रविका २० वकिल जम्मा, जाहेरवालाले वकिल थपेमा लम्बिने खतरा – Nepal Press

रविका २० वकिल जम्मा, जाहेरवालाले वकिल थपेमा लम्बिने खतरा

काठमाडौं । सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा बयानका निम्ति आफैँ काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको पक्षमा बहस गर्न २० जना वकिलले वकालतनामा लिएका छन् । प्राय: सबै अदालतमा जम्मा भइसकेका छन् ।

रास्वपाको अनुशासन आयोगका पूर्वउपप्रमुख तथा अधिवक्ता यज्ञमणि न्यौपाने अहिले रविको पक्षका वकिललाई वकालतनामा दिने र जम्मा पार्ने काममा सक्रिय छन् ।

‘२० जना पुगिसक्यौँ, साथीहरू थपिन आउने भन्दै हुनुहुन्छ, पर्दैन भनेको छु’, नेपाल प्रेससँग कुरा गर्दै न्यौपानेले भने । तर, जाहेरवालाले पनि कानुन व्यवसायी थप्ने भनिरहेका कारण उनीहरूका थप कानुन व्यवसायी जम्मा भएमा बहस लम्बिने र आदेश आउन ढिलो वा आज नआउने खतरा रहेको न्यौपाने बताउँछन् ।

‘आजै सिध्याउन पाए हुन्थ्यो भनेको, उता (जाहेरवाला) बाट थपिएलान्जस्तो कुरा आयो’, उनले भने ।

रविको पक्षमा बहस गर्न वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधीवक्ताहरु सुशील कुमार पन्त, रमणकुमार श्रेष्ठ, वरिष्ठ अधिवक्ता डा. नारायण घिमिरे, अधिवक्ताहरू डा. नारायण कँडेल, यज्ञमणि न्यौपाने, सुदीज्ञ पन्त, हरिचन्द्र भट्टराई, टीका ढकाल, गणेश शर्मा, मनिषा गौतम, मधु चौलागाईंसहितका वकिल छन् ।

‘सुशील सर र रमण सर अन्तिममा आउनुहुन्छ, अरु आइसक्यौँ’, न्यौपानेले भने । वकालतनामा दिइए पनि इजलास बस्नेबेलामा मात्रै पेश हुने उनले बताए ।

बयान लामो भएन र प्रतिवादीका तर्फबाट आउने भनिएका थप कानुन व्यवसायी नआएमा आजै थुनछेकको बहस सकिने न्यौपानेले अनुमान गरे ।

‘बहस सकिएपछि आदेश त आइहाल्छ नि’, उनले भने । आफूहरूको तर्फबाट बहस नलम्ब्याइने न्यौपाने भन्छन् ।

‘हामीलाई त आदेश छिटो चाहिएको छ, अन्तिममा एक जना टपमोस्ट वकिलले २० मिनेट बोलेपछि सिध्याइदिन्छौं’, उनले भने ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर