जा गरेको निर्देशक भट्टराईको आरोप
काठमाडौं । नेपाल स्काउटका प्रमुख आयुक्त महेन्द्र राज रंजीतले अवैध र गैरकानूनी तरिकाले आफ्नो कार्यालयको प्रमुखको जिम्मेवारी दिएको निर्देशक सम प्रसाद भट्टराईले आरोप लगाएका छन् ।
उनले विज्ञप्ति जारी गदै रंजीतले अपरिचित व्यक्तिलाई ल्याएर कार्यालय प्रमुखको कार्यकक्ष र कार्यालय कब्जा गराएका कारण स्काउटको सम्पत्ति र कार्यालयमा कार्यरत कर्मचारीहरुको सुरक्षामा संकट परेको भन्दै ध्यानाकर्षण भएको बताएका छन् । नेपाल स्काउट कार्यालय लैनचौरमा आज करिब १२ बजे प्रमुख आयुक्त रञ्जितले गैह्रकानूनी रुपमा अबैध व्यक्तिलाई कार्यालय प्रमुखको कुर्सीमा राखेका भट्टराईले उल्लेख गरेका छन् ।
भट्टराईले घटनाप्रति खेद व्यक्त गर्दै प्रमुख आयुक्त रंजीतको अवैध र अनुशासनहीन क्रियाकलापलाई कानूनी र वैध मान्न सकिने अवस्था नरहेको बताए । उनले सो घटनालाई नेपाल स्काउट ऐन २०५० र अन्य लागू हुने नियमहरूको ठाडो उल्लंघनका रूपमा रहेको उल्लेख गरे । प्रमुख आयुक्तले कुनै प्रकारको छलफल वा निर्णय बिना बाहरी व्यक्तिलाई कार्यालय कब्जा गराउन दिएको आरोप भट्टराइको छ ।
पछिल्लो केही समयदेखि नेपाल स्काउटको प्रमुख आयुक्तबाट भएका अवैधानिक, अनुशासनहिन र अराजक गतिविधीसँग डटेर लड्दै गर्दा आफूलाई मानसिक रुपमा तनाव दिने र शारीरिक रुपमा समेत आक्रमण गर्न सक्नेगरी योजनावद्ध ढंगबाट घटाइएको भन्दै उनले सरोकारवालाहरुको ध्यानाकर्षण गराए ।
उनले प्रेस विज्ञप्तिमा भनेका छन्, ‘म मेरो कार्यकक्षमा बसी नियमित रुपमा काम गरिरहेको समयमा, प्रमुख आयुक्त रंजीतले अवैध रुपमा एकाएक मेरो कुर्सीमा अन्य कसैलाई राखेको घटनालाई कुनै आधारमा पनि कानुनी र वैध मान्ने अवस्था हुनै सक्दैन । नेपाल स्काउट ऐन २०५० (संसोधन सहित), नेपाल स्काउट नियमावली २०७७ (संसोधन सहित)नेपाल स्काउट कर्मचारी सेवा नियमावली २०५२ (संसोधन सहित) र प्रचलित कानुनको ठाडो उल्लंघन गरि नेपाल स्काउटका प्रमुख स्काउट तथा राष्ट्रिय कार्यकारी समितिसँग समेत कुनै आधिकारी छलफल र निर्णय नगराई प्रमुख आयुक्त एक्लैले मनोमानिढंगबाट बाहलवाला कार्यालय प्रमुखप्रति गरेको अवैध र अभद्र व्यवहार गर्दै अनाधिकृत व्यक्तीलाई कार्यालय प्रमुखको कार्यकक्ष कब्जा गर्न दिएको घटनाले कानुनी राज्यको उपहास मात्र नभई समग्र स्काउट अभियानलाई नै अपमान गरेको छ ।’
कार्यालय प्रमुख भट्टराईले उक्त गैह्रकानुनी कार्यको विरुद्धमा एकताबद्ध भई, नेपाल स्काउटको भौतिक सम्पत्तीको रक्षा र आफू लगायत कर्मचारी तथा नेपाल स्काउटका सदस्यहरुको सुरक्षा प्रत्याभूत गराउँदै भयरहित अवस्थामा स्काउटींग गर्ने वातावरण सृजना गर्न सहयोग गरिदिन अपिल गरेका छन् ।