धनगढीमा गृहमन्त्रीको ‘टी मिटिङ’ : प्रधानमन्त्री बोलीको टिप्पणीदेखि, गठबन्धनको भविष्यसम्मको छलफल – Nepal Press

धनगढीमा गृहमन्त्रीको ‘टी मिटिङ’ : प्रधानमन्त्री बोलीको टिप्पणीदेखि, गठबन्धनको भविष्यसम्मको छलफल

संविधान संशोधनबारे पनि लिए सुझाव

कैलाली । नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री रमेश लेखकले धनगढीमा आफ्ना पार्टीका नेता कार्यकर्ताहरूसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनबारे दिएको अभिव्यक्तिबारे टिप्पणी गरेका छन् ।

धनगढीको डिभोटी होटेलमा आर्थिक मामिला मन्त्री बहादुर थापा, राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्र, आधा दर्जन बढि प्रदेश सभा सदस्यहरूबिच गृहमन्त्री लेखकले प्रधानमन्त्री दिएको अभिव्यक्तिबारे प्रस्ट पारेका थिए ।

‘उहाँले (प्रधानमन्त्री ) ले अहिल्यै त्यसो नभन्नु भएको भएपनि हुन्थ्यो । तर, संविधान संशोधन नगर्ने भन्दा पनि त्यो भन्दा पहिल्यै राष्ट्रिय सभामा बहुमत नपुग्ने भन्दै ०८७ मा संविधान संशोधन हुन्छ भन्नु भएको हो ’ लेखकले आफ्ना पार्टीका सांसद र मन्त्रीहरूलाई बताएका थिए ।

एमालेको केन्द्रीय कमिटी बैठकमा पुस २३ गते ओलीले संविधान संशोधन ०८७ मा मात्रै हुने बताएका थिए । कांग्रेस–एमालेबीच असार १७ गते भएको सातबुँदे सहमतिमा संविधान संशोधन गरिने उल्लेख छ । तर, प्रधानमन्त्रीले ०८७ मा मात्रै संविधान संशोधनको कुरा गरेपछि अहिले विपक्षी दलहरूमा मात्रै होइन काङ्ग्रेसभित्रै पनि तरङ्ग फैलिएको छ।

दुई दिनका लागि सुदूरपश्चिम आएका लेखकले शुक्रवार बिहान चिया भेटघाटका क्रममा आफ्ना सांसदहरूलाई प्रधानमन्त्रीको नियत संविधान संशोधन नगर्ने तर्फ नगरेको स्पष्ट पार्दै बहुमतका कारण अहिल्यै हुन नसक्ने जिकिर गरेको स्पष्ट परेका थिए ।

गृहमन्त्री लेखकलाई प्रदेश सभा सदस्य पदम बहादुर शाहीले संविधान संशोधनका विषयमा पहिल्यै पार्टी स्पष्ट हुनुपर्ने बताएका थिए । उनले प्रदेश बलियो बनाउने गरि र आर्थिक भार कम गर्नेगरि संविधान संशोधन हुनुपर्नेमा जोड दिए ।

‘संविधानमा कहाँ कमजोरी छ भन्ने कुरा सबैभन्दा पहिलो बुझ्नु पर्छ, त्यसमा सुधार गर्नु पर्छ, परिमार्जित गरेर सुशासन दिनुपर्छ ’ गृहमन्त्री लेखकलाई सुझाव दिँदै सांसद शाहीले भने, ‘यो निकै खर्चिलो भयो, प्रदेशलाई बलियो बनाउँदै खर्च कम गर्नु पर्छ । ’

कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामीले प्रदेश बलियो बनाउनु पर्नेमा र गठबन्धन टिकाउनु पर्नेमा जोड दिएका थिए ।‘यो विषम परिस्थितिमा बनेको दुई ठुला दलको सरकार हो यो ०८४ सम्मै जानुपर्छ’ उनले भने ‘अब प्रदेशलाई बलियो बनाउनु पर्छ । प्रदेशलाई अधिकार दिँदै जानुपर्छ ’

प्रदेश सांसद मानबहादुर रावलले पनि जनताले सुशासन र विकास खोजिरहेको बताएका थिए । काङ्ग्रेसकै सांसद जुना दानीले सुदूरपश्चिम सरकारले गति पाउन नसकेको, आफूहरूको भूमिका कमजोर हुँदै गरेको, राजनीति प्रति वितृष्णा बढ्दै गएको, सरकारमा एमाले हाबी हुन थालेको लगाएका गुनासा राखेकी थिइन् ।

‘प्रदेशमा काम हुन सकिरहेको छैन , कार्यकर्ताहरू निराश भइरहेका छन् । ठुला मन्त्रालयहरू एमालेको भागमा हुँदा अझै समस्या भइरहेको छ ’ उनले भनिन् ‘यसरी त हामी अझै कमजोर हुँदै गइरहेका छौँ ।’

भेटमा केही सांसदहरू बाहेक अधिकांशले आफ्नो धारणा राखेका थिए । उनीहरु मध्ये धेरैले संविधान संशोधनका विषयहरू प्रस्ट हुनुपर्ने बताएका थिए । पूर्व मन्त्री प्रकाश देउवा, मधु भारती लगायत त्यहाँ केही बोलेनन् ।

आफू गृहमन्त्री भएपनि नेता कार्यकर्ताहरूसँग केही टाढा भएको जस्तो आभास भएको, फोन समेत उठाउन नपाएको भन्दै गृहमन्त्री लेखकले सुरुमै प्रस्टीकरण दिएका थिए ।

उनले प्रधानमन्त्रीको बोलीको बचाउँदै गर्दै संविधान संशोधनमा विषयमा छलफलहरू भइरहेको स्पष्ट पारेका थिए। यो गठबन्धन आगामी निर्वाचनसम्मै जाने गृहमन्त्री लेखकको दाबी रहेको थियो ।

‘संविधान संशोधनका विषयमा छलफल जारी छ । यो गठबन्धन आगामी निर्वाचनसम्मै जान्छ तपाइहरू ढुक्क हुनुहोला ’ उनले भने । गृहमन्त्री लेखकले प्रदेशमा पनि सत्ता गठबन्धन भित्रै असमझदारी पैदा हुन नदिन सांसदहरूलाई सुझाव दिएका थिए । उनले कार्यदल बनाएर अघि बढ्नु पर्ने बताएका थिए ।

‘सत्ता गठबन्धनमा कुनै समस्या छैन तल प्रदेशमा पनि त्यो समस्या आउन दिनुहुँदैन ’ उनले भने ‘कार्यदल बनाएर अघि बढ्नु पर्छ जनतालाई सरकार भएको आभास दिलाउनु पर्छ ।’

एमालेसँग सत्ता गठबन्धन गरेर सरकार सञ्चालन भइरहे पनि प्रतिस्पर्धी पार्टी हो भन्ने भुल्न नहुने तर्फ पनि गृहमन्त्री लेखकले सङ्केत गरेका थिए ।

कांग्रेसका सांसद र मन्त्रीसँग उनी करिब १५ मिनेट गफिएका थिए । आफ्नो कञ्चनपुर बसाइ छोट्टाउँदै गृहमन्त्री लेखक मन्त्रीपरिषद्को बैठकमा सहभागी हुनेगरि हिजै काठमाडौँ फर्किएका हुन् ।


प्रतिक्रिया

One thought on “धनगढीमा गृहमन्त्रीको ‘टी मिटिङ’ : प्रधानमन्त्री बोलीको टिप्पणीदेखि, गठबन्धनको भविष्यसम्मको छलफल

  1. संसदको अंकगणितको अवस्थालाई हेरेर ओलिले भनेका हुन् । दुई तिहाई पुर्याउन अहिले काँग्रेस एमाले बाहेकका दलको सहयोग लिनु परेमा त्यो काम महाभारत छ । तिनको माग हेर्ने हो भने लगभग भोलि नै नेपाललाई भारतमा गाभिदिउँ भन्ने सम्मको हुन्छ । माओवादी, समाजवादी, तराईका दल जस्ता बिकाउको भर गरेर संशोधन नगर । बरू ढिलै होस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *