त्रिदेशीय सडककाे डीपीआरमा नसमेटिएकाे ट्यांग्रा खाेला- आयोजना यत्तिकै हस्तान्तरण हाेला ?
विराटनगर । व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत कोशी राजमार्गको रानी नाकाबाट धरानसम्मको खण्डलाई ६ लेनमा बिस्तार तथा स्तरोन्नति गर्न आर्थिक वर्ष ०६९/७० देखि रानी-विराटनगर-इटहरी-धरान सडक योजना कार्यालय खुल्यो ।
रानीदेखि धरानसम्मको ४९ किलोमिटर सडक निर्माणका लागि १० अर्ब लागत अनुमान गरेर ६४ सालमै डीपीआर बनाएर अहिले आयोजनाको ९२ प्रतिशत काम सकिएको छ । उक्त सडक बिस्तारमा साढे ८ अर्ब रूपैयाँ बजेट खर्च भइसकेको छ । सरकारले पुग्दो बजेट दिए आउँदो असार मसान्तसम्म हस्तान्तरण गर्ने प्रक्रियामा रहेको आयोजनाले जनाएको छ ।
तर, सडक आयोजना हस्तान्तरणको प्रक्रियामा पुग्दा सडक किनारबाट बग्ने ट्यांग्रा खोलाको झमेला बढ्दो छ । इटहरीबाट सोनापुरसम्मको साढे ५ किलोमिटर खोला किनारै किनार बनाइएको सडक ६ लेन बन्न सकेको छैन । साढे ५ किलोमिटर सडक ४ लेनको मात्रै बनेको आयोजनाका प्रमुख राजेन्द्रप्रसाद साह बताउँछन् ।
उनी भन्छन्, ‘आयोजना सुरू गर्दा खोला क्षेत्रमा के गर्ने भन्ने कुनै प्लान नै बनेन । खर्च बढी लाग्ने भन्दै योजनाविनै अन्यत्र ठेक्का लगाएर काम सुरू भयो । काम सक्ने बेलामा खोलामा के गर्ने भन्ने चिन्ता थपिएको छ ।’
उनका अनुसार खोलासँग जोडिएको सडकलाई के गर्ने भनेर डीपीआर बनाउन विभागमा लेखेर पठाइएको छ । विभागले डीपीआर समेत बनाउन स्वीकृत दिएको छैन ।
आयोजना प्रमुख साहले अहिलेसम्म खोला किनारको सडक ४ लेनको मात्रै बनाइएको र त्यहाँ सर्भिस लेन र ड्रेन पनि बनाउनु पर्ने छ । सडक किनारमा रहेका बिजुलीका पोलसमेत सारिएको छैन ।
साहले भने, ‘म आएको एक वर्षमात्रै भयो मभन्दा पहिलेका हाकिम सा’वहरूले लेखेर पठाउनु भएको रहेछ । म पनि फलोअप गर्छु । विभागले केही न केही योजना ल्याउला ।’
धरान बजारमा कामै नगरी काम सक्ने तयारी
रानी-विराटनगर-इटहरी-धरान-किमाथांका व्यापारिक सडक बिस्तार आयोजनाअन्तर्गत धरानसम्म ४९ किलोमिटर सडक बिस्तारको तयारी थियो । तर, धरानको बजार क्षेत्रमा भने सडक बिस्तार नगरी अयोजनाले काम सक्ने तयारी गरेको छ । धरान बजारको ५ किलोमिटरमा अहिलेसम्म ठेक्का समेत लागेको छैन । बजार नै सखाप हुने भन्ने विवाद आएपछि ४ किलोमिटरमा काम नगर्ने मनस्थितिमा आयोजना पुगेको साहले नेपाल प्रेसलाई बताए ।
दुहवी बजारको करिब ५ सय मिटर पनि विवादमा छ । अदालतमा मुद्दा विचाराधीन रहेकाले अन्यत्र यसै आर्थिक वर्षमा काम सम्पन्न गर्ने आयोजनाको लक्ष्य रहेको छ । अहिले सेउती खोला र बुढी खोलामा पुल निर्माणको काम भइरहेको छ ।
आयोजना सम्पन्न गर्न १९ वटा ठेकेदार कम्पनीले काम गरेका थिए । विभिन्न खण्डमा टुक्रा पारेर ठेक्का लगाइको थियो । यो सडक भारतबाट नेपाल हुँदै चीनको सिमाना पुग्ने सबैभन्दा छोटो सडक हो । चीनसँग सिमाना जोडिएको किमाथांकासम्म जोड्न अब केही किलोमिटरमात्रै ट्रयाक खोल्न बाँकी छ ।
योजनाबिनाको काम बढ्दो ट्यांग्राको कहर
इटहरी बजारको बीच भागबाट उत्तर हुँदै दक्षिण तर्फ बग्छ ट्यांग्रा खोला । धरान-विराटनगर सडक पनि इटहरी बजारको मध्य भागमा छ ।
इटहरी उपमहानगरपालिका वडा नम्बर ९ मा रहेको साथी फ्युल सेन्टरबाट ट्यांग्रा खोलालाई धरान विराटनगर सडकमा अन्डरपास गराएर पश्चिम पट्टी लगिएको छ । करिब ३ सय मिटर सडकको पश्चिमबाट दक्षिणतर्फ बगेपछि खोलालाई पुन: सडकबाट अन्डर पास गराएर पूर्वपट्टीबाट बग्ने बनाइएको छ ।
इटहरीको- ९ मा रहेको पशु सेवा कार्यालयको भवन छेउबाट खोलाको किनारै किनार खनार चोकसम्म करिब ४ किलोमिटर धरान-विराटनगर सडक निर्माण गरिएको छ ।
खनार चोकमा आइपुगेपछि भने खोला केही पूर्वतर्फबाट बग्छ । वडा नम्बर १३ को काली मन्दिरमा पुन: खोला धरान विराटनगर सडकमै ठोकिन आइपुग्छ । त्यसपछि खोला सडकको पूर्वी किनारै किनार दुहवी नगरपालिका- ९ को सोनापुर चोकसम्म बहन्छ ।
धरान-विराटनगर सडकको ट्र्याक खुलेपछि इटहरी अस्तित्वमा आयो । इतिहासमा इटहरी नामक पुस्तकका अनुसार अहिलेको चौरस्ता गोलचोक आसपासमा केही छाप्राहरू निर्माण भएपछि इटहरीले चौकको रूप लिन थाल्यो ।
ट्र्याक खुल्नुअघि इटहरीको हालको वडा नम्बर ८ गैसारमा बस्ती थियो । वडा नम्बर ४ चौधरी टोलमा पनि मानिस बस्थे । पूर्व-पश्चिम सडक (महेन्द्र राजमार्ग) बनेसँगै इटहरीले बजारको आकार लियो । त्यसपछि ट्यांग्राको पाता कस्न थालियो । कहिले पूर्व त कहिले पश्चिम भएर बग्ने खोलालाई छेकेर स्थानीयले ट्यांग्रालाई खोल्सीमा बगाउन थाले ।
हिउँदमा छिपछिपे पानी बग्ने ट्यांग्रा मुसलधारे पानी परेपछि उर्लेर आउँछ । मानव निर्मित संरचना भत्काएर इटहरी डुबाउँछ । योजनाविना नै सडक विस्तार हुँदा सानो खोलाले पनि बगाउँछ भन्ने ट्यांग्राले सालिन्दा प्रमाणित गरिदिन्छ ।
इटहरी-९ का वडाध्यक्ष जितेन थापा आन्तरिक राजश्व कार्यालय जाने कल्भर्ट ट्यांग्राले ३ पटक भत्काइसकेको बताउँछन् । पश्चिम पट्टी रहेको ६ लेन सडक माथिसम्म पानी ओभर फ्लो भएपछि पटक-पटक कल्भर्ट पनि बग्छ । सालिन्दा कल्भर्ट बगाएपछि यो साल पुल बनेको छैन । मानिसहरू अहिले त्यहाँ बाँसको पुल बनाएर आवत-जावत गरिरहेका छन् ।
वडा नम्बर १० मा रहेको यातायात व्यवस्था कार्यालय कोशीतर्फ जाने पुल ट्यांग्राले २ पटक बगाइसकेको छ । निजी कम्पनी र व्यक्तिले पनि आफ्ना घर पसलमा जान आफ्नै खर्चमा ट्यांग्रामा कल्भर्ट हालेका छन् । तर, पश्चिमपट्टी रहेको ६ लेन सडकको बलियो संरचना काट्न नसक्दा खोलाले कल्भर्ट भत्काउने गरेको छ ।
इटहरी उपमहानगरपालिकाका अनुसार ६ लेन सडक खोलाले ४ किलोमिटर क्षेत्रमा रहेका १० वटा भन्दा बढी कल्भर्ट र पुल भत्काएको छ । बाँकी डेढ किलोमिटर सडक भने दुहबी नगरपालिकामा खोलासँगै बनेको छ । पुल र कल्भर्ट भत्काउँदा पटक पटक उपमहानगरले बनाउनु परेको छ ।
सडकसँग बग्ने खोलाले पुल र कल्भर्ट मात्रै भत्काएको छैन ६ लेन सडक पनि ठाउँठाउँमा कटान गरेको छ । इटहरी १३ रिलायन्स स्पिनिंगस मिलअगाडि र वडा नम्बर १३ को प्रगति टेक्सटायल अगाडि सामान्य पानी पर्ने बित्तिकै खोला सडकमै बग्छ । ठुलो पानी परेका बेला सडक नै खोलाले अवरुद्ध बनाउँछ ।
स्थानीय तथा इटहरी वडा नम्बर १२ का पूर्ववडाध्यक्ष हेमानन्द दाहाल ६ लेन आयोजनाले खोलासँग जोडेर सडक निर्माण गरेसँगै कल्भर्ट र पुल भत्काउने र बगाउने क्रम सुरू भएको बताउँछन् ।
आयोजना प्रमुख साह भने आयोजनाका कारण नभई उपमहानगरका कारण सडकमा क्षति पुगेको बताउँछन् । वर्षायाममा उपमहानगरले खोला गहिरो बनाउन जथाभावी खन्दा सडकमा क्षति पुगेको उनको जिकिर छ । खोलाले कटान गर्दा आयोजनाले यो वर्षमात्रै तार जालीका लागि ७५ लाख रूपैयाँ खर्च गरेको साहले सुनाए ।
उनले भने, ‘बाढी नियन्त्रणका लागि उप महानगरले जथाभावी खोला गहिरो बनाएको छ । हामीले भन्दा पनि उहाँहरूले मान्नु हुन्न । यसले सडकमा क्षति पुगेको छ । ट्यांग्राको क्याचमेन्ट एरिया ठूलो छ । खोलामा जोडेर स्ट्रक्चर बनाइएको छ । सुरूमा खोला स्टेबल थियो । जब उपमहानगरले आफूखुसी खन्दै खनेर निकालेको माटो समेत सडकमा थुपार्यो त्यसपछि सडकमा क्षति पुग्यो ।’