न्यूयोर्क टाइम्सको १० विश्व गन्तव्य सूचीमा समेटियो लुम्बिनी, पर्यटनमा टेवा पुग्ने अपेक्षा
रुपन्देही । विश्व शान्ति केन्द्र बुद्ध जन्मस्थल लुम्बिनी १० विश्व गन्तव्यको सूचीमा समेटिएको छ । लुम्बिनीलाई अमेरिकाको न्यूयोर्क टाइम्सले सन् २०२५ का मुख्य १० गन्तव्यमध्ये नवौँ स्थानमा राखेको हो ।
यसले लुम्बिनीलाई विश्वभर प्रचारप्रसार गरी बाह्य एवं आन्तरिक पर्यटन प्रवर्द्धनमा सकारात्मक सन्देश प्रवाह गर्ने लुम्बिनी विकास कोष र पर्यटन व्यवसायीले बताएका छन् । कोषका सदस्य सचिव सानुराजा शाक्यले न्यूयोर्क टाइम्सले लुम्बिनीलाई विश्व गन्त्व्यको सूचीमा राख्नु देशकै लागि ठूलो उपलब्धि भएको बताए । यो गौरवलाई जोगाइ राख्नुपर्ने उनको भनाइ छ ।
लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवाली अब यसलाई सबै मिलेर प्रचार प्रसारमा ध्यान दिनुपर्ने बताउँछन् ।
धार्मिक र सांस्कृतिक दृष्टिकोणबाट महत्वपूर्ण लुम्बिनी नेपाल आउने धेरै पर्यटकको रोजाइमा पर्ने गरेकामा यस कार्यले पर्यटक आकर्षणमा सघाउ पुग्ने पर्यटन व्यवसायीको विश्वास छ ।
लुम्बिनीको ऐतिहासिक महत्व र शान्त वातावरणले विश्वभरका पर्यटकलाई यहाँ आकर्षित गराउँछ । कोषका सदस्य सचिव शाक्यका अनुसार न्यूयोर्क टाइम्सको छनौट प्रकृयाका विषयमा कुनै पूर्व सूचना नभएपनि केही समयअघि लुम्बिनीका हजार गुम्बाहरुको उद्घाटनले त्यहाँ आएको ठूलो समूहलाई सकारात्मक प्रभाव परेको र त्यसैको नेटवर्कबाट यो भएको हुनसक्छ ।
हजार गुम्बाहरुको उद्घाटनमा एक भिक्षु गुरुको निमन्त्रणामा न्यूयोर्क टाइम्सका प्रतिनिधि पनि आएका थिए ।
न्यूयोर्क टाइम्सको सूचीअनुसार पहिलो नम्बरमा इंल्याण्डको जाने अस्टिन्स, दोस्रोमा आइसल्याण्डको गलाप्यागोज, तेस्रोमा न्यूयोर्ककै सिटिम्युजिअम, चौथोमा भारतको आसाम, पाँचौमा थाइल्याण्डको ह्वाइट लोटस, छैठौंमा ग्रिनल्याण्ड, सातौंमा फ्रान्सको एइस्सइन प्राभिजन, आठौंमा सनभ्याली नवौंमा नेपालको लुम्बिनी र दशौंमा अष्ट्रेलियाको सिड्नी रहेको छ ।
सन् २०२४ मा भारतसहित ११२ देशका पर्यटकले लुम्बिनी भ्रमण गरेको तथ्यांक लुम्बिनी विकास कोषले राखेको छ । तथ्यांकअनुसार गतवर्ष तेस्रो मुलुकका १ लाख ११ हजार ४ सय ३ जना लुम्बिनी आउँदा भारतबाट ३ लाख ८ सय ८९ पर्यटक यहाँ आएका छन् ।