बिदा हुनुअघि मोन्टी देसाईले ‘ब्याटिङ क्लीनिक’ चलाउने, २० युवा खेलाडी छनोट – Nepal Press

बिदा हुनुअघि मोन्टी देसाईले ‘ब्याटिङ क्लीनिक’ चलाउने, २० युवा खेलाडी छनोट

उदीयमान ब्याटर मयन यादव चोटका कारण अटाएनन्

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले युवा ब्याटरहरुको क्षमता वृद्धिका लागि ब्याटिङ क्लीनिक सञ्चालन गर्ने भएको छ । राष्ट्रिय टीमका प्रमुख प्रशिक्षक मोन्टी देसाईले २० जना युवा ब्याटरहरुलाई ९ दिनसम्म विशेष प्रशिक्षण दिनेछन् ।

पदावधि सकिन लागेका प्रशिक्षक देसाईंको सम्भवत यो ‘अन्तिम असाइनमेन्ट’ हो । क्यानसँग उनको सम्झौता आगामी फेबु्रअरीमा सकिँदै छ । सम्झौता नविकरण गर्ने पक्षमा क्यान छैन । पदावधि सकिनुअघि उनको खाली समयलाई सदुपयोग गर्ने हेतु ब्याटिङ क्लीनिकको अवधारणा बनाइएको क्यान स्रोतले बतायो ।

क्यानले ब्याटिङ क्लीनिकमा सहभागी हुने २० खेलाडीहरुको सूची सार्वजनिक गरेको छ । पछिल्लो समय नेपालको अन्डर १९ टीम, नेपाल प्रिमियर लिग र जय ट्रफीमा राम्रो सम्भावना देखाएका युवा ब्याटरहरु यसमा समेटिएका छन् ।

ब्याटिङ क्लीनिकका लागि छनोट भएका खेलाडीहरुमा लोकेश बम त्रितराज दास, किरण ठगुन्ना, रित गौतम, सोनु अन्सारी, सोहेल कुँवर, अभिषेक तिवारी विपिन रावल, सन्तोष यादव, नरेन भट्ट छन् । यस्तै, उत्तम थापा मगर, आकाश त्रिपाठी, शुभ कंसाकार, इमरान शेख, सन्तोष कार्की अर्जुन कुमाल, अंकित सुबेदी, आशुतोष घिरैया, सुजन थपलिया रअर्जुन घर्तिमगर पनि परेका छन् ।

हालै जय ट्रफीमा उत्कृष्ट प्रदर्शन गरेका मधेसका ब्याटर मयन यादव भने छुट्न पुगे । क्यान स्रोतका अनुसार उनी चोटका कारण यो स्क्वाडमा नपरेका हुन् ।

आउँदो १७ देखि २५ जनवरीसम्म कीर्तिपुर र मुलपानी मैदानमा ब्याटिङ क्लीनिक आयोजना हुने क्यानले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर