सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ माघ ११ मा तय, प्रधानमन्त्री आउने
रुपन्देही । बहुप्रतिक्षित सिद्धबाबा सुरुङमार्गको काम सकिए पनि ‘ब्रेक थ्रु’ माघ ११ गते हुने भएको छ । पुस मसान्तमै काम सकिएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तताका कारण ‘ब्रेक थ्रु’ समय तेस्रो पटक सारिएको छ ।
सुरुङ खन्ने वा ठूला निर्माणको क्षेत्रमा ‘ब्रेक थ्रु’ सेरेमोनीका रूपमा मनाइने भएकाले विशेष कार्यक्रम राखिएको सिद्धबाबा सुरुङमार्ग आयोजना प्रमुख कृष्णराज अधिकारीले बताए । उनका अनुसार प्रधानमन्त्रीको सचिवालयबाट माघ ११ गतेलाई समय मिलाइएको जानकारी पाइएको छ । सोहीअनुसारको तयारी भइरहेको उनले बताए ।
पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले आफूलाई प्रधानमन्त्रीको सचिवालयबाट माघ ८ गते हुने कार्यक्रमलाई ११ गते सार्ने जानकारी आएको बताए । ‘पहिले माघ ८ गतेलाई कार्यक्रम राख्ने भन्ने थियो, पुनः सचिवालयबाट ११ गते कार्यक्रम राख्ने भन्ने आएको छ’ उनले भने । सरासर काम गरेको भए पुस मसान्तमै सकिने भएपनि उद्घाटनको समय मिलाउन केही दिन सारिएको सूचना पाएको स्थानीय दलबहादुर गुरुङले बताए ।
सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३, दोभान सिद्धबाबामा निर्माणाधीन सुरुङमार्ग खनेर सक्न अब १.५ मिटर मात्र बाँकी छ । ११२६ मिटरको सुरुङमध्ये खन्नुपर्ने भाग १०८९ मिटर मात्रै हो । जसमध्ये ‘ब्रेक थ्रु’ का लागि १.५ मिटर बाँकी राखेर १०८७.५ मिटर सुरुङ खनेर सकिएको छ ।
दक्षिणतर्फ ६०८ मिटर र उत्तरतर्फ ४७९.५ मिटर सुरुङ खनिएको छ । ब्रेक थ्रु सेरेमोनी गर्ने दिनमा बाँकी १.५ मिटर भाग ब्लास्ट गरिनेछ । यसअघि नै तीनवटा बाइपास टनेल मुख्य टनेलसम्म जोडिएको छ । बाइपास एक १५१ मिटर, दुई १६१ मिटर, र तीन १३० मिटर टनेल रहेको छ । सोही दिन प्रधानमन्त्री ओलीबाट बुटवल-गोरुसिङ्गे सडक शिलान्यास गर्ने कार्यक्रम छ ।
मुख्य टनेल ब्रेक थ्रु गरेपछि सुरुङभित्रको भुइँ र भित्तामा लाइनिङ गर्ने कामलाई तीव्रता दिइनेछ । गाडी गुड्ने क्षेत्र निर्धारण गरेर पेभमेन्ट ढलानको काम अघि बढेको छ । त्यसपछि विद्युतीकरण, भेन्टिलेसन, नालीलगायतका कामलाई गति दिइने आयोजनाकी सूचना अधिकारी सविता ज्ञवालीले बताइन् । सुरुङमार्गको भौतिक प्रगति ३९.४९ प्रतिशत र वित्तीय प्रगति ३९.९ प्रतिशत भएको उनले बताइन् ।
काम गर्दै छोटियो सुरुङमार्ग
बुटवल-पाल्पा खण्डको तिनाउ गाउँपालिका-२, सिद्धबाबा मन्दिरदेखि पाल्पातर्फ १ हजार १२६ मिटर दूरीमा सुरुङ मार्ग बनाउन रामापिथेकस पार्क तथा तिनाउ जलविद्युतको ड्यामसम्म रहने आंकलन गरिएको थियो । तर, सबै काम सकिँदा ११२६ मिटरबाट १०८९ मिटर मात्रै भएको हो ।
सिद्धबाबा क्षेत्रमा अहिलेको सडकमा पहिरो रोक्न ‘रक सेड’ प्रविधिबाट दक्षिणमा १४९५ वर्गमिटरको काम भएको छ । उत्तरतर्फ ४९५ वर्गमिटर ‘प्रोटेक्सन’ को काम अघि बढेको छ । अहिले चालु सडकमा रक सेड, रक फल ब्यारियर र स्लोप प्रोटेक्सनको काम हुनेछ । सिद्धबाबा क्षेत्रको बाहिरी पहाडमा पहिरो जान रोक्न ‘रक सेड’ प्रविधिबाट दक्षिणमा एक हजार ४९५ वर्गमिटरको काम भएको छ । उत्तरतर्फ ४९५ वर्गमिटर ‘प्रोटेक्सन’ को काम अघि बढेको छ । यो सुरुङमार्ग बाहिरपट्टिको खण्डमा रक सेड, रक फल ब्यारियर र स्लोप प्रोटेक्सनको काम हुनेछ ।
योजनाअन्तर्गत बुटवलतर्फको चिडियाखोलाबाट ९ सय १० मिटर र पाल्पातर्फ ५ सय ६० मिटर दुई लेनमा सडक सुधारको काम पनि थालिने छ ।
चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सुरुङमार्गको ठेक्का लिएको हो । यो ‘इन्जिनियरिङ, प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी)’ मोडलमा निर्माण भइरहेको हो । २०७५ मा केपी शर्मा ओली नेतृत्वको सरकारले पाल्पाको दोभान खण्डसहित देशका विभिन्न ६ स्थानमा सुरुङमार्ग निर्माण गर्ने घोषणा गरेको थियो । विष्णु पौडेल अर्थमन्त्री हुँदा मन्त्रिपरिषद बैठकले २०७७ मंसिरमा १० अर्ब १५ करोड रुपैयाँको बजेट स्रोत सुनिश्चित गरेको थियो ।
टनेलको ब्रेक थ्रु भएपछि सुरुङभित्रको भुइँ र भित्ता ढलान (लाइनिङ), गाडी गुड्ने क्षेत्र निर्धारण गरेर पेभमेन्ट ढलान, विद्युतिकरण, भेन्टिलेसन, नालीलगायतका कामहरू शुरु गरिने छ ।