तीन महिनामै १२ खर्ब ७० अर्ब तरलता प्रशोचन, यस्तो छ खास कारण – Nepal Press

तीन महिनामै १२ खर्ब ७० अर्ब तरलता प्रशोचन, यस्तो छ खास कारण

काठमाडौं । पछिल्लो समय नेपाल राष्ट्र बैंकलाई तरलता व्यवस्थापन गर्न हम्मेहम्मे परिरहेको छ । वित्तीय प्रणालीमा तरलता थुप्रिएका कारण राष्ट्र बैंकलाई यसको व्यवस्थापन गर्न गाह्रो भएको हो ।

वित्तीय संस्थाहरूमा थुप्रिएको तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गरेर पैसा तानिरहेको छ । आजै पनि राष्ट्र बैंकले निक्षेप संकलन बोलकबोलमार्फत ४० अर्ब रुपैयाँ तरलता खिच्दैछ ।

पछिल्लो तीन महिनाको अवधिमै राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट १२ खर्ब रुपैयाँभन्दा बढी (प्रशोचन) तानेको छ । गएको कात्तिकदेखि पुस मसान्तसम्मको अवधिमा राष्ट्र बैंकले १२ खर्ब ७० अर्ब रुपैयाँ बजारबाट खिचेको हो ।

राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत कात्तिकमा ३ खर्ब ४० अर्ब रुपैयाँ रुपैयाँ तानेको थियो । त्यस्तै मंसिरमा ४ खर्ब ५० अर्ब तरलता उठाएको राष्ट्र बैंकले पुसमा ४ खर्ब ८० अर्ब रुपैयाँ तानेको थियो । यसरी तरलता ७ दिनदेखि २१ दिनसम्मको लागि वित्तीय प्रणालीबाट खिचेको राष्ट्र बैंकले जनाएको छ ।

 

नेपाल राष्ट्र बैंकका सह–प्रवक्ता डिल्लीराम पोखरेलका अनुसार यो रकम निर्धारित समयावधि पूरा भएपछि वित्तीय प्रणालीमा नै फिर्ता गरिन्छ । यसरी बजारबाट पैसा तान्ने र फेरि पठाउने प्रक्रियालाई अल्पकालीन तरलता व्यवस्थापन भनिन्छ । सोहीअनुसार राष्ट्र बैंकले तरलता तानिरहेको छ ।

विदेशी विनिमय सञ्चिति, रेमिट्यान्सलगायतमा बढ्दा बैंकहरुमा तरलता अधिक हुन पुगेको उनको भनाइ छ । तर, अहिले राष्ट्र बैंकले छोटो समयका लागि तरलता व्यवस्थापन गरिदिए पनि बैंकहरुले ऋण लगानीमा जोड दिनुपर्ने उनको सुझाव छ ।

सहप्रवक्ता पोखरेल भन्छन्, ‘राष्ट्र बैंकले छोटो अवधिका लागि तरलता व्यवस्थापन गरिदिएको हुन्छ । यसरी सधैँ चल्दैन । बैंकहरुमा तरलता प्रशस्त छ । जसरी हुन्छ उनीहरूले ऋण लगानी बढाउनुपर्छ ।’

कर्जाको माग नभएकाले बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांक हेर्ने हो भने बैंक तथा वित्तीय संस्थाहरूमा करिब ६७ खर्ब रुपैयाँ निक्षेप देखिन्छ । राष्ट्र बैंकका अनुसार पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूमा ६६ खर्ब ९३ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ ।

एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका बैंकर्स संघका सदस्य सुदेश खालिङले अपेक्षाअनुसार बजारबाट कर्जाको माग नभएको जानकारी दिए । उनले नेपाल प्रेससँग भने, ‘हामीले अपेक्षा गरे अनुसार कर्जाको माग छैन । माघदेखि कर्जाको माग बढ्छ की भन्ने आश छ । तैपनि हामी पर्ख र हेरकै अवस्थामा छौँ ।’

उनका अनुसार बैंकहरूले ऋण लगानीमा जोड दिएर पनि बजारबाट कर्जाको माग नहुँदा बैंकहरूले लगानी बढाउन सकेका छैनन् । यसअघि घरजग्गामा धेरै कर्जाको माग हुने गरेपनि यस क्षेत्रमा अहिले माग नभएको उनले बताए ।

‘बैंकहरुले लगानी गर्ने निश्चित क्षेत्रहरू छन् । त्यसबाहेक जहाँ पाए त्यही लगानी गर्ने कुरा पनि हुँदैन । धेरै जोखिम लिएर लगानी गर्ने अवस्था पनि छैन’, ‘खालिङले भने, ‘पहिले घरजग्गामा धेरै कर्जाको माग हुन्थ्यो । अहिले त्यो पनि कम भएको छ ।’

बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप संकलन बढे पनि कर्जा प्रवाह उल्लेख्य बढ्न सकेको छैन । पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले ५३ खर्ब ८७ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका थिए ।

यता वाणिज्य बैंकहरुको मात्रै कुरा गर्ने हो भने निक्षेप संकलन ५९ खर्ब नाघेको छ । यही मंसिर १६ गतेसम्मको अवधिमा वाणिज्य बैंकहरुमा ५९ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप रहेको छ । कर्जा प्रवाह भने ४७ खर्ब ७४ अर्ब रुपैयाँ भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर