नासा हाइड्रोको पहुँच मार्ग निर्माणमा दुगड समूहको लापरवाहीले कामदारलाई वर्षेनि जोखिम – Nepal Press

नासा हाइड्रोको पहुँच मार्ग निर्माणमा दुगड समूहको लापरवाहीले कामदारलाई वर्षेनि जोखिम

चरिकोट । दोलखाको लामाबगरमा जलविद्युत आयोजना निर्माण गरिरहेको एमभी दुगड समूहको लापरवाही पटक-पटक दोहोरिएको छ । उक्त समूहको स्वामित्व रहेको नासा हाइड्रोले १६० मेगावाटको लप्चीखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

आयोजनाको लामावगर-लप्ची पहुँचमार्ग निर्माणका लागि बिस्फोट गराउने क्रममा शुक्रबार तीनजना घाइते भएका छन् । उक्त सडकको हुरहुरे सडक खण्डमा गराइएको विस्फोटपछि खसेको पहिरोमा उनीहरू घाइते भएका हुन् । घाइते हुनेमा विगु गाउँपालिका-१ लामावगरका अन्दाजी ३० वर्षीय दिलकुमार तामाङलगायत छन् ।

पहिरोसँगै आएको ढुंगा लागेर दायाँ हात भाँचिएका दिलकुमार तामाङको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । अन्य दुईको चरिकोटमा उपचार भइरहेको छ ।

गत वर्ष पनि सोही सडक निर्माणका लागि बिस्फोट गराउने क्रममा एकजना कामदारले ज्यान गुमाएका थिए । अन्य दुईजना कामदार घाइते भएका थिए । विस्फोटक पदार्थ प्रयोगमा आवश्यक सुरक्षा र सावधानी नअपनाइएपछि दुर्घटना भइरहेको स्थानीय बताउँछन् । यो सडक निर्माणकै क्रममा तीनजनाले ज्यान गुमाइसकेका छन् ।

आयोजनाको लापरबाहीका कारण दुर्घटना र जोखिम बढेको भन्दै स्थानीयले बारम्बार प्रश्न उठाइरहेका छन् । गत जेठ महिनामा निर्माण क्षेत्रबाट झरेको सुख्खा पहिरोले तामाकोशी नदी थुनिएको थियो । नदी तीन घण्टाभन्दा बढी थुनिँदा तटीय क्षेत्रका स्थानीय त्रसित भए । प्रवेशमार्ग निर्माणमा धेरै बिस्फोट गराउँदा सुख्खा पहिरो जाने, भौतिक तथा मानवीय क्षति हुने र थप जोखिम बढेको भन्दै स्थानीय चिन्तित छन् ।

तामाकोशीको बाँधसमेत जोखिममा रहेको स्थानीयले बताएका छन् । लप्चेखोला माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँध स्थलभन्दा माथिल्लो क्षेत्रमा पर्दछ । उक्त आयोजनासम्म सडक पहुँच पुर्‍याउन तामाकोशी आयोजनाको बाँधबाट दायाँतर्फ सुरुङसहितको प्रवेशमार्ग बनाइँदैछ ।

हाइड्रोपावरको नाममा कम्पनीले प्राकृतिक दोहनसँगै मापदण्डविपरीत काम गर्दा पनि नियामक निकायको ध्यान नगएको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर