कृषि मन्त्रालयद्वारा पाँच वर्षमा एक खर्ब ७ अर्ब ६६ करोड अनुदान प्रदान (भिडिओ) – Nepal Press

कृषि मन्त्रालयद्वारा पाँच वर्षमा एक खर्ब ७ अर्ब ६६ करोड अनुदान प्रदान (भिडिओ)

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पछिल्लो पाँच वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख ८९ हजार अनुदान प्रवाह गरेको छ ।

आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले अनुदान लाने कृषि सहकारी, कृषि समूह तथा कृषि फर्महरूका नाम सार्वजनिक गर्दै १ खर्बभन्दा माथि अनुदान प्रवाह भएको जनाएको हो ।

पत्रकार सम्मेलनमा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले यस अवधिमा मन्त्रालयबाट प्रत्यक्ष र अप्रत्यक्ष गरी दुई प्रकारका अनुदान प्रवाह भएको जानकारी दिए ।

त्यसमध्ये प्रत्यक्षतर्फ कृषि सहकारी र समूहलाई २० अर्ब ३० करोड ३० लाख १४ हजार अनुदान उपलव्ध गराइएको मन्त्रालयले जनाएको छ । त्यस्तै, अप्रत्यक्षतर्फ अनुदानित रासायनिक मल ८७ अर्ब ३५ करोड ९७ लाख ७३ हजार रुपैयाँ अनुदानमा वितरण भएको मन्त्री अधिकारीले जानकारी दिए ।

उनले कृषि अनुदान दुरुपयोग गरिएको भेटिए कारबाहीको दायरामा ल्याइएको स्पष्ट पारे । मन्त्री अधिकारीले आम जनता, सञ्चार माध्यमलाई अनुदान रकमको प्रयोगका बारेमा खोज्न र जान्न पनि आग्रह गरे । मन्त्रालयले सार्वजनिक गरेको सूचीमा प्रदेश र स्थानीय सरकारबाट वितरण गरिएका अनुदान रकम नपर्ने पनि उनले प्रष्ट पारे ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट ६ अर्ब ६१ करोड ९५ लाख ३१ हजार रुपैयाँ रकम प्रवाह भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, कृषि क्षेत्र विकास कार्यक्रमबाट ८० करोड १९ लाख ६१ करोड रुपैयाँ रकम प्रवाह भएको छ । खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनाबाट १ अर्ब ५ करोड ३७ लाख ७९ हजार रुपैयाँ प्रवाह भएको छ ।

त्यस्तै, उखु कृषक प्रोत्साहन अनुदानमार्फत ४ अर्ब ७ करोड २४ लाख २० हजार रुपैयाँ यसबीचमा वितरण भएको मन्त्री अधिकारीले जानकारी दिए ।

त्यस्तै, कृषि बिमाको प्रिमियम अनुदान तर्फ ५० करोड ४८ लाख ८२ हजार, पशुपन्छी तथा मत्स्य बीमाको प्रिमियम अनुदान तर्फ ५ अर्ब १३ करोड ८० लाख ६६ हजार रुपैयाँ प्रवाह भएको पनि मन्त्रालयले जनाएको छ । विगतमा फेज आउट भएका परियोजना मार्फत पनि अनुदान रकम प्रवाह भएको भेटिएको भन्दै मन्त्री अधिकारीले सो को विवरण पनि छिटै सार्वजनिक गर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर