मनहरा क्षेत्रमा दैन्दिन बढ्दो प्रदूषण, खतरामा १०६ प्रजातिका चराको बासस्थान – Nepal Press

मनहरा क्षेत्रमा दैन्दिन बढ्दो प्रदूषण, खतरामा १०६ प्रजातिका चराको बासस्थान

साइबेरिया, मंगोलिया र चीनबाट आउँछन् मनहरा क्षेत्रमा चराहरु, सञ्जय था श्रेष्ठ व्यक्तिगत खर्चमै हरेक वर्ष चरा गणना गर्छन्

काठमाडौं । कथा जस्तो लाग्नसक्छ, कुनै समय मनहरा खोला यति सङ्लो बग्थ्यो कि पानीमा पौडिरहेका माछाहरु देखिन्थे । खोलाको किनारतिर झुरुप्प गुजुल्टिएका घरहरुको जगमा धानका बालाहरु झुलिरहेका हुन्थे । छरपस्ट भौंतारिइरहेका मान्छेहरुको ठाउँमा थरीथरीका जीवजन्तुहरु खेलिरहेका, चरिरहेका हुन्थे । बिजुलीका तार र धुवाँधूलोले बिरामी बनेको खोला वरिपरिको आकाशमा चराचुरुङ्गीका बथान चङ्गा जसरी उडिरहेका हुन्थे ।

कुनै चराहरु खोला किनारकै रैथाने हुन्थे । कुनै चराहरु मंगोलिया, साइबेरियातिरबाट हिउँदे बिदा मनाउन आइपुगेका पाहुना हुन्थे । साइबेरिया, मंगोलियातिर जमिनलाई हिउँले ढाकेपछि चारा र बासको खोजीमा आइपुगेका चराहरुलाई मनहरा क्षेत्रले न्यानो स्वागत गर्थ्यो ।

जानकारहरु भन्छन्, ‘तीन दशकअघिसम्म यस्तो भव्य थियो मनहरा खोला ।’

अहिले त मान्छेहरुले फोहोर थुपारिहिँड्ने डम्पिङ साइट बनेको छ मनहरा खोला ।

हिउँदमा न झरी पर्ने, न बाढी पहिरो जाने । र पनि दिगमिगलाग्दो छ मनहरा खोला । बाह्रैमास धमिलो बग्छ । हिउँद याममा त कञ्चन पानी छङछङ बग्नु नि ! सङ्लो पानी कलकल गर्दै समुद्रसम्मको यात्रामा निस्कनु नि ! यस्तो कुरा अब कल्पनामा मात्रै सीमित छ ।

तर मान्छेले मनहरा क्षेत्रलाई जति दूषित बनाए पनि चराहरुले अझै यो क्षेत्र छाडेका छैनन् । फोहोरको थुप्रोमै सही, रैथाने चरा अझै भेटिन्छन् । फोहोरको थुप्रोमै सही, साइबेरिया, मंगोलिया, चीनतिरबाट आएका चराहरु अझै भेटिन्छन् ।

चराहरुको खोजीमा…

गत बिहीबारको कुरा हो ।

एक दशकदेखि चराको फोटो खिचिरहेका सञ्जय था श्रेष्ठको टीमले मनहरा खोला किनारमा चरा गणना गरिरहेको थियो । सञ्जयको टीममा थिए- राजेन्द्र गुरुङ, दीपक बुढाथोकी, आयुषा पौडेल, बिक्की श्रेष्ठ, आशिष थापा, करण केसी, सायशा था श्रेष्ठ, शैलेन्द्र भासिक, राजाराम थापालगायत । उनीहरु आगन्तुक र पाहुना चराका प्रजाति संख्या गन्दै हिँडिरहेका थिए ।

साँखुबाट मनहरा खोलाको किनारैकिनार गणना गर्दै झरेको टोलीसँग म मूलपानी चौरबाट मिसिएँ ।

खोलाको दुवै किनार पानीका बोतल र प्लास्टिकका पोकाले भरिएको थियो । अलि तल्तिर झरेपछि एक नाली ढल खोलामा मिसिएको थियो । अलि तल्तिर खोलाको किनारमै टाँसेर बंगुर फार्म बनाइएको थियो । बंगुर फार्मबाट निचोरिएर निस्किएको फोहोर पानीको पनि जाने ठाउँ कहाँ छ र ! त्यै मनहरा खोला त हो ।

सिसाका टुक्राहरु पनि खोलामा थिएनन् भनेर भन्न सकिने अवस्था थिएन । सञ्जयहरु खाली खुट्टै पानीमा टेकेर वारिपारि गरिरहेका थिए । घाँटीमा रहेको दुरबिनले वरिपरि चराहरु हेरिरहेका थिए । फोटो पनि खिचिरहेका थिए । आयुषाले चराको नाम टिपिरहेकी थिइन् ।

प्रदूषित मनहरा क्षेत्र : १०६ प्रजातिका चराको बासस्थान

‘यस्तो ठाउँमा पनि के चरा पाइन्छ र’, म वाल्ल परिरहेको थिएँ ।

यस्तो सोच्दासोच्दै भंगेरा जत्रो ग्रेटर शर्ट टोड लार्क चराको हुल आएर हामी नजिकै बस्यो । चार वटाको समूह थियो । सञ्जय उत्साहित भइहाल्यो, ‘ऊ ग्रेटर शर्ट टोड लार्क चरा । यो पनि पाहुना चरा हो ।’

हिमाली भेगमा पाइने यो चरा चिसो बढ्दै गएपछि ओह्रालो झर्दै जाँदो रहेछ । पछि गर्मी सुरु भएपछि उकालो चढ्दो रहेछ । ४ हजारदेखि ४ हजार ५०० मिटरको उचाइमा पुगेर बच्चा कोरल्दो रहेछ ।

‘अनि यस्तो फोहोर ठाउँमा पनि चरा आएर बस्छ र भन्या’, मैले संशय प्रकट गरें ।

सञ्जयले बाइनाकुलरले चराहरु हेर्दै भने, ‘बस्छ नि, विकल्प नभएपछि के गरोस् !’

साँच्चै, खै त चराहरुको लागि विकल्प ? कहाँ जाने ?

बासस्थानका लागि राम्रो स्थान छैन । जहाँ राम्रो स्थान छ, त्यहाँ मान्छेहरुले फोहोरको डंगुर थुपारेका छन् । जहाँको खोलाको पानीमा टेक्दामात्रै संक्रमण फैलने भय हुन्छ । राज्यलाई पर्यावरणप्रति कुनै चासो छैन ।

हाम्रो जीवनलाई सहज बनाइदिन प्रकृतिसँग मिलेर इकोसिस्टम मिलाइदिने चराहरु चरिखाने ठाउँ दैनन्दिन प्रदूषित हुँदै गइरहेको छ ।

हेर्दाखेरि त्यस्तो फोहोर ठाउँ भए पनि जाने ठाउँ नभएर चराहरु मनहरा खोला किनारमा बस्ने गरेका रहेछन् । तपाईंहरुलाई पत्यार नलाग्न सक्छ, यो क्षेत्रमा १०६ प्रजातिका चरा भेटिएको तथ्यांक छ । यस पटक पनि १०१ प्रजातिका चराहरु भेटिए ।

हरेक वर्ष यी चराहरुको गणना सञ्जयले आफ्नै खर्चमा गर्ने गरेका रैछन् ।

८९२ मध्ये ७०६ प्रजातिका चराको फोटो खिचिसकेका सञ्जय

सञ्जय सन् २०१४ बाट चराहरुको फोटोग्राफीमा सक्रिय भए । घरमा परेवा पालेका थिए । ती परेवाहरुको फोटो खिच्थे । परेवाको फोटो खिच्दाखिच्दै चराहरुको फोटो खिच्ने लत लाग्यो सञ्जयलाई ।

उनी सुनाउँछन्, ‘हाम्रो नेपालका चराहरु विदेशीहरु आएर पत्ता लगाएर जाँदा रहेछन् । अनि मलाई लाग्यो, यी चरा त हाम्रा हुन्, हामीले नै पत्ता लगाउनुपर्छ ।’

जसै सञ्जय चराहरुको फोटोग्राफीमा लागे, मानसिक रुपमा पनि फ्रेस हुँदै गए । व्यापार व्यवसाय गर्ने सञ्जयलाई चराहरुको आनीबानी देखेर यसै आनन्द लाग्न थाल्यो । जति जति चराहरुभित्र घुस्दै गए, उत्ति रुचिपूर्ण लाग्दै गयो ।

सन् २०१४ मा चितवनमा बाघ, गैंडा हेर्न हात्ती सफारीमा जंगल चहार्दै थिए । उनले अचानक मयुर देखे । बाघ हेर्न हिँडेका सञ्जयलाई चराले खिच्यो । अनि त चराका रंगीचंगी रुपहरु र मोहनी लगाउने खालका गीतहरुमै सञ्जय मग्न भए ।

‘यसपछि म त चराहरुको फोटो खिच्नमै तल्लीन भएँ’, उनी सुनाउँछन्, ‘नेपालको पूर्व-पश्चिम लाङटाङ, ढोरपाटन, मनाङ, मुस्ताङ, कालिन्चोक, काठमाडौंका सबै डाँडाहरु चहार्न थालें ।’

अहिलेसम्म सञ्जयले ७०८ प्रजातिका चराहरुको फोटो खिचिसकेका छन् । जब कि नेपालमा ८९२ प्रजातिका चराहरु पाइने तथ्यांक छ । चराविद् हेमसागर बरालका अनुसार अहिले थप ५-६ प्रजातिका नयाँ चरा थपिएका छन् ।

साइबेरियाबाट आउने कर्‍याङकुरुङ, चीनबाट आउने स-साना चरा

सञ्जयका अनुसार अहिलेको तुलनामा सन् २०१५/१६ मा मनहरा खोलाको पानी अलि सफा थियो । दिन प्रतिदिन मनहरा खोला प्रदूषित बन्दै गएको छ । बालुवाको चोरी निकासी र ढल मिसाउँदा मनहरा खोला चराहरुका लागि प्रतिकूल बन्दै गएको छ । मनहरा खोलाको मात्रै नभएर सिंगै काठमाडौंको पर्यावरण बिग्रँदै गएको छ ।

सञ्जय सुनाउँछन्, ‘यही मात्रामा निरन्तर प्रदूषित हुँदै जाने हो भने चरालाई मात्रै होइन, मान्छेलाई पनि भविष्यमा खतरा निम्तिने देखिन्छ ।’

सञ्जय र शंकर तिवारीले गत वर्ष मुस्ताङमा नेपालका लागि नयाँ चरा पत्ता लगाए, तालुधर्से अर्जुनक (स्पटेड फ्लाइ क्याचर) । यो भंगेरा जत्रो चरा हो । यो प्रजातिको चराले उडेरै कीरा, फट्यांग्रा समात्छ । भारत, चीन, पाकिस्तानलगायत क्षेत्रमा रेकर्ड भएको यो फिरन्ते चरा नेपालमा पहिलो पटक रेकर्ड भएको थियो ।

सञ्जयले भने, ‘यस पटक जाडो याममा आउने चराहरुमा पिपिट(चुइँया)का ६-७ प्रजाति छन् । लार्क(भारद्वाज) पनि छन् । यसपटक लेसर ग्रे स्राइक (सानो खैरो भद्राई) र ग्रेटर ग्रे स्राइक (ठूलो खैरो भद्राई) पनि फेला पर्‍यो । यसअघि यो प्रजातिको चरा रेकर्ड भएको थिएन । यसअघि मुस्ताङमा मात्रै यो चरा रेकर्ड भएको थियो ।’

सञ्जयले थपे, ‘यसपटक कमन शेल डक, मलार्ड (हरियो टाउके हाँस) पनि रेकर्ड भयो । यिनीहरु साइबेरिया, मंगोलिया, चीनतिरबाट आउने हुन् । त्यतैतिरबाट आउने स्टेपी इगल, इम्पेरल इगल जस्ता शिकारी चराहरु पनि रेकर्ड भए ।’

मनहरा क्षेत्रमा सञ्जयले भेटेको सबैभन्दा ठूलो प्रजातिको पाहुना चरा भनेको कर्‍याङकुरुङ हो । यी चरा ७ हजार ३०० मिटर माथिको आकाशमा उडेर आउँछन् । साइबेरिया, मंगोलियाबाट आउने यी चराहरु प्रायः भारतको गुजरात, राजस्थानतिर जान्छन् ।

‘मनहरा क्षेत्र चाहिँ चराहरुका लागि ट्रान्जिट प्वाइन्ट भएकाले तिनीहरु आउने हुन्’, सञ्जय सुनाउँछन्, ‘अझै पनि केही फार्मल्यान्ड छ, पानी छ, सानो जंगल छ यो एरियामा । त्यसैले यहाँ चराहरु आउने हुन् ।’

मनहरा क्षेत्रमा सञ्जयले नै सेतोजुंगे बगेडी चरा पहिलो पटक भेट्टाएका थिए । यो पनि फिरन्ते चरा नै हो । सञ्जयले नै नेपालको लागि पहिलो पटक सेतोपेटे रानीचरी (ब्राउन रम्प्ड निनिभेट) कोशीटप्पुमा खिचेका थिए ।

हेमसागरका अनुसार साना भंगेरा जत्रा फिरन्ते चराहरु पनि चीनतिरबाटै आउँछन् । ठूला चराहरु आकाशमा उडेर आउँछन् भने साना प्रजातिका चराहरु नदीले बनाएको उपत्यकाहरु प्रयोग गर्छन् । मान्छेले बनाएका बाटाहरु प्रयोग गर्छन् । हिमालका घाँटीहरु, भञ्ज्याङहरु प्रयोग गर्छन् ।

मिनी कोशी टप्पु : खै त राज्यको लगानी ?

अहिले मनहरा क्षेत्रलाई मिनी कोशी टप्पु पनि भनिन्छ । मिनी कोशी टप्पु भनिनुको कारण खुलाउँछन् सञ्जय, ‘हाम्रो कोशी टप्पु चराको राजधानी हो । त्यहाँ कोशी नदीले एक वर्ष एकातिर कटान गरेर टापु बनाउँछ, अर्को वर्ष अर्कातिर टापु बनाउँछ । मनहरा खोलाको चरित्र पनि त्यस्तै छ । त्यसरी टापु बनाइदिएपछि चराहरुलाई बस्न सहज वातावरण बन्छ । त्यसैले मनहरा क्षेत्रलाई मिनी कोशी टप्पु भनिएको हो ।’

सञ्जयका अनुसार कोभिडकालपछि मनहरा क्षेत्र चरा हेर्न चाहने मान्छेहरुको आकर्षणको केन्द्रमा रह्यो । यसको कारण हो- फिरन्ते चराहरु आउनु, काठमाडौंबाट एकदमै नजिक पर्नु ।

यिनै कारणहरुले गर्दा मनहरा क्षेत्रमा चरा पर्यटनको समेत प्रचुर सम्भावना देखिएको फोटोग्राफर राजेन्द्र गुरुङ बताउँछन् । गुरुङ स्वयं चरा पर्यटन व्यवसायी हुन् । चराका सौखिन पर्यटकहरु चरा हेर्न नै राजेन्द्रलाई सम्पर्क गर्छन् । राजेन्द्रले वार्षिक ५०-६० हजार डलरको कारोबार गर्छन् । अहिले राजेन्द्रको गुजारा नै चरा पर्यटनले चलाएको छ ।

‘चरा हेर्न आउनेहरुले दैनिक औसत डेढ सय डलर खर्च गर्छन् । नेपाल चराहरुको राजधानी हो । यदि राज्यले नै चरा पर्यटनलाई राम्रोसँग ध्यान दिने हो भने यसले हाम्रो अर्थतन्त्र चलायमान बनाउनलाई सहयोग गर्छ’, राजेन्द्र दुःखेसो पोख्छन्, ‘राज्य त कस्तो छ भने हामी नै निकुञ्जतिर फोटो खिच्न जाँदा अनेक झन्झट व्यहोर्नुपर्छ । वन्यजन्तुको शिकार गर्नै गए जसरी केराकार गर्छन् ।’

चरा पर्यटकलाई धेरै कुरै नचाहिने, नयाँ चरा देख्यो कि खुसी भइहाल्ने राजेन्द्रको अनुभव छ । पर्यटकहरुका लागि नेपालका रैथाने चराहरु नै नयाँ भइदिने, हामीले सामान्य मानिरहेका चराहरु नै उनीहरुले अचम्म मानेर हेर्ने गरेको राजेन्द्र बताउँछन् । त्यसैले चरा पर्यटनका लागि मनहरा क्षेत्र गजबको गन्तव्य हुनसक्ने राजेन्द्रको विश्लेषण छ । त्यसका लागि राज्यले नै पहल नगरी नहुने उनी बताउँछन् ।

हामी चरा पर्यटनको गफ गर्दै, चरा गन्दै, चरा हेर्दै मनहरा खोला ओरालो झरिरहेका छौं । जति ओरालो झर्दै जान्छौं, पानी उत्ति नै फोहोर हुँदै गएको देखिन्छ । जति ओरालो झर्दै जान्छौं, प्लास्टिकका झोला र बोतलहरुको थुप्रो उत्ति नै बढ्दै गएको देखिन्छ । जत्ति ओरालो झर्दै जान्छौं, पानीबाट उत्ति नै दुर्गन्ध आइरहेको छ ।

सञ्जय निराश हुन्छन्, ‘यस्तो अवस्था छ यो क्षेत्रको, यसले चरालाई मात्रै होइन, मान्छेलाई पनि असर गरिरहेको छ । यस्तो विकृत वातावरणमा यहाँका रैथाने चराहरु लोप हुने खतरा ज्यादा हुन्छ । एउटा प्रजातिमात्रै लोप भएर जाँदा हाम्रो इकोसिस्टमलाई ठूलो असर गर्छ भनेर यो राज्यले कहिले बुझ्छ ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर