मितेरी डेभलपमेन्ट बैंकको सीईओ बने चापागाईं
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अनन्तकुमार चापागाईं नियुक्त भएका छन् । उनले पदभार ग्रहण गरेर कामसमेत थालेका छन् ।
बैंकको केन्द्रीय कार्यालय धरानमा सञ्चालक समितिका अध्यक्ष किशन मास्केको उपस्थितिमा सीइओ चापागाईंले पदभार ग्रहण गरेका हुन् ।
बैंक सञ्चालक समितिले चापागाईंलाई ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । चापागाईंले संस्थागत सुशासन र नियमाकीय प्रावधानभित्र रहेर संस्थालाई एक सबल, सक्षम र उदाहरणीय बैंक बनाउने बताए ।
बैंकिङ र वित्तीय क्षेत्रमा अनुभवी चापागाईंको नेतृत्वमा बैंकले उत्कृष्ट कार्य सम्पादन गर्ने विश्वास लिएको अध्यक्ष मास्केले बताए ।
बैंकले गत पुस २७ गते शनिबारको १९औं वार्षिक साधारण सम्पन्न मुनाफाबाट शेयर धनीलाई १०.००८३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय पारित गरेको थियो ।
सो लाभांश वितरणपछि बैकको चुक्ता पुँजी १ अर्ब २१ करोडभन्दा बढी हुनेछ । प्रदेश स्तरीय ‘ख’ वर्गको विकास बैंकको रूपमा स्तरोन्नति गर्ने प्रस्तावसमेत पारित गरेको छ ।