लुम्बिनीमा प्रदेश प्रमुखले प्रमाणीकरण गरे स्थानीय निजामती सेवा विधेयक
रुपन्देही । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले स्थानीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।
प्रदेश सभाबाट पुस १७ गते पारित भएको विधेयक प्रदेश प्रमुख घर्तीले सोमवार प्रमाणीकरण गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भविश्वर घिमिरेले बताए ।
प्रदेशसभाबाट नेपालको संविधानको धारा १९९ बमोजिम पारित भई धारा २०१ को उपधारा १ बमोजिम प्रमाणित भएर प्रमाणीकरणका लागि पेश भएको उक्त विधेयक संविधानको धारा २०१ को उपधारा ४ बमोजिम प्रमाणीकरण गरेको कार्यालयले जनाएको छ ।
प्रदेशसभाको चौथो अधिवेशनबाट यो विधेयक पास भएर प्रदेश प्रमुख कार्यालयमा प्रमाणीकरणका लागि पेश गरिएको थियो । तर, प्रदेश प्रमुखले सन्देशसहित विधेयक फिर्ता गरेका थिए ।
अहिले फेरी प्रदेश सभाले सो विधेयक हुबहु पारित गरेको थियो । प्रदेश सभाबाट हुबहु पारित विधेयक प्रदेश प्रमुखले प्रमाणीकरण गरेका हुन् । सँगै पेश भएको प्रदेश निजामती विधेयक आइतबार प्रमाणीकरण गरेका थिए ।