सबै मिलेर सङ्घीयता कार्यान्वयन गरौँ : प्रदेश प्रमुख मियाँ – Nepal Press

सबै मिलेर सङ्घीयता कार्यान्वयन गरौँ : प्रदेश प्रमुख मियाँ

अर्घाखाँची । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले सङ्घीयता कार्यान्वयनको दायित्व सबै निकायको रहेको बताएका छन् । सरकारी, गैरसरकारी निकाय र आम नागरिक मिलेरै सङ्घीयता कार्यान्वयन हुने भएकाले यो सबैको दायित्व भएको बताए ।

गृह जिल्ला अर्घाखाँची आएका प्रदेश प्रमुख मियाँले सङ्घीयताबारे गलत ढंगले प्रचारबाजी भइरहेकाले यसलाई चिर्न सञ्चार जगत लाग्नु पर्ने बताए ।

देशका ठुलाठुला परिवर्तनमा सञ्चार क्षेत्रले महत्त्वपूर्ण योगदान गरेको स्मरण गर्दै उनले सङ्घीयता कार्यान्वयनको चरणमा पनि सञ्चार माध्यमहरू सकारात्मक ढंगले लाग्नुपर्ने बताए ।

‘सञ्चार क्षेत्रको विगतमा पनि उल्लेख्य भूमिका छ,उनले भने, ‘सङ्घीयताबारे नकारात्मक प्रचारबाजी भएका छन् । त्यसलाई सञ्चार जगतले चिर्नु पर्छ ।’

कुनै एक तह वा एक निकाय लागेर सङ्घीयताको पूर्ण कार्यान्वयन नहुने भएकाले सबै आ–आफ्नो ठाउँबाट लाग्नु पर्ने उनको भनाई थियो ।

सङ्घीयताका बेफाइदाहरू देखाएर धावा बोल्ने काम भएको भन्दै यसका फाइदाहरू ओझेलमा पारिएको बताए ।

सङ्घीयताले गाउँ गाउँमा विकासको आभास दिलाएको भन्दै केन्द्रीकृत शासन प्रणाली उत्तम नहुने बताए ।

तहगत सरकार हुँदा दूर दराजका नागरिकले त्यसको फाइदा लिएको भन्दै मियाँले पहिल्यै अभ्यास गरेर फालिएको केन्द्रीकृत शासन प्रणाली फेरी ल्याउने सम्भावना नरहेको स्पष्ट पारे ।

सबै क्षेत्रलाई समेटी बनाएको संविधान उत्कृष्ट रहेको समेत प्रदेश प्रमुख मियाँले बताए।

पत्रकारहरूसँग कुरा गर्दै प्रमुख मियाँले सुदूरपश्चिम प्रदेश सरकार आफू गएपछि व्यवस्थित भएको बताए । ,उनले भने,‘म गएपछि केही नयाँ अभ्यासहरू ग¥यौं र केही व्यवस्थित भएको छ ।’

यसैबिच छैटौँ अर्घाखाँची महोत्सव २०८१ को उद्घाटन सुदूरपश्चिम प्रदेश प्रमुख मियाँले गर्ने भएका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्य विशिष्ट अतिथिको रुपमा सहभागी हुनेछन्। सन्धिखर्कस्थित कुँडुले फाँटमा आज उद्घाटन हुने मेला माघ १२ गतेसम्म चल्ने छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर