सरकारी वकिलको जिरहः कास्की अदालतको आदेश बिर्सिएर रविलाई थुनामै पठाइयोस् – Nepal Press

सरकारी वकिलको जिरहः कास्की अदालतको आदेश बिर्सिएर रविलाई थुनामै पठाइयोस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मुछिएको सहकारी ठगीको मुद्दामा काठमाडौं जिल्ला अदालतमा थुनछेक आदेश जारी छ । अहिले ५ जना सरकारी वकिलहरूले बहस सकेका छन् ।

न्यायाधीश माधवप्रसाद अधिकारीले बहसका लागि २ घण्टाको समय निर्धारण गरेका थिए । तर, २ घण्टा २० मिनेटसम्म सरकारी पक्षकै बहस सकिएको छैन । अझै ६ जना सरकारी वकिल बहस गर्ने लाइनमा छन् । सरकारी वकिलको सकिएपछि रविको पक्षबाट बहस हुनेछ ।

सरकारी वकिलहरू सन्तोष राज कटुवाल, राधिका सुवाल, बिना खड्का, चन्द्र सञ्जेल र खडिन्द्रराज कटुवालले बहस सकेका हुन् । उनीहरूले एक स्वरमा रविलाई थुनामै पठाउनुपर्ने माग गरे । यसअघि कास्की जिल्ला अदालतले गरेको आदेशलाई नजिर मान्न नहुने उनीहरूको जिरह छ ।

वकिलहरूको साझा भनाइ थियो, ‘कास्की अदालतले गरेको आदेश बिर्सिदिनुस् श्रीमान्, रवि लामिछानेलाई थुनामै पठाउनुपर्छ ।’

रवि एक्लैले ८ सयभन्दा बढी चेक काटेको, सहकारीको पैसाले गाडी किनेको तथा अटो कम्पनीमा किस्ता तिरेको दाबी सरकारी वकिलहरूले गरे ।

रविको तर्फबाट दुईजनाले मात्रै बहस गर्ने तयारी गरिएको छ ।

पूर्वमहान्यायाधीवक्ताद्वय सुशील पन्त र रमण श्रेष्ठले रविको पक्षबाट बहस गर्न लागेका हुन् । दुवै पक्षको बहसपश्चात् न्यायाधीशले रविलाई थुनामा पठाउने, धरौटीमा छोड्ने वा साधारण तारेखमा छोड्ने निर्णय लिनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *