माघी मनाउन कांग्रेस दाङको कार्यालयमा संस्थापन इतरले लगाएको ताला देउवा समूहले फोड्यो
दाङ । नेपाली काग्रेसको भ्रातृ संगठन किसान महासंघ दाङले आज घोराहीस्थित कांग्रेस पार्टी कार्यालयमा गरेको माघी मिलन कार्यक्रम संस्थापन इतर समूहले बहिष्कार गरेको छ ।
किसान महासंघले गर्ने कार्यक्रम रोक्नका निमित्त बिहीवार ११ बजेसम्म पनि पार्टी कार्यालय नखुलेपछि कार्यालयको तालासमेत पार्टी सभापति शेरबहादुर देउवा संस्थापन समूहले फोडेको छ ।
ताला फोडेर कांग्रेस दाङको पार्टी कार्यालयमा जारी कार्यक्रम कांग्रेस नेता, कार्यकर्ताको उलेख्य सहभागिता रहेको छ । काग्रेस केन्द्रीय सदस्य तथा पूर्वसांसद गेहेन्द्र गिरी, कांग्रेस प्रदेश उपसभापति राजु खनाल, पूर्वसभापति विरकेश्वरी गौतम, कांग्रेस नेता कमल किशोर घिमीरेको उपस्थितीमा किसान महासंघ दाङका अध्यक्ष चन्द्रप्रशाद चौधरी नेतृत्वको कार्य समितिले पार्टी कार्यालयमा लागेको ताला फोडेर माघी मिलन कार्यक्रम गरीएको हो ।
जिल्ला अध्यक्ष चौधरीलाई कांगे्रसको केन्द्रीय कार्य समितिले नियुक्त गरी पठाएपनि जिल्ला सभापति शंकरप्रसाद डाँगीले निर्णय अस्वीकार गर्दै पार्टीका कार्यक्रममा आसन ग्रहण गराउनेक्रममा विभेद गर्दै आएका छन् ।
यसअघि कांग्रेसको १ सय दिने अभियानका क्रममा पनि पार्टी कार्यालय घोराहीमा आयोजित जिल्ला भेला समापन कार्यक्रममा तरुण दल दाङका अध्यक्ष टिका घर्ति र किसान संघ दाङका अध्यक्ष चौधरीलाई आसन ग्रहण गराउनेक्रममा विभेद गरेपछि कांग्रेस केन्द्रीय सदस्य प्रकाश स्नेहीकै उपस्थितिमा क्षेत्रीय सभापति भेषराज पाण्डे, जिल्ला सभापतिका उम्मेद्वार जानकीलाल बस्नेतले जिल्ला सभापति डाँगीको कार्यशैलीको चर्को विरोध गरेका थिए ।
त्यो दिन कार्यक्रमसमेत प्रभावित भएको थियो । माघि मिलन कार्यक्रममा संस्थापन समूहका सबैजसो नेताहरुको सहभागिता रहेपनि संस्थापन इतर समूहका कुनै पनि नेता, कार्यकर्ताको कार्यक्रममा सहभागिता देखिदैन ।
माघी मिलन कार्यक्रम जिल्ला सभापति डाँगी, उपाध्यक्ष गिरीराज सुवेदि, जिल्ला सचिवहरु वालिका लम्साल, अर्जुन योगी, कोषाध्यक्ष प्रकाश सुवेदी लगायतका नेताहरुले उपस्थित नै भएनन् । संस्थापन समूहबाट भने कांग्रेसका क्षेत्रीय सभापतिहरु भिमप्रकाश खड्का, भेषराज पाण्डे, कांग्रेस २ क का सभापति प्रकाश श्रेष्ठ लगायतका नेताहरुको सहभागिता रहेको थियो ।