वेदनामा कल्पनाः आँखाको ज्योति जाँदैछ, विस्मृतिले खाँदैछ !
काठमाडौं । ‘त्यता बिजोग देखाएर नबस्, लुगा बोकेर खुरुक्क यता आइज’, लेखक कल्पना बान्तवालाई गत साता बिसौनी सेवागृहकी वेदना थुलुङले फोनमा भनिन् । अत्यासलाग्दो जिन्दगी बाँचिरहेकी कल्पनाले पनि केही थान लुगा पोको पारिन् । आफूलाई चाहिने अत्यावश्यक सामानको गुन्टा बनाइन् । र, लागिन् बिसौनी सेवा गृह, हात्तीगौंडा ।
जाने कतै ठाउँ छैन कि जस्तो सोचिरहेको वेला वेदनाले कल्पनालाई ‘आइज’ भनेकी थिइन् । पुग्ने कुनै ठेगाना छैन कि जस्तो सोचिरहेको वेला कल्पनाले बिसौनी सेवा गृहको ठेगाना पाएकी थिइन् । जाने ठाउँ सबै सबै बन्द भएको हो कि जस्तो लागिरहेको वेला कल्पनाका लागि सेवा गृहको ढोका खुलेको थियो ।
कल्पनाको दाहिने आँखाको रेटिना प्यारालाइज्ड हुँदै गएको छ । उनको आँखाले विस्तारै धमिलो देख्न सुरु गरिरहेको छ । अक्षर छिचोल्न नसक्ने समस्याले त उनलाई ऐंजेरुले रुखलाई गाँजे जसरी गाँजिरहेको छ । उनी अक्षरलाई छुट्याएर पढ्नै सक्दिनन् ।
बितेको अढाइ महिनादेखि फेसबुक डिएक्टिभ गरेकी थिइन् ।
‘मलाई फेसबुकको पासवर्ड राखेर लगइन गर्न पनि कम्ता गाह्रो भएन’, कल्पना सुनाउँछिन्, ‘झण्डै एक घण्टामा बल्लतल्ल रिएक्टिभेट भयो ।’
केही समयअघिसम्म नयाँ पुस्तक ‘कल्की’लाई फाइनल सम्पादन गर्न लागिपरेकी थिइन् । ‘कल्की’ विशुद्ध प्रेमकथा हो । प्रेमकथा भएपछि त अक्षरहरुको छाँटकाँट झनै आवश्यक भयो । आफ्नो जीवनमा प्रेमको राम्रोसँग छाँटकाँट गर्न नसकेकै कारण अनेक आरोह-अवरोह झेलेकी कल्पना उपन्यासलाई चुस्त बनाउन चाहन्थिन् । १० वर्षअघि फाइन प्रिन्टबाट उनको चर्चित उपन्यास ‘कायाकल्प’ प्रकाशित भएको थियो ।
यो उपन्यासमा त कल्पनाले आफ्नै जीवनको रङ पोतेकी छन् । काया नामक पात्रले प्रेमका खातिर अनेक हण्डर खान्छ । त्यो हण्डरको मुख्य स्रोत नै कल्पना स्वयंको असफल प्रेमकथा थियो ।
०००
दुई साताअघि कल्पनाको आँखामा समस्या आयो । अलिकति बाँकी ‘कल्की’को सम्पादन रोकियो ।
एकै पटक दुइटा दृश्य देखिने, देखिएको वस्तु स्पष्ट नदेखिने समस्या आइलाग्यो । यतिमात्रै होइन, हिँडडुल गर्न पनि गाह्रो भयो उनलाई । चार वर्षअघि मात्रै क्षयरोगलाई जितेर आएकी उनी यसै पनि डायबिटिज र ब्लडप्रेसरका दीर्घ बिरामी हुन् ।
यसमा विस्मृतिको बिरामी थपिएको छ । उनी हरेक कुरा बिर्सिन्छिन् । प्रसंगमात्रै होइन, घरीघरी त शब्द पनि बिर्सिन्छिन् । साइकियाट्रिकको सल्लाहमा २०-२२ वर्षदेखि ट्याब्लेट खाइरहेकी छन् । अनिद्राले अत्यधिक विथोल्छ ।
यी समस्याहरुका बीच आँखामा आएको समस्याले कल्पनालाई मनोवैज्ञानिक रुपमै विचलित बनाएको छ । लेख्नुपर्ने, पढ्नुपर्ने मान्छेको आँखामै समस्या आउँदा के होला ! ऊ कस्तो मनस्थितिबाट गुज्रिएला ! लेख्नै नसक्ने, पढ्नै नसक्नेबारे कल्पना गर्नसम्म सक्दिनन् कल्पना ।
उनको आँखाको समस्या नयाँ भने होइन ।
साढे पाँच वर्षअघिको एक दिन ।
कल्पनालाई अचानक रिंगटा लाग्यो । हेराईमा गडबड देखियो । एउटै दृश्य दुइटा देख्न थालिन् ।
उनी टिचिङ अस्पताल गइन् । एमआरआई गरिन् । डाक्टरले आँखा र न्युरोको समस्यालाई सँगसँगै हेरे । अनि भने, ‘आँखामा अलि समस्या देखिएको छ । तुरुन्तै भर्ना भएर उपचार गर्नुपर्छ ।’
तर कल्पनाले तत्काल उपचार गर्न सकिनन् । त्यसको कारण एकै थियो- आर्थिक ।
‘अनि भगवान भरोसा’ भनेर घर आइन् । घरमा वृद्ध आमा पनि थिइन् । आमा आफैंमा दीर्घरोगी थिइन् । ८३-८४ वर्षकी भइसकेकी थिइन् । कल्पनाको आफ्नो भन्नु पनि तिनै आमा थिइन्, तर आमाले पनि कल्पनालाई छाडेर गइन् ।
आमा बितेपछि जीवनलाई जसोतसो एक्लै घिसारिरहेकी थिइन्, तर दुई साताअघि अचानक उनलाई हेर्न गाह्रो भयो । जसोतसो काम चलाउ छँदैछ भनेर उपचार नगरेको आँखामा समस्या आयो ।
‘यस पटक म कहाँ जाउँ, कसलाई देखाउँ जस्तो भयो’, कल्पना सुनाउँछिन्, ‘समस्याबारे सञ्जालमा लेखें ।’
मानवशास्त्री डम्बर चेमजोङले ट्वीटरमा सोधे, ‘के भएको हो तपाईंलाई ? हिँड्नुस्, डा. सगुनकहाँ लगिदिन्छु ।’
डा. सगुनले भने, ‘तपाईंको आँखाको दाहिने साइडको रेटिनामा स्ट्राइक हानेको छ । अब त्यसलाई केही गर्न सकिँदैन । त्यो विस्तारै सुक्दै जान्छ ।’
‘डाक्टरले नै त्यसो भन्नुभएपछि अब के गर्नु र मैले’, कल्पना सुनाउँछिन्, ‘ठीकै छ भनें ।’
‘यो कुराले मनोवैज्ञानिक रुपमा त धेरै गाह्रो बनाएको होला तपाईंलाई ! तपाईं त लेख्नुपर्ने, पढ्नुपर्ने मान्छे’, मसँगै कल्पनालाई भेट्न गएकी लेखक सगुना शाहले भनिन् ।
‘एकदमै…. !’, एकछिन रोकिएर कल्पना बोलिन्, ‘राति निदाउन के के औषधि खान्छु, औषधिले पनि छुँदैन । बिर्सने समस्या थपिएको छ, बोल्दाबोल्दै कति कुरा सम्झिनै सक्दिनँ ।’
सगुनाले भनिन्, ‘मलाई ६ वर्षअघि नै डाक्टरले ग्लकोमा (जलविन्दु)को आशंका गरेको थियो । त्यो भनेको पनि दृष्टि नै जाने हो नि त ! मेरो त अगाडिको प्लेटको खानेकुरा नै धमिलो देखिन्थ्यो । अनि दृष्टि नै गयो भने कसरी पढ्ने ! कसरी लेख्ने !’
‘अबुई…. !’, कल्पना तर्सिंदै सम्हालिएर बोलिन्, ‘लेखपढ छैन भने कसरी समय कटाउनू ? कसरी बाँच्नू ? लेखपढविना त के गर्नु छ र मैले बाँकी जीवनमा !’
५५ वर्षीया कल्पना थप्छिन्, ‘गत आइतबार त म एकदमै डिप्रेस्ड भएँ । अब के गर्ने, अनि वेदनालाई फोनमा समस्या बताएँ । ऊ साथी पनि हो, आफन्त पनि पर्छे । उसले यता बोलाई, म आएँ ।’
०००
कल्पनाले नर्सिङ पढेकी हुन् । जुनुनले लेखक बनेकी हुन् ।
ठूलो रुखको सेपमा परेको सानो रुख जस्तो उनको विशालकाय लेखकको परिचय सामुन्ने नर्सिङ पनि सेपमा पर्यो । टिचिङ अस्पतालकी स्थायी नर्स थिइन् कल्पना । खै के सनक चढेर हो, जमानामै छाडिन् । त्यो पनि कुनै कागजपत्र नमिलाइकन छाडिन् । यसपछि प्रोजेक्टहरुमा काम गरिन् । हङकङ जाने चक्करमा लागिन् ।
बेलाबेला उनलाई लाग्छ, ‘कास म जागिरमै झुण्डिरहेको भए पनि यस्तो आर्थिक समस्या पर्दैनथ्यो ।’
टिचिङ अस्पतालको जागिर सम्झनासाथ कल्पनाको आँखामा डा. भगवान कोइराला र नर्सिङ इन्चार्जको अनुहार झलझली आउँछ । त्यसवेला ब्लड प्रेसरले हानेर उनी बिरामी भएकी थिइन् । डा. भगवानलाई नाइट ड्युटी गर्न नसक्ने, डे ड्युटीमात्रै केही समयलाई मिलाइदिनु भन्दा उनले भने, ‘बरु तिमी अबदेखि घरमै बस, घरमै तलब पठाइदिन्छु ।’
यसअघि कल्पनाले डा. भगवानको नाममा एउटा लेख नै लेखेकी थिइन्, ‘धन्य भगवान’ भनेर ।
‘पछि त त्यो आर्टिकलको कटिङ नै कच्याककुचुक पारेर फालिदिएँ’, कल्पना दुखेसो पोख्छिन्, ‘त्यही मान्छेले गर्दा मैले जागिर छाड्नुपर्यो ।’
०००
कल्पनाको भाइ-बुहारी छन् काठमाडौंमा, तर भाइ-बुहारीबारे केही बोल्न चाहँदिनन् उनी । बिसौनी आवास गृहमा आउनुअघि भाइ-बुहारीसँगै बस्थिन् । भाइ-बुहारीसँगै बसे पनि लामो समयदेखि आफूलाई आफैं खाना पकाउँथिन्, खान्थिन् ।
‘बिरामीले झनै च्यापेपछि हिँड्नै नसक्ने भएँ, त्यहाँ त मेरो जिन्दगी बेकारको भयो’, कल्पना उदास हुँदै बोल्छिन् ।
अनि भाइ-बुहारी छाडेर आवास गृह आइन् ।
जाडोको मौसम छ । उनलाई आवास गृहमा लुगा पुगेन । भाइलाई फोन गरे, ‘तिमीहरु कता छौ कुन्नि, म लुगा लिन आउँछु । हामीले राख्ने ठाउँमा चाबी राखिदे है !’
केही दिनअघिको कुरामात्रै हो । कल्पना लुगा लिन गइन् । लुगा पोको पारिन् । त्यसैवेला बुहारी आइन् । कल्पना भन्छिन्, ‘बुहारीलाई देखेर हाँसेर ‘गएँ ल’ भनेर निस्किएँ ।’
०००
सप्तरीमा जन्मिएर हुर्किएकी कल्पनाले छँदाखाँदाको जागिर छाडिन् । हङकङ जाने चक्करमा परिन् । प्रेममा असफलताहरु भोगिन् । स्वास्थ्यमा जटिलताहरु झेलिन् ।
‘यो सबै कुरा मैले कायाकल्पमै लेखेकी छु’, कल्पना फ्याट्टै बोलिन् ।
‘लेखकहरुले पात्रमार्फत् आफ्नो कथा भन्छन् क्या भाइ’, लेखक सगुनाले कल्पनाको कुरालाई सहज बनाउन कोसिस गरिन् ।
कल्पना भने मुसुमुसु हाँसिरहिन् मात्रै । प्रेमको कुरा गर्यो कि हाँसिहाल्थिन् । डेढ घण्टा लामो बसाइमा पहिलो पटक हाँसेकी थिइन्, सायद लाजले । मान्छे त हाँसेकै सुहाउने रहेछ ।
लजाइसकेपछि कल्पना सुनाउँछिन्, ‘२०-२२ वर्ष भयो मैले साइकियाट्रिक्सको औषधि खाइरहेकी छु । औषधि खाएपछि निदाउन अलि सजिलो हुन्छ ।’
कल्पना थप बोल्छिन्, ‘कायाकल्पमा तीन वटा प्रेमकथा छ । पहिलो र दोस्रो मेरै कथा हो, तेस्रो चाहिँ काल्पनिक हो ।’
‘उसो भए त दुवै प्रेम असफल भए, किन ?’
‘पहिलो प्रेम सफल हुने खालको नै थिएन । उसले मलाई किन घात गर्यो, थाहा छैन । दोस्रो प्रेम चाहिँ १४ वर्षसम्म चल्यो, तर सफल भएन ।’
कल्पना भक्कानिइन् । सगुनाले सम्हालिन् ।
सम्हालिएपछि कल्पना आँसु पुछ्दै बोल्छिन्, ‘साँच्चिकै भन्नुपर्दा मलाई माया गर्ने मान्छे नै भेटिनँ मैले ।’
०००
साहित्यिक बजारमा कल्पना निष्क्रिय जस्तो देखिन्छिन् । सार्वजनिक फोरममा त्यति देखिन रुचाउँदिनन् । ‘कायाकल्प’को समेत विमोचनसम्म गरिनन् । आफ्नो कथा आफैंभित्र बिलाएर जानुभन्दा लेखुँ भन्ने लागेर उपन्यास बनाएर लेखेको बताउँछिन् ।
सुरुमा यो किताब नेपालयले छाप्ने भनेको थियो । ५० हजार रुपैयाँ दिएको पनि थियो, तर छापिएन । पछि फाइन प्रिन्टले छाप्यो, ८० हजार रुपैयाँ एड्भान्स दियो । यसपछि किताबको एक रुपैयाँ लिएकी छैनन् । सायद किताब बिक्री नभएरै हो कि भन्ने लाग्छ कल्पनालाई ।
अहिले कल्पनाको आम्दानीको स्रोत केही छैन ।
एक बहिनी छिन् युकेमा । उसलाई भिसाको लागि कागजहरु बनाउन सहयोग गरेकी थिइन् । तिनै बहिनीले कहिलेकाहीँ कल्पनालाई सम्झेर कहिले १५ हजार, कहिले २० हजार पठाइदिन्छे ।
‘आम्दानीको स्रोत केही छैन । त्यही ममताले पठाइदिएको पैसा जोगाएर चलाउँछु’, कल्पना भक्कानिन्छिन्, ‘त्यतिमात्रै छ भगवान… !’
आँसु सम्हाल्दै बोल्छिन्, ‘ममताले पनि कति गरोस् ! उसलाई पनि उता गाह्रो होला । उसकी पनि छोरी छे । बुढाले छोरी सानै हुँदा छाडेर गयो । जापान गएर जापानिजसँग विवाह गरेर बस्यो ।’
थप भन्छिन्, ‘एमआरआई गर्नै १८ हजार लाग्दो रहेछ । त्यसका लागि बाहिर तीन हजारको सामान किन्नुपर्ने रहेछ । त्यही ममताले दिएको पैसा १०-१५ हजार अझै बाँकी छ । सेभिङ केही छैन । अब रिपोर्ट आएपछि के भन्छ कुन्नि, केही थाहा छैन !’
अनि अब घर कहिले फर्कने ?
‘खै…. । मंगलबार रिपोर्ट आएपछि न्युरोलाई पनि देखाउनुपर्ने होला । अनि सोच्छु । अब घरमा त एक्लै दिनभरि के गर्नु होला ! बहुलाउँछु होला जस्तो लाग्छ । वेदनाले यहाँ बोलाउँदा मलाई ठूलो राहत भयो ।’