सरकार ढाल्ने कुरा नदी थुन्छु भन्दै किनारमा बसेर ढुंगा फ्याँके जस्तै : प्रम ओली (भिडिओ)
संसदबारे विपक्षीलाई प्रधानमन्त्रीको प्रश्न- बोलाएकै छैन, सुरू नै नभई कसरी रोकिन्छ ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको नेतृत्वमा बन्न लागेको विपक्षी मोर्चालाई सभ्य ढंगले प्रस्तुत हुन सुझाव दिएका छन् ।
अध्यादेशका सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यो सरकार परिवर्तन गर्न सक्छु भन्नु एउटा विशाल नदीको किनारमा बसेर साना-साना ढुंगा फ्याँकेजस्तै भएको टिप्पणी गरे ।
उनले भने, ‘हामी सरकार टिकाउने मात्रै हाम्रो काम होइन, सरकार त आफैँ टिकिहाल्छ । यसलाई सफल बनाउनु र परिणाम दिनु हाम्रो मुख्य जिम्मेवारी हो । यो सरकार परिवर्तन गर्न सक्छु भन्ने एउटा विशाल नदीको किनारमा बसेर यत्रा यात्रा ढुंगा टिप्दै फ्याँक्ने, के गरेको भन्दा यो नदी थुन्दिन खोज्या भन्या जस्तो । मैले मोर्चा बन्दैछ भन्ने सुनिरहेको छु । त्यो उहाँहरूको अधिकारको कुरा हो । म त्यसलाई सम्मान गछ । तर, सभ्य तरिका भाषा र क्रियाकलाप गर्नुस् । अधिकार त प्रयोग गर्न पाइन्छ ।’
प्रधानमन्त्री ओलीले अन्य विधेयकको तयारी भएको र अध्यादेश संसद् सुरू भएको पहिलो दिनमै अध्यादेश पेस गर्ने र प्रतिस्थापन विधेयक ल्याएर ६० दिनभित्र पारित गर्ने बताए । यथोचित समयमा संसद् आव्हान हुने पनि जानकारी गराए ।
उनले थपे, ‘संसद रोकी रोकी पार्टी फुटाउने भन्दै हल्ला गरियो । कसले बोलायो यो संसद र रोकेको त ? नबोलाइकन सुरू नै हुँदैन त कसरी रोक्नु ? बोलाएकै छैन । हामी विधेयकहरू तयारी गर्दैर्छौँ । यी अध्यादेशहरू पनि प्रतिनिधिसभा सुरू भएको पहिलो दिन नै हामी अध्यादेश संसद्मा प्रस्तुत गर्छौँ । ६० दिनभित्र प्रतिस्थापन विधेयकहरू ल्याउँछौं र यीनलाई पारित गर्छौँ । हामी अरुको दल फुटाउनतिर लागेका छैनौं ।’