बुढानीलकण्ठमा मन्त्रीहरुलाई पाँच घण्टा राखेर देउवाको सन्देश- सरकारको विकल्प खोज्न लाग्दैनौं – Nepal Press

बुढानीलकण्ठमा मन्त्रीहरुलाई पाँच घण्टा राखेर देउवाको सन्देश- सरकारको विकल्प खोज्न लाग्दैनौं

एमालेसँगको सहकार्यबारे मन्त्री चौधरी- सोचेअनुसार काम नभएको कुरा साथीहरुले गर्नुभएको छ

काठमाडौं । एमालेसँग सत्ता सहकार्य सुरु भएको ६ महिनापछि कांग्रेस सभापति शेरबहादुर देउवाले आज पार्टीबाट सरकारका गएका मन्त्रीहरुलाई निवासमै बोलाएर पाँच घण्टा लामो कुराकानी गरे । एमाले र कांग्रेसबीच खटपटको चर्चा भइरहँदा देउवाले मन्त्रीहरुसँग अहिलेसम्मको कार्यप्रगतिबारे समीक्षा गरेका हुन् ।

बैठकमा कांग्रेसका शीर्ष नेतासहित सरकारमा सहभागी १० मन्त्री र दुई राज्यमन्त्री सहभागी थिए । ओली सरकारले अपेक्षा अनुसारको काम गर्न नसकेको भन्दै पार्टीभित्रबाटै असन्तुष्टि व्यक्त हुन थालेपछि देउवाले सरकारमा सहभागी मन्त्रीहरुको राय बुझ्न खाजेका थिए ।

सरकारले एकैपटक पाँच अध्यादेश ल्याएपश्चात केही नेताहरुले विरोध जनाइरहेका छन् ।

संसद् छलेर सरकारले अध्यादेशबाट शासन गर्न खोजेको भन्दै कांग्रेस नेता डा. शेखर कोइरालादेखि संस्थापन पक्षका नेता एनपी साउदसम्म चर्को आलोचनमा उत्रिएका छन् । प्रधानमन्त्री ओलीले ०८७ मा मात्रै संविधान संशोधन हुने भनेर दिएको अभिव्यक्तिमा पनि कतिपय नेता सशंकित छन् ।

देउवा निकट मानिँदै आएका नेता साउदले प्रधानमन्त्रीको यो अभिव्यक्तिले गठबन्धनको पिल्लर हलिएको समेत अभिव्यक्ति दिए । ओली सरकारविरुद्ध कांग्रेसभित्र असन्तुष्टि बढेको महसुस गरेर प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि मोर्चाबन्दीको प्रयास गरेका छन् । उनले समाजवादी मोर्चादेखि संसदमा भएका विपक्षी दलहरुको बैठक राखेर सरकारमाथि दबाब बढाउँदै लगेका छन् ।

विपक्षी दलको तर्फबाट सरकारको पछिल्ला कदमका विरुद्ध भोलि पत्रकार सम्मेलन राखेर जानकारी गराउने प्रचण्डको तयारी छ । अहिलेसम्म विपक्षी मोर्चामा ६ दलले साथ दिएका छन् ।

सरकारविरुद्ध दबाब बढाउँदै लगेका प्रचण्डले सिन्धुपाल्चोकको सुकुटेमा यो सरकार लामो नजाने दाबी गरे ।

प्रचण्डले भनेका थिए, ‘यो अप्राकृतिक भनेपछि यो सरकार रहिराखोस् भन्ने हाम्रो चाहना त हुँदै होइन । तर, हामी अप्राकृतिक भएकाले ढल्नु नै छ, ढलिहाल्छ । हामीले धेरै बल गर्नै पर्दैन, यसको आयु धेरै छ जस्तो लाग्दैन, मैले मिति नै तोक्न सक्ने र मिल्ने कुरा होइन । घटनाक्रम तपाईंहरूले देखिराख्नुभएको छ । कांग्रेसकै संस्थापनमै पक्षका नेताहरूको असन्तुष्टिले यो सरकार सहज ढंगले अगाडि जाने देखिएको त छैन ।’

उनले सरकारको कदमलाई गम्भीर रुपले हेरेको भन्दै सरकार आफैंले पनि आयु छोट्याइरहेको टिप्पणी गरे ।

प्रचण्ड पछिल्लो समय सरकारबाट बाहिरिएपछि एमालेसँग गरम भएपनि कांग्रेससँग नरम नै सुनिँदै आएका छन् । प्रचण्डले कांग्रेस सभापति देउवालाई मनाएर पुरानै गठबन्धन ब्यूँताउनेसम्मको रणनीति अख्तियार गरेको बताइन्छ । यद्यपि, उनी अहिले सरकार गिराउन खेलमा नरहेको तर्क गर्दै आइरहेका छन् ।

दुई दलबीच अविश्वास बढिरहेको चर्चा चलिरहेको बेलामा देउवाले कार्यसमिति सदस्य र मन्त्रीहरूको संयुक्त बैठक राखेर अहिले आफू यो गठबन्धनप्रति सन्तुष्ट रहेको सन्देश दिए ।

त्यसो त ओलीले पनि देउवालाई विश्वासमा लिइराख्नको लागि सहमति अनुसार सरकारको नेतृत्व देउवालाई हस्तारन्तरण गर्ने दोहोर्याउँदै आइरहेका छन् ।

मन्त्रीहरुसँग छलफल गरेपछि कांग्रेसले एमालेसँग भएको सात बुँदे सहमतिअनुसार अघि बढ्नुपर्ने निष्कर्ष निकालेको छ ।

बैठकपछि गृहमन्त्री रमेश लेखकले भने, ‘छलफल हामी दुई दलले मिलेर सरकार बनेको छ । सरकारमा कुनै समस्या छैन । सरकारमा कुनै बाधा व्यवधान अप्ठ्याराहरू छैनन् । आआफ्नो मन्त्रालयमा थप राम्रो काम कसरी गर्ने भन्नेबारे छलफल भएको छ ।’

बैठकमा ब्रिफिङ गर्दै देउवाले पनि एमालेसँग कुनै समस्या नभएको प्रष्टीकरण दिए । उनले आफू तत्काल यो गठबन्धनको विकल्पमा जान पक्षमा नरहेको पनि प्रष्ट सन्देश दिए ।

देउवाको भनाई उद्धृत गर्दै गृहमन्त्री रमेश लेखकले भने, ‘एमाले र कांग्रेसको सहमतिमा अघि बढ्ने हो । मुलुकमा सुशासन र आर्थिक समृद्धि गर्ने हो यसमा केन्द्रित भएर काम गर्नुस् । हामी दुई दलबीचमा कुनै समस्या छैन ।’

बैठकपछि कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले पनि मन्त्रीहरूले काम गर्न गरेको प्रयासप्रति पार्टी सन्तुष्ट रहेको बताए । उनले यो गठबन्धन सहमतिअनुसार पूरा कार्यकाल चल्ने दाबी गरे ।

उनले भने, ‘सरकारले कांग्रेसकै सहमतिमा अध्यादेश ल्याएको हो। त्यसमा हाम्रो कुनै असन्तुष्टि छैन। केही नेताहरूले राखेको विचार व्यक्तिगत हो। पार्टीको आधिकारिक धारणा होइन।’

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पनि बैठकमा सरकारलाई प्रभावकारी ढंगले सञ्चालन गर्नुपर्ने बिषयमा केन्द्रित रहेको बताए ।

एमालेसँग भएको सहकार्यमा अफ्ठ्यारो भएकोप्रति उनले भने, ‘काम गर्न सिधैं अफ्ठ्यारो भएजस्तो त लागेको छैन ।

तर, कति कुराहरु सोचे अनुसार फास्ट हुनुपर्ने, सोचेअनुसार अगाडि बढ्नुपर्ने, त्यो कुरा कुनै न कुराबाट कहीँ न कहीँबाट अप्ठ्यारा महसुस हाम्रा साथीहरुले गर्नुभएको छ । हाम्रा नेताहरुले मिलेर समस्या समाधान गरेर अघि बढ्नुहुन्छ ।’

बैठकमा मन्त्रीहरुले केही काममा प्रधानमन्त्रीले हस्तक्षेप हस्तक्षेप गर्ने गरेको पनि गुनासो गरेका थिए ।

कांग्रेसले मन्त्रीहरुलाई दिएको ७ निर्देशन

१. सरकारलाई प्रभावकारी र सफल बनाउन सक्रिय ढंगले कार्य गर्न महत्वपूर्ण बिषयहरुमा नियमित छलफल गर्न

२. संसदका विषयगत समितिहरुमा विचाराधिन विधेयकहरुलाई टुंगोमा पु¥याउन सक्रियता साथ कार्य गर्न (समितिका सभापतिसहितका सबै सांसदहरुलाई)

३. नेपाली कांग्रेसका मन्त्रीहरुलाई आ–आफ्नो मन्त्रालयको कार्यक्षेत्रमा रहेका विगतदेखिका भौतिक परियोजना र अन्य कार्यक्रम समयमा सम्पन्न गर्न

४. चालु आर्थिक बर्षको बजेट तथा बार्षिक विकास कार्यक्रममा समावेश भएका तर स्रोत सुनिश्चितताको पर्खाइमा रहेका, टेन्डर हुन नसकेका, निर्माण शुरु भएका तर अपेक्षित गतिमा काम नभइरहेका विकास योजनाहरु निर्धारित समयमा सम्पन्न गर्न गराउन आवश्यक पहलकदमी लिन

५. नेपाली कांग्रेसका मन्त्रीहरुलाई हप्तामा २ निश्चित दिन खुल्ला भेटघाट गर्ने, नागरिकको गुनासो सुन्ने, सुझाव लिने र बाँकी ५ दिन सम्पूर्णरुपले आ–आफ्नो मन्त्रालयको काममा केन्द्रित हुन

६. सांसदहरुको सल्लाह, सुझाव र जनताका अपेक्षालाई विशेष ध्यानमा राखी कामकारवाही अगाडि बढाउनका लागि संसदीय दल कार्यसमिति र मन्त्रीहरुले सांसदहरुसँग समन्वय गर्न

७. पार्टीको प्रदेश समिति, जिल्ला, क्षेत्र एवं स्थानीय तहहरु मार्फत पार्टी केन्द्रीय कार्यालयमा आउने गरेका नागरिकका सुझाव र मागहरूका सम्बन्धमा महिनामा १ पटक पार्टी केन्द्रीय कार्यालयमा फरक दिनमा फरक मन्त्री उपस्थित भएर छलफल गर्ने र उपयुक्त सुझावहरु कार्यान्वयन गर्न ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *