गोर्खाज फाइनान्सका अध्यक्ष बुढाथोकीविरुद्ध उभिए ९९ प्रतिशत संस्थापक शेयरधनी – Nepal Press

गोर्खाज फाइनान्सका अध्यक्ष बुढाथोकीविरुद्ध उभिए ९९ प्रतिशत संस्थापक शेयरधनी

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडका अध्यक्ष गौरव बुढाथोकीविरुद्ध ९९ प्रतिशत संस्थापक शेयरधनी उभिएका छन् । यो संख्या ९९ प्रतिशत रहेको छ । अध्यक्ष बुढाथोकीले गोर्खाज फाइनान्स लिमिटेडलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनविपरित काम गरेर आफूहरूको करोडौंको लगानी डुबाउन खोजेको उनीहरूको आरोप छ ।

गत पुस २९ मा बुढाथोकीले ३०औं साधारणसभा बोलाएका थिए । तर, असन्तुष्ट शेयरधनीले विरोधको तयारी गरेको सुइँको पाएपछि बुढाथोकी साधारणसभा छाडेर ‘फरार’ भएका छन् ।

शेयरधनी तथा गोर्खा समुदायका अगुवा पुञ्जन मुकारुङ राईका अनुसार काठमाडौं वसुन्धाराको एक पार्टी प्यालेसमा १० बजे बोलाइएको साधारणसभामा अध्यक्ष बुढाथोकी, निर्देशक नगेन्द्रकुमार अग्रवाल र निलम बोहरा ११ बजेतिर आएका थिए ।

‘शेयरधनी सदस्यहरूले विरोध गर्ने सूचना पाएपछि उहाँ हल छाडेर भागे’, उनले भने । अध्यक्ष बुढाथोकी १२ बजे आउने भनिए पनि कम्पनी सचिव दीपक न्यौपानेले साधारणसभा गणपुरक नपुगेको भन्दै स्थगित गरेको सूचना टाँस गरेको सदस्यहरूले बताएका छन् ।

‘सूचनामा गणपुरक नपुगेको भनेर सूचना टाँस गरियो । संस्थापक शेयरधनी शतप्रतिशत र ८० प्रतिशतभन्दा शेयरधनी उपस्थित थिए । तर, उहाँ फरार हुनुभयो’, शेयरधनी टंकबहादुर लिम्बू भन्छन् ।

‘यो संस्थामा हाम्रो रगत र पसिनाको कमाई राखेका छौं । तर, उनले फाइनान्स डुबाउने प्रयास गरिरहेका छन् । अनेकौं शक्तिको आडमा उनले सोझा लाहुरेहरूको आडमा संस्थाको दुरुपयोग गर्न खोजेका छन् । त्यो गर्न हामी दिन्नौं ’, लिम्बूले भने ।

गोर्खाज फाइनान्समा ७४६ जना संस्थापक शेयरधनी छन् । तीमध्ये ७३७ जना संस्थापक शेयरधनीले विहीबार विज्ञप्ति जारी गरेर अध्यक्ष बुढाथोकी, सञ्चालक समितिका निर्देशक (पब्लिक) नगेन्द्रकुमार अग्रवाल, निर्देशक (पब्लिक) निलम बोहोरा माथि कारवाहीको माग गरेका छन् । ५ मध्ये दुई निर्देशक कल्पना खापुङ र युवराज राई भने साधारणसभामा उपस्थित भएका थिए ।

अध्यक्ष बोहरासहित निर्देशकद्वय अग्रवाल र बोहराले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन विपरित काम गरेको जिकिरसहित कारवाही माग गरिएको छ ।

चुक्ता पुँजी ८६ करोड रहेको गोर्खाज फाइनान्स लिमिटेडमा गोर्खालीहरूको लगानी रहेको छ । यसैगरी झण्डै ६ अर्ब निक्षेप समेत गोर्खाली समुदायको रहेको छ ।

अध्यक्ष गौरव बुढाथोकीको शेयर संख्या जम्मा १९९ कित्ता संचालकद्वय नरेन्द्रकुमार अग्रवालको १४० कित्ता तथा निलम बोहराको १२२ कित्ता रहेको छ । उनीहरू सर्वसाधारण शेयरधनीबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरू हुन् ।

सीईओ नियुक्तिमा आर्थिक चलखेलको दाबीसहित उजुरी

अध्यक्ष बुढाथोकीले दबाब दिएको भन्दै तत्कालीन सीईओले सन्तोषकुमार घिमिरेले २३ असोज २०८१ मा राजीनामा दिएका थिए । घिमिरेका राजीनामापछि गोर्खाज फाइनान्स लिमिटेडको सञ्चालक समितिले नयाँ नियुक्तिका लागि प्रक्रिया अघि बढेको थियो ।

प्रक्रियामा विवाद भएपछि राष्ट्र बैंकमा उजुरीसमेत परेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनअनुसार गर्न निर्देशनसमेत दिएको थियो । तर, बुढाथोकीले प्रकाशचन्द्र अधिकारीलाई नयाँ सीईओ नियुक्तिको एकतर्फी घोषणा गरेको बताइएको छ ।

बुढाथोकीले १४ पुस २०८१ मा सञ्चालक समितिको बैठक भन्दै एकतर्फीरूपमा प्रकाशचन्द्र अधिकारीलाई सीईओ नियुक्तिको घोषणा गरेको भन्दै बैठकमा सञ्चालक समितिका निर्देशक (प्रमोटर) युवराज राई र निर्देशक (प्रमोटर) कल्पना खापुङले नोट अफ डिसेन्ट लेखेका थिए । पब्लिक तर्फका निर्देशकद्वय नगेन्द्रकुमार अग्रवाल र निलम बोहरा अनुपस्थित थिए । अध्यक्ष बुढाथोकीले बैठकमा उनीहरूको कीर्ते हस्ताक्षर गरेर उपस्थित देखाएको स्रोतको दाबी छ ।

‘विराटनगरमा रहेका अग्रवाल र बोहरालाई पछि दबाबामा परेर कुरियर्समार्फत माइन्युट पठाइयो’, स्रोतले भन्यो ।

कुनै बेला नेपाली कांग्रेसका बागमी प्रदेश सभापति इन्द्र बानियाँको व्यवसायमा लेखापालको जिम्मेवारीमा रहेका उनी बानियाँको नाम बेचेर असुली र अनियमितता मच्चाएको आरोपमा निकालिएका थिए । १० हजार लगानी गरेर गौरव पब्लिक मार्फत गोर्खाज फाइनान्सको अध्यक्ष बनेका छन् । प्रकाशचन्द्र अधिकारीलाई आर्थिक लेनदेन गरेर सीईओ बनाएको भन्दै राष्ट्र बैंकमा उजुरीसमेत परेको छ ।

७४७ संस्थापक शेयरधनीमध्ये ७३७ संस्थापक शेयरधनी भूतपूर्व गोर्खा सैनिक हुन् । उनीहरूले बुढाथोकीलाई कारवाहीको माग गर्दै विज्ञप्ति निकालेका छन् ।

सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिले पनि सहकारीमा अपचलन भएको अधिकांश पैसा गोर्खा सैनिकहरूको भएको ठहर गरेको छ । कुनै बेला गोर्खा विकास बैंक लाहुरेहरूको लोभलाग्दो संस्थाको रूपमा सञ्चालनमा थियो । यो बैंकमा बेलायती सेनामा कार्यरत र अवकाश प्राप्त गोर्खाहरू, सिङ्गापुर प्रहरीमा कार्यरत र अवकाश प्राप्त हजारौं लाहुरेले लगानी गरेका थिए ।

तर, राकेश अडुकियाको समूह हाबी भएसँगै बैंक धराशायी बन्न थालेको बताइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर